काठमाडौं । गीतकार, साहित्यकार तथा चलचित्र निर्मात्री अनु शाहको चलचित्र ‘उफ यो मन’ अमेरिकाको बोस्टन शहरमा प्रदर्शन हुने भएको छ ।
आगामी मार्च १६ अर्थात् चैत ३ गते त्यहाँस्थित एपल सिनेमा फ्रेशपण्ड क्याम्ब्रिजमा साँझ ६ः०० बजे सो चलचित्र प्रदर्शन हुने भएको हो ।
दार्जिलिङमा छायाङ्कन गरिएको चलचित्र ‘उफ यो मन’ त्रिकोणात्मक प्रेम कथामा आधारित छ । चलचित्रमा नेपालबाहिर बस्ने नेपालीहरूको माया प्रेमको कथा समेटिएको छ ।
चलचित्रलाई पहिलो पटक अमेरिकाबाट प्रदर्शन सुरु गरिएको निर्मात्री शाहले जानकारी दिइन् । ‘हामी यो चलचित्रलाई अमेरिकाबाट प्रदर्शन सुरु गर्नेछौँ । त्यसपछि नेपाललगायत विश्वभर प्रदर्शन गर्ने तयारी गरेका छौँ,’ अनुले भनिन्, ‘बोस्टनपछि अमेरिकाको विभिन्न मुख्य शहरहरूमा चलचित्र प्रदर्शनको तयारी छ ।’
अनुराधा फिल्मस् इन्टरनेशनलको निर्माण रहेको यो चलचित्रलाई निर्देशक सुरज चन्दले निर्देशन गरेका हुन् । चलचित्रमा नायक एसराज गराच, नायक रोहित रुम्बा, यमी दाहाल, समिता गिरी, दीपक क्षेत्री, पुकार गुरुङलगायतका कलाकारको अभिनय छ ।
विगत लामो समयदेखि चलचित्र वितरण गर्दै आएका चलचित्रप्रेमी, वितरक तथा लोकप्रिय डिजे मुकुन्द पोखरेलले बोस्टनमा चलचित्र प्रदर्शनको व्यवस्थापन गरेको बताइएको छ ।
FACEBOOK COMMENTS