नेपाल जस्तो देश, जुन भौगोलिक विविधताले भरिएको छ । यस्तो ठाउँलाई हामीले उपयोग गर्नुपर्छ र त्यसलाई एउटा मेडिकल एजुकेशन हवको रूपमा निर्माण गर्दा राम्रो हुने देखिन्छ । मेडिकल कलेज खोल्नलाई दिनुपर्छ । प्रत्येक जिल्लामा मेडिकल कलेज खोल्नुपर्छ । अझ दुई जिल्लाको सीमानामा राखेर खोल्ने हामीले, कमसेकम त्यहाँका जनताले सहजरूपमा सेवा पाउन सकून् । सय जना विद्यार्थीमध्ये ९५ जना विद्यार्थीचाहिँ ती मेडिकल कलेजले देश बाहिरबाटै ल्याउन पाओस् । ती प्रत्येक मेडिक कलेजले पाँच जना नेपाली विद्यार्थीलाई निःशुल्क शिक्षा देओस् ।
यदि कलेजको संख्या बढ्ने हो भने त्यसै हिसाबले सय बेडको हस्पिटल अथवा दुई सय बेडको हस्पिटल जे मिल्छ संख्याको हिसाबले, बेडको हिसाबले, त्यहाँ कमसेकम स्थानीयले सस्तो मूल्यमा सेवा पाउनुपर्छ । आजको मितिमा हामीले हेर्ने हो भने नेपालमा अन्तर्राष्ट्रिय हिसाबले मेडिकल जुन फ्यासिलिटी हुन्छ, अन्य देशको तुलनामा धेरै नै पछाडि छौं । हामी त्यसमध्ये पनि २ नं. प्रदेशको जनसंख्या र त्यहाँ भएका बेड संख्या अथवा डाक्टर संख्यालाई तुलना गर्ने हो भने त्यो झन् भयावह अवस्था लाग्छ मलाई । अन्य देशमा कति डाक्टर, कति जनसंख्या छ । कति जनसंख्यामा कति डाक्टर छन्, अनुपात मिलाइएको हुन्छ । तर नेपालमा त्यो छैन । दुई नम्बर प्रदेशको अवस्था के छ अथवा ७ नम्बर प्रदेशको अवस्था के छ अथवा ५ नम्बर प्रदेशको अवस्था के छ आदि–इत्यादिलाई तुलना गरेर हेर्दा खेरिचाहिँ ठ्याक्कै थाहा हुन्छ । अझै हामीकहाँ डाक्टरको धेरै अभाव छ । मेडिकल एजुकेशन एउटा राम्रो शिक्षा हो, त्यसले सर्भिस पनि दिन सकिन्छ, एउटा क्वालिटी पनि बन्छ नागरिकको । विदेशमा गएर पनि राम्रोसँग काम गर्न सक्छ । ती सबै कारणलाई हेरेर मेरो बुझाईमा यहाँ अझ धेरै मेडिकल कलेजहरू खोल्न जरुरी छ ।
रकम बाहिर जानबाट जोगाऔं
हामीले मेडिकल कलेजहरू खोल्दाखेरि चाहिँ आज जस्तो ‘सेज’ बनाइरहेका छौं नि, त्यहाँ उत्पादन हुने सामान चाहिँ ९० प्रतिशत एक्सपोर्ट नै गर्नुपर्ने हुन्छ । हामीले इन्टरनेशनल लेभलको मेडिकल कलेजहरू यहाँ स्थापना गर्यौं भने त्यहाँ ९० प्रतिशत विदेशकै विद्यार्थीहरू पढ्ने वातावरण बनाऔं । हामीकहाँ ४०–४५ लाख शुल्क छ, अथवा ६५ लाख शुल्क छ विदेशी विद्यार्थीको लागि । भारतमा एक करोड भारतीय रूपैयाँ लाग्छ । एक करोड भारुलाई नेपालीमा ‘कन्भर्ट’ गर्दा १ करोड ६० लाख नेपाली रूपैयाँ लाग्छ । हामीले ती विद्यार्थीलाई यहाँ तान्ने ‘टार्गेट’ गरौं ।
त्यसले मेडिकल कलेज खुलेपछि त्यस क्षेत्रमा कति आर्थिक गतिविधि हुन्छ, त्यसलाई पनि हिसाब गरौं न हामीले । विकासका कुराहरू त्यसै भइहाल्छ । बाटोघाटो बन्छ । हस्पिटल बनेपछि त्यहाँ रोजगारी सिर्जना हुन्छ । सप्लाईका कामहरू हुन थाल्छन् । विरामीहरू आउन थालेपछि त्यहाँ अन्य होटेल बन्छन् । बिरामी बस्ने, अन्य मानिसहरू बास बस्ने चाहियो । त्यहाँ खाजा खाने चाहियो । त्यसरी मानिसहरूको आवतजावत हुनेबित्तिकै आर्थिक गतिविधि त्यसै बढिहाल्छ । एउटा मेडिकल कलेजमा दुई–चारसय जना स्टाफ हुन्छन्, ती स्टाफहरूले खर्च गर्ने बजार बन्छ ।
मेडिकल टुरिजमको सम्भावना
पहिला त हामीले दक्ष जनशक्ति उत्पादन गर्न सक्नुपर्यो । यहाँका जनशक्तिचाहिँ विश्वस्तरीय ‘रिनाउन्ड’ हुनुपर्यो । सेलेक्ट हुनुपर्यो । अनि त्यस्तो जनशक्ति भएपछि यहाँ सजिलो उपचारको लागि मान्छे आउँछ । ‘वल्र्ड एज’मा मलाई यहाँ बढी केयर हुन्छ भन्ने हिसाबले पनि मान्छे आउन सक्छ । त्यो कन्सेप्टले पनि जान सकिन्छ । मेडिकल फ्यासिलिटिज हामीले राम्रो उपलब्ध गराउनसक्ने व्यवस्था भइसक्यो, मेडिकल कलेजहरू यदि खोलेर त्यस्तो अवस्था भइसकेछ भने मानिसहरू यहाँ आउँछन् । अहिले पनि हामीले ‘क्यालकुलेट’ गरौं न, विदेशमा गएको एउटा विद्यार्थीले कति पैसा लिएर गइरहेको छ वार्षिकरूपमा ? चाइना जाँदा कति लिएर गइरहेको छ, बंगलादेश जानेले कति लगिराखेको छ, फिलिपिन्स जानेले कति लिएर गइरहेको छ ? हामीले मोटामोटी ‘क्यालकुलेशन’ गरेर हेरौं न । के छ त अवस्था ? कति अर्ब वार्षिकरूपमा नेपालबाट मेडिकल पढ्नकै लागि गइरहेको छ ? भनेपछि त्यो अहिले नेपालमा मेडिकल पढ्नलाई भएको कलेज नपुग भएर नै त हो नि जाने भनेको ।
मेडिकलमा सिण्डिकेट हुनुहुँदैन
अझै नेपाली विद्यार्थी चाइना पढ्न गइरहोस्, बङ्गलादेश पढ्न गइरहोस् भन्ने एउटा सिण्डिकेट छ, ती सिण्डिकेटहरूले ‘प्ले’ गरिरहेका हुन् डा. गोविन्द केसीहरूका कुरा सुनेर । हो, यसमा एउटा कुरा के छ भने ‘क्वालिटी एजुकेशन’को कुरामा जुन डा.गोविन्द केसीले उठाउनु भएको छ, एकदमै सह्राहनीय छ, त्यसलाई स्यालुुट गर्नुपर्छ । ‘क्वालिटी एजुकेशन’ हुनुपर्छ नेपालमा, मेडिकल कलेज बदनाम हुनुहँुदैन । त्यसमा क्वालिटीचाहिँ अन्तर्राष्ट्रिय हिसाबकै हुनुपर्छ । त्यसको लागि सरकारले जति जे–जे मनिटरिङका कुरादेखि लिएर जे जति नियम–कानूनहरू छन्, बनाउनुपर्ने छ र त्यसलाई चाहिँ अनिवार्य लागू पनि गराउनुपर्छ ।
तराईमा जति पनि आँखाका हस्पिटल छन्, मलाई लाग्छ त्यहाँ ५० देखि ६० प्रतिशत भारतीय नागरिक आउँछन् उपचार गर्न । हामीले त ‘अलरेडी’ त्यो सेवा सुविधा लिइसकेका छौं कुनै एउटा ‘पार्टीकुलर्स सेक्टर’मा आँखाको उपचारमा । तपाईं दाङ जानुस्, जनकपुर जानुस् अथवा यही तिलगंगामा आउनुस्, यहाँ पनि भारतीय उपचार गर्न आउँछन् तिलगंगा अस्पतालमा । भारतमा सीतापुर, मद्रास गएर फर्केर आएर यहाँ तिलगंगा आउँछन् मान्छे । हाम्रो बोर्डर छेउका हाइवेहरूसँग जोडिएका ठाउँका स्थानहरूका जुन आँखा अस्पतालहरू छन्, त्यहाँ हजारौं भारतीयहरू उपचार गराउन आएको देख्न सकिन्छ । त्यो कसैले लुकाएर लुक्ने कुरा होइन । हाम्रो सीमाना खुल्ला छ । भारतबाट चाहिँ उपचार गराउने क्रममा आउँछन् ।
अरु जनरल मेडिसिनको लागि पनि भारतीय आए भने यहाँ अर्थतन्त्र झन् थप चलायमान हुन्छ । उनीहरू आएपछि होटेलमा बस्छन्, खाना खान्छन्, औषधि किन्छन्, हाम्रा औषधि उद्योगहरू झन् फस्टाउँछन् । इक्वीपमेन्टहरूका स–साना उद्योगहरू खोल्नसक्ने सम्भावनाहरू हुन्छ । यी कुराहरूले गर्दाखेरी चाहिँ त्यही लेवलमा यदि काम गर्ने हो भने मेडिकल टुरिजमको सम्भावना एकदमै राम्रो छ । विदेशबाट मान्छेहरू बोलाउन सकिन्छ ।
जसरी आँखाको भएको छ, त्यसरी नै अरु पार्टहरूलाई स्पेशलाइजेशन गर्दै जाने हो भने यहाँ मेडिकल एजुकेशनको हब, नेपाली विद्यार्थीले सुविधाजनक रूपमा पाउने अध्ययनको अवसर, आम नेपाली जनताले उपचारको लागि पाउने अवसर, सस्तोमा र राम्रो उपचार पाउने अवसर हुन्छ । तर अझैसम्म हस्पिटलको अभाव हामीले देखिरहेका छौं । त्यस्तै मेडिकल टुरिजमकै रूपमा डेभलप गर्ने हो भने जसले अर्थतन्त्रलाई सपोर्ट गर्छ ।
विश्वभरका मानिस पढ्न आउँछन्
नेपालको अनुकूल वातावरणका कारण निश्चितरूपमा भारतीय मात्र होइन, विश्वका अन्य कतिपय देशका मान्छेहरूचाहिँ पढ्न आउलान् थोरै लागतमा राम्रो मेडिकल एकजुकेशन हुने हो भने । भौगोलिक विविधताको कारणले नेपालमा त हामी धेरै नै भाग्यमानी छौं । बोर्डर छेऊमा, ठ्याक्कै बोर्डर पारी यदि हेर्ने हो भने दक्षिण सीमानातिर तापक्रम ४५–४६ डिग्री हुन्छ, ५० किलोमिटर वा १–२ घण्टाको ड्राइभमा आइपुग्नुभयो भने तपाईं जस्तै भद्रपुरबाट २ घण्टाको ड्राइभमा हकर्टे पुग्नुस्, मौषम एकदमै फरक छ । त्यस्तै वीरगञ्जबाट छिर्नुस्, भैंसेभन्दा माथि पुग्नुस्, तापक्रम धेरै फरक छ । जुन २ घण्टाको ड्राइभ हो पश्चिम वुटवलबाट छिर्नुस् त्यस्तै देखिन्छ ।
भैरहवा नाकाबाट छिर्दाखेरीको नौतनवापारीको मान्छेहरू आउँछन्, वुटवलभन्दा माथि लाग्ने बितिक्कै तापक्रमको एकदमै भिन्नता र अनुकूल छ । पश्चिम नेपालमा जाँदाखेरि पनि त्यही कुरा देखिन्छ । यो त हामी नेपालीका लागि ‘गड गिफ्ट’ हो । हामीले यसलाई सही सदुपयोग गर्न सक्छौं । सँगसँगै हामीले के सदुपयोग गर्न सक्छौं भने अर्को जुन तापक्रम हो, त्यो भारतको अधिकांश शहरहरूभन्दा कम तापक्रम नै छ यहाँ । तराईंमा चाहिँ पश्चिमतिर अलि बढी गर्मी छ, नवलपरासी भित्तामोढको तापक्रम अथवा विराटनगरको तापक्रम, जनकपुरसम्मको हाम्रो लागि काठमाडौं बस्नेलाई जनकपुर धेरै गर्मी छ । तर जनकपुरभन्दा बढी गर्मी ठाउँबाट आएर चाहिँ कुनै उपचार गर्न आउँदाखेरी जनकपुरमा मान्छेले कम्फर्टेवल फिल गर्छन् । त्यही भएर हाम्रो जुन वातावरण छ, त्यसलाई पनि हामीले ‘क्यास’ गर्न सकेका छैनौं ।
हाम्रो जुन मौषम छ, वातावरण छ, हाम्रा जुन पहाडहरू छन्, त्यसलाई पनि प्रचार गर्नुपर्छ । यो स्थान विशेषभन्दा पनि एजुकेशनको क्वालिटीले बढी महत्व राख्छ । जमानामा मान्छे दार्जेलिङ, खर्साङ, सिक्किम किन पढ्न पठाउँथे ? एउटा क्वालिटी एजुकेशन पाइन्छ भनेर मान्छे पढ्न पठाउने हो । त्यहाँ चिसो छ भनेर पढ्न पठाउने होइन । त्यो एउटा ‘प्लस पोइन्ट’ हो । तर मुख्य कुराचाहिँ ‘क्वालिटी एजुकेशन’ हो । हामीले क्वालिटी मेडिकल एजुकेशन हबको रूपमा विकास गर्न सक्यौं भनें त्यसले देशको अर्थतन्त्रलाई धेरै माथि लान सहयोग पुग्छ ।
मेडिकल क