हरेक दिन बिहानको चियानास्तादेखि दिउँसोको खाजा अनि साँझको खानासम्म, बेलाबखत आफ्नो घर आउने परपाहुनाको सत्कार तथा साथीसङ्गातीसँगको जमघटमा केही मीठो पकाएर खाने/खुवाउने र रम्ने बहानासम्म भान्साको प्रयोग भइरहेको हुन्छ ।
भान्सा निजी घरहरूमा मात्र सीमित छैन, पसल र कार्यालयहरूमा पनि यसको प्रयोग छ । बाँच्नका लागि खानुपर्छ र खानका लागि दैनिक केही न केही पकाउनुपर्छ । यसका लागि भान्साको प्रयोग त गर्नै पर्यो । यसरी हेर्दा भान्साले हाम्रो प्राण बचाइरहेको रहेछ भन्ने बुझिन्छ । तर, कुरा यतिमै सीमित रहँदैन । एकातिर प्राण बचाइरहेको हाम्रो भान्साले अर्कातिर प्राण लिइरहेको पनि छ । यसको सिधा दोष सिङ्गो भान्सालाई नै दिन भने मिल्दैन । भान्सामा खाना पकाउने प्रयोजनका लागि प्रयोग हुने सिलिन्डरमा भरिएको एलपी अर्थात् लिक्विफाइड पेट्रोलियम ग्यासका कारण यस्तो हुने गरेको हो ।
विशेषगरी एलपी ग्यासको प्रयोग शहर तथा बजार क्षेत्रमा धेरै हुने गरेको छ । अहिलेको समय अत्यन्त व्यस्त समय हो । सानातिना कुरामा झन्झट लिएर समय खर्च गर्नुभन्दा बरू आफ्नो ल्याकत भ्याउने पैसा खर्च गरेर समयको बचत हुने सरल उपाय जोकोहीले खोज्छन् । त्यसैले उपलब्ध भएसम्म दूरदराजसम्मै पनि एलपी ग्यासको प्रयोग भइरहेको छ । दाउराको जोहो गर्नुपर्ने झन्झटबाट मुक्ति, प्रयोग गर्न सरल र सहज, समयको पनि बचत हुने हुनाले प्रायः भान्साहरूको रोजाइ एलपी ग्यास भएको हो । नेपालका मुख्य शहर तथा बजार क्षेत्रमा दाउराको उपलब्धता ‘छैन’ नै भन्दा पनि फरक पर्दैन । त्यसैले एलपी ग्यास यस्ता क्षेत्रको रोजाइ मात्र नभएर बाध्यता पनि हो ।
दुःखद विषय यो हो कि बेलाबखत एलपी ग्यास सिलिन्डर पड्किने तथा ग्यास चुहावट भएर आगो लाग्ने घटनाहरू हुन्छन्, जसले ठूलाे मानवीय, भौतिक र आर्थिक क्षति गरिरहेका छन् । हालसालै पनि यस्ता घटनाहरू भए । गत माघ २४ गते बिहान सङ्घीय राजधानी काठमाडौँको कमलपोखरीस्थित सानदार मःमः पसलमा ग्यास सिलिन्डर विस्फोट भयो । उक्त विस्फोटमा परेर घाइते भएका ११ जनामध्ये चार जनाको त मृत्यु नै भइसक्यो । यो घटनापछि नियमित सञ्चालनमा रहेको चल्तीको उक्त मःमः पसल हालसम्म बन्द अवस्थामा छ । यो भयो जनसँगै धनको क्षति गरेको घटना ।
त्यस्तै, यही फागुन १८ गते दिउँसो सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको कार्यालयमा ग्यास सिलिन्डर विस्फोटसहित आगलागी हुँदा गाउँपालिकाले भाडामा लिएर कामकाज सञ्चालन गर्दै आएको भवन खरानी भयो । गाउँपालिकाको वडा नं. ३, काफ्लेचौरस्थित स्थानीय रूद्रबहादुर खत्रीको ढुङ्गा-माटोले बनेको टिनको छानो भएको सो घरमा गाउँपालिकाको प्रधानमन्त्री रोजगार शाखा, पूर्वाधार विकास शाखा र स्टोर रूम थिए । विद्युत सर्ट भई सल्किएको आगोले उक्त घरको एक कोठामा रहेको ग्यास सिलिन्डरसमेत पड्किँदा आगोले थप उग्ररूप लिएर सिङ्गो घर पूर्ण रूपमा जलेको हो । यो घटनामा मानवीय क्षति भएन तर गाउँपालिकाको सरकारी दस्तावेज पनि जलेर नष्ट भए ।
