सङ्घीय संसद्का दुवै सदनको बैठक आज (बिहीबार) पनि बस्दै छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजे प्रतिनिधिसभा र मध्याह्न १२ बजे राष्ट्रियसभाको बैठक निर्धारण गरिएको छ ।
हिजो (बुधबार) प्रमुख प्रतिपक्षी दलहरूको अवरोधका कारण बैठक स्थगित भएको थियो । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने मागसहित विपक्षी दलहरूले विरोध जनाएका थिए ।
आजको प्रतिनिधिसभा बैठकमा अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूची छ ।
साथै, ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने छ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगको ६५औं वार्षिक प्रतिवेदन (२०८० श्रावण–२०८१ आषाढ) पेस गर्ने कार्यक्रम छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने छन् ।
यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१’८८लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव राख्ने छन् ।
राष्ट्रियसभा बैठकमा भौतिक पूर्वाधार तथा यातायात, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूची छ ।
FACEBOOK COMMENTS