काठमाडौं । धितोपत्र बोर्डको नेतृत्वले भारतीय पुँजी बजारको नियामक निकाय सेक्युरिटि एक्सचेञ्ज बोर्ड अफ इण्डिया (सेबी) भ्रमण गरेको छ ।
उक्त भ्रमणले नेपालको धितोपत्र बजारमा आधुनिक सूचना प्रविधिको विकास तथा विस्तार भई बजारको उचित विकास र सन्तुलनमा सघाउ पुग्ने अपेक्षा गरिएको बोर्डको भनाइ छ ।
बोर्डका अध्यक्ष रमेश कुमार हमाल, का.मु. कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, उप कार्यकारी निर्देशक कृष्णराज पोखरेल र का.मु. उप कार्यकारी निर्देशक नारायण प्रसाद शर्मासहितको टोलीले भारतीय पुँजी बजारको अध्ययन भ्रमण गरेको हो ।
भ्रमणका क्रममा बोर्डका पदाधिकारीले सेबी, बम्बई स्टक एक्सचेञ्ज (बिएसइ), नेशनल इन्स्टिच्युट अफ सेक्युरिटि मार्केटस (एन.आइ.एस.एम) र मल्टी कमोडिटि एक्सचेज अफ इण्डिया (एम.सि.एक्स) का उच्च पदाधिकारीसँग भेटघाट भएको बताइएको छ ।
भारतीय धितोपत्र बजारको नियमन निकाय सेबीका अध्यक्ष माधवी पुरी बुच तथा बोर्ड अध्यक्ष हमालबीच द्धिपक्षीय सहयोग आदान प्रदान सम्बन्धमा छलफल भएको छ । दुई अध्यक्षले आगामी दिनमा यी निकायहरुबीच दीर्घकालिन रुपमा सहकारी गर्ने, समन्वयगरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
नेपालको पुँजी बजार विकासको लागि भारतीय पुँजी बजारको राम्रो अभ्यास तथा संस्थागत क्षमता अभिवृद्धि, बजार नियमन तथा सुपरिवेक्षणमा स्वचालित अनलाईन सुपरिवेक्षण प्रणाली, नियामकीय सूचना प्रविधि व्यवस्था र वित्तीय साक्षरता अभिवृद्धिका लागि गरिनुपर्ने कार्य सम्बन्धमा आपसी सहयोग गर्ने सम्बन्धमा छलफल भएको छ ।
बोर्ड अध्यक्षसहितको टोलीले बि।एस।इ।का प्रमुख कार्यकारी अधिकृत आशिष कुमार चौहानसहितको उच्च पदाधिकारीहरुसँग छलफल गरेको छ । त्यस क्रममा उक्त एक्सचेञ्जले प्रयोग गरिरहेको कारोबार प्रणाली, सुपरिवेक्षणका लागि गरेको व्यवस्था र साईबर जोखिम कम गर्नका लागि गरेको व्यवस्था सम्बन्धमा जानकारी दिएका छन् । यस्तै त्यहाँको प्रणालीको अवलोकन गरिएको छ ।
त्यस क्रममा बि.एस.इ का प्रमुखले नेपालको धितोपत्र बजार विकासका लागि सहयोग गर्न तत्पर रहेको बताए। वित्तीय साक्षरता अभिवृृद्धिका लागि सेबीको अग्रसरतामा स्थापित एन.आइ.एस.एम को भ्रमण गरिएकोमा उक्त संस्थाको स्थापना, संरचना, संचालनमा रहेको स्कुलसम्बन्धी जानकारी लिइएको छ ।
आगामी दिनमा प्रभावकारी रुपमा वित्तीय साक्षरता अभिवृद्धिका लागि सेबोनद्वारा नेपालमा स्थापना गरिने पुँजी बजार प्रशिक्षण इन्स्टिच्युटको संचालनमा ल्याउन समन्वय तथा सहकार्य गर्ने छलफल भएको छ ।
यस भ्रमणले भारतीय बजारको नियमन व्यवस्था, कानुनी व्यवस्था, नियामकीय प्रविधिको विकास साथै नियमन निकायले बजारको विश्वसनीयता अभिबृद्धि गर्नका लागि खेल्नु पर्ने भूमिका र बजारको अनुगमन तथा सुपरिबेक्षण के कसरी गर्नु पर्दछ भन्ने विषयमा जानकारी प्राप्त भएको छ ।
अध्ययन भ्रमणका क्रममा नियामक फ्रेमवर्क, नियामक प्रणालीको डिजिटलाइजेशन, एआई आधारित निगरानी प्रणाली, लगानीकर्ता गुनासो संयन्त्र, व्यापार प्रणाली एवं वित्तीय साक्षरता का सम्बन्धमा अन्तरक्रियात्मक छलफल समेत भएको थियो ।
FACEBOOK COMMENTS