काठमाडौं, ६ भदौ । यो वर्ष वाणिज्य बैंकका कर्मचारीले पाउने बोनस २० प्रतिशतले वृद्धि भएको छ ।
२७ वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्षकोे नाफाबाट कर्मचारीका लागि १० अर्ब १० करोड ७३ लाख रुपैयाँ कर्मचारी बोनसका लागि छुट्याएका छन् । अघिल्लो आर्थिक वर्षको नाफाबाट वाणिज्य बैंकहरुले कर्मचारीलाई आर्जित नाफाबाट ८ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ बोनस वितरण गरेका थिए ।
सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुमध्ये अघिल्लो आर्थिक वर्षको तुलनामा २१ वटा बैंकको गत आर्थिक वर्षमा कर्मचारीलाई वितरण गर्ने बोनसमा वृद्धि भएको छ । ६ वटा बैंकले भने कर्मचारीलाई छुट्याउने बोनस अघिल्लो आर्थिक वर्षकोे तुलनामा गत आर्थिक वर्षमा घटाएका छन् ।
प्राप्त विवरण अनुसार नेपाल बंगलादेश बैंकले कर्मचारीले पाउने बोनस रकममा ८० दशमलव ५४ प्रतिशत, एनआइसी एशिया बैंकले कर्मचारीले पाउने बोनस रकम ५ दशमलव ७० प्रतिशत, कुमारी बैंकले कर्मचारीले पाउने बोनस रकम ६८ दशमलव ४७ प्रतिशतले वृद्धि गरेको छ ।
त्यस्तै प्रभु बैंकले ५९ दशमलव ८४, एनएमबी बैंकले ५८ दशमलव ४५, नेपाल इन्भेस्टमेन्ट बैंकले ४७ दशमलव ९, मेगा बैंकले ४४ दशमलव ५८, प्राइम बैंकले ४३ दशमलव ७७ र ग्लोबल आइएमइ बैंकले ४० दशमलव ९ प्रतिशतले बोनस बढाएका छन् ।
त्यस्तै सिटिजन बैंक इन्टरनेशनलले ३६ दशमलव ८७ प्रतिशत, सिद्धार्थ बैंकले ३२ दशमलव २१ प्रतिशत, नेपाल बैंकले ३१ दशमलव ९८ प्रतिशत, सानीमा बैंकले २८ दशमलव ३५ प्रतिशत, नविल बैंकले २६ दशमलव २५ प्रतिशत र माछापुच्छ्रे बैंकले २२ दशमलव ७९ प्रतिशतले बोनस बढाएका छन् ।
त्यसैगरी हिमालयन बैंकले १९ दशमलव ८२ प्रतिशत, कृषि विकास बैंकले १९ दशमलव ३२ प्रतिशत, सनराइज बैंकले १५ दशमलव २९ प्रतिशत, नेपाल क्रेडिट एण्ड कमर्स बैंकले ११ दशमलव ८१ प्रतिशत, लक्ष्मी बैंकले ९ दशमलव ०५ प्रतिशत र बैंक अफ काठमाण्डूले ७ दशमलव ६५ प्रतिशतले बोनस बढाएका छन् ।
तर, २७ वटामध्ये तीनवटा बैंकले भने अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको बोनस घटाएका छन् । जानकारी अनुसार सिभिल बैंकले ११ दशमलव ८९ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ११ दशमलव ९ प्रतिशत र सेञ्चुरी बैंकले १४ दशमलव ३५ प्रतिशतले बोनस घटाएका हुन् ।
यी बोनस घटाउने बैंकले कर्मचारीलाई दिने बोनस रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ११ दशमलव ८९ प्रतिशतदेखि ३९ दशमलव ०९ प्रतिशतसम्मले गत आर्थिक वर्षमा घटाएका हुन् ।
गत आवमा आर्जन गरेको नाफाबाट बैंकहरुले कर्मचारीका लागि न्यूनतम ८ करोड ६० लाख रुपैयाँदेखि ७१ करोड ४७ लाख रुपैयाँसम्म बोनसका लागि छुट्याएका छन् । सबैभन्दा बढी नबिल बैंकले ७१ करोड ४७ लाख रुपैयाँ र सबैभन्दा थोरै सेञ्चुरी बैंकले ८ करोड ६० लाख रुपैयाँ छुट्याएको छ ।
FACEBOOK COMMENTS