काठमाडौं । पछिल्लो समय मुलुकको अर्थतन्त्र झन् बिग्रँदै गएको देखिएको छ । शोधनान्तर स्थिति, मुद्रास्फीति, विप्रेषण आप्रवाह, विदेशी मुद्रा सञ्चिति, व्यापारघाटालगायत सूचक हेर्दा अर्थतन्त्रमा झनै संकटतर्फ उन्मुख भएको देखिएको हो ।
चालू आर्थिक वर्षको शुरू अर्थात् साउनदेखि नै अर्थतन्त्रका विभिन्न सूचकमा नकारात्मक संकेत देखापरेका थिए । यसले कात्तिक मसान्तसम्म निरन्तरता पाएको छ । नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विषय कात्तिक मसान्तसम्मको पछिल्लो समय आर्थिक अवस्था अझै बिग्रँदै गएको देखिएको छ ।
प्रतिवेदनअनुसार कात्तिकमा मूल्य वृद्धि ह्वात्तै बढेको छ । गत असोजमा ४ दशमलव २४ प्रतिशत रहेको मूल्य वृद्धि कात्तिकमा १ दशमलव ०८ प्रतिशत विन्दुले बढेर ५ दशमलव ३२ प्रतिशत पुगेको छ । गत आवको कात्तिक महीनामा मूल्य वृद्धि ४ दशमलव ०५ प्रतिशत मात्र थियो ।
चालू आवको समीक्षा महीनामा खाद्य तथा पेय पदार्थ समूहका मूल्य वृद्धि ४ दशमलव ७९ प्रतिशत र गैरखाद्य तथा सेवासमूहको मूल्य वृद्धि ५ दशमलव ७३ प्रतिशत पुगेको छ । समीक्षा अवधिमा शोधनान्तर घाटा पनि १ खर्ब ५० अर्ब ३८ करोड पुगेको छ । असोज मसान्तसम्म शोधनान्तर स्थिति ७६ अर्ब १४ करोडले घाटामा थियो । पछिल्लो १ महीनामा नै यस्तो घाटा दोब्बर भएको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । गत आवको सोही अवधिमा भने शोधनान्तर स्थिति खर्ब १० अर्ब ६५ करोडले नाफामा थियो ।
पछिल्लो समय विदेशी मुद्रा आर्जन व्यापक मात्रामा हुन सकेको छैन । तर, विदेशी मुद्रा जाने माध्यम अर्थात् आयात भने उच्च मात्रामा बढेको छ । विप्रेषण र निर्यातबाट आउने विदेशी मुद्राले आयातलाई थेग्न नसकेको अवस्था छ । फलस्वरूप शोधनान्तर घाटा बढ्न गएको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS