काठमाडौं । बलिउड अभिनेता सनी देओलले आफ्नो आगामी एक्सन फिल्म ‘बोर्डर–२’ को छायांकन सम्पन्न गरेका छन्।
सनी देओलले सामाजिक सञ्जालमार्फत भारतीय आर्मी पोशाकमा आफ्नो तस्बिर सेयर गर्दै फिल्ममा आफ्नो भूमिकाको सुटिङ पूरा भएको जानकारी दिएका हुन् ।
उनले पोस्टमा लेखेका छन्, ‘मिशन पूरा भयो! फौजी, साइन आउट! बोर्डर–२ बाट मेरो छायांकन पूरा भयो। जय हिन्द।’
फिल्ममा सनी देओलसँगै बलिउडका लोकप्रिय अभिनेता वरुण धवन र अहान शेट्टी पनि मुख्य भूमिकामा देखिनेछन्। दुबै कलाकारले हालै पुणेमा आफ्नो छायांकन सकेका छन् ।
फिल्ममा दिलजीत दोसांझको पनि महत्वपूर्ण भूमिका रहेको छ भने निर्देशन अनुराग सिंहले गरिरहेका छन्।

‘बोर्डर–२’ लाई गुलशन कुमार र टी–सिरीजले जे.पी. दत्ताको जे.पी. फिल्म्ससँग सहकार्यमा प्रस्तुत गर्दै छन्। निर्माण टोलीका अनुसार फिल्म आगामी जनवरी २३, २०२६ मा विश्वभरका थिएटरमा रिलिज हुनेछ।

यसअघि ‘बोर्डर’ फिल्म सन् १९९७ मा रिलिज भएको थियो। २८ वर्षपछि यसको सिक्वेल निर्माण हुन लागेको हो। मूल फिल्म जस्तै ‘बोर्डर–२’ पनि देशभक्तिपूर्ण कथा र सैनिकहरूको साहसलाई केन्द्रमा राखेर तयार पारिएको छ।