उता, यही फागुन ४ गते साँझ प्रसिद्ध त्रिधार्मिक स्थल हलेसी रहेको खोटाङको हलेसी बजारमा एलपी ग्यास चुहावट भएर भीषण आगलागी भयो । यस घटनामा पनि मानवीय क्षति नहुनु सुखद पक्ष हो तर चारवटा घर, तीनवटा होटेल, एउटा हार्डवेयर पसल र एउटा लघुवित्तको कार्यालय जलेर नष्ट भए । एक स्थानीयको घरबाट एलपी ग्यास चुहावट भएर सुरू भएको आगलागीले यो क्षति गरेको हो । प्रहरीका अनुसार यस घटनामा सात करोड ३० लाख रूपैयाँ बराबरको क्षति भएको छ । त्यसै त हलेसी सुक्खाग्रस्त क्षेत्र हुनाले पानीको अभाव, त्यसमाथि दमकल पनि नहुँदा लागेको उक्त भीषण आगो निभाउन निकै सकस परेको थियो ।
यी त केवल हालसालैका प्रतिनिधि घटना मात्र हुन् । बर्सेनि यस्ता थुप्रै घटनाहरू घटिरहेका छन् । नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७६/७७ यता पाँच वर्षको अवधिमा ग्यास चुहवाट तथा सिलिन्डर विस्फोटसँग सम्बन्धित दुर्घटनामा परी ४८ जनाको मृत्यु भएको छ भने ८७ जना घाइते भएका छन् । चालु आर्थिक वर्ष २०८१/८२ यता मात्र नेपालमा ग्यास चुहावट तथा सिलिन्डर विस्फोटका १३ वटा घटनामा आठ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । गत साउनदेखि हालसम्म भएका यस्ता घटनामा परी काठमाडौँमा चार, रौतहटमा दुई र पर्वतमा दुई जनाले ज्यान गुमाएका हुन् ।
तर, यतिका घटना भइरहँदा पनि यस्तो किन भइरहेको छ र यस्ता घटना हुनबाट कसरी जोगिन सकिन्छ भन्नेबारे उति चासो र चिन्ता व्यक्त भएको देखिँदैन । न त यसको न्यूनीकरणका लागि उल्लेख गर्न लायक कुनै प्रयास नै भएका छन् ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन मूलतः उपभोक्तामा ग्यास सिलिन्डर प्रयोगसम्बन्धी सचेतनाको कमी, ग्यास उद्योग तथा व्यवसायीको लापरबाही र नियमनकारी निकायले गर्ने कारबाहीको प्रक्रिया फितलो हुनु आदि कारणले यस्ता घटनाहरू भइरहेको बताउँछन् । प्रयोग गर्न नमिल्ने भइसकेका वर्षौँ पुराना ग्यास सिलिन्डरसमेत रङरोगन गरी नयाँजस्तो बनाएर बजारीकरण हुने गरेको आफूहरूको अनुगमनमा पाइएको उनले बताए । यो अवस्थालाई उनी उपभोक्ताको घरमा ‘ग्यास सिलिन्डर नभई बम’ भित्र्याएसरहको ठान्छन् ।
उनी भन्छन्, ‘कतिपय ग्यास उद्योगहरू बीसौं वर्ष पुराना, खिइसकेका र मक्किइसकेका ग्यास सिलिन्डरलाई समेत रङरोगन गरी नयाँजस्तो बनाएर बजारीकरण गर्छन् । यसले गर्दा हाम्रा घरहरूमा जुनसुकै बेला पड्किन सक्ने बम भित्र्याए बराबर छ ।’
हेर्नुहाेस् भिडिओ-
FACEBOOK COMMENTS