काठमाडौं । महिलाको सुरक्षित र सहज सार्वजनिक यातायात सुनिश्चित गर्ने उद्देश्यसहित सरकारले काठमाडौं उपत्यकामा ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ।
सरकारको शासकीय सुधारसम्बन्धी १०० दिने कार्ययोजनाअन्तर्गत पहिलो चरणमा आगामी साउन १ गतेदेखि आठवटा ब्लु बस सञ्चालनमा ल्याउने तयारी गरिएको हो।
सरकारको योजना अनुसार यो सेवा काठमाडौं उपत्यकाबाट सुरु भए पनि क्रमशः सातै प्रदेशमा विस्तार गरिनेछ। पहिलो १०० दिनभित्र देशभर २५ वटा ब्लु बस सञ्चालन गर्ने लक्ष्य राखिएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार बस सञ्चालनको सम्पूर्ण तयारी भइरहेको छ भने आवश्यक प्रशासनिक प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ।
मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलका अनुसार सेवा सञ्चालनका लागि साझा यातायातले आवश्यक राय–सुझाव र सहमतिका लागि अर्थ मन्त्रालयमा पत्राचार गरिसकेको छ। अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त हुनेबित्तिकै साउन १ गतेदेखि बस सञ्चालनमा ल्याइने तयारी छ।
प्रारम्भिक चरणमा लगनखेल–बुढानीलकण्ठ रुटमा दुई वटा बस सञ्चालन गरिनेछ। त्यस्तै थानकोट–नागढुङ्गा हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको रुटमा थप दुई वटा बस चलाइनेछ।

यसबाहेक चक्रपथ क्षेत्रमा चार वटा बस सञ्चालन हुनेछन्। तीमध्ये दुई वटा घडीको दिशामा ९क्लकवाइज० र दुई वटा विपरीत दिशामा (एन्टिक्लकवाइज) सञ्चालन गरिने योजना बनाइएको छ।
सरकारले यो सेवा विशेषगरी महिलाको सुरक्षित आवागमनलाई प्राथमिकता दिएर सञ्चालन गर्न लागेको जनाएको छ। महिलाले निःशुल्क रूपमा यात्रा गर्न पाउने व्यवस्था गरिने भएकाले दैनिक कार्यालय, विद्यालय तथा अन्य गन्तव्यमा आवतजावत गर्ने महिलालाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।
‘ब्लु बस’ को अवधारणा भने नयाँ होइन। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनताका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनमा महिलाका लागि ब्लु बस सञ्चालन गर्ने घोषणा गरेका थिए।
त्यसपछि रास्वपा पहिलो पटक सरकारमा सहभागी हुँदा चितवनमा ब्लु बस सेवा सुरु पनि गरिएको थियो। तर पर्याप्त बस संख्या, स्पष्ट सञ्चालन मोडालिटी र प्रभावकारी व्यवस्थापनको अभावका कारण उक्त सेवा अपेक्षाअनुसार सफल हुन सकेन।
यसपटक भने रास्वपाको नेतृत्वमा सरकार गठन भएपछि सोही अवधारणालाई पुनः प्राथमिकतामा राख्दै काठमाडौं उपत्यकाबाट सेवा विस्तार गर्न लागिएको हो।
सरकारले व्यवस्थित सञ्चालन, पर्याप्त रुट व्यवस्थापन र दीर्घकालीन योजनासहित ब्लु बस सेवालाई प्रभावकारी बनाउने दाबी गरेको छ।
यदि योजना अनुसार सेवा सञ्चालन हुन सकेमा महिलाको सुरक्षित सार्वजनिक यातायातमा नयाँ विकल्प थपिने मात्र होइन, विगतमा प्रभावकारी बन्न नसकेको ब्लु बस अवधारणाले पनि नयाँ जीवन पाउने अपेक्षा गरिएको छ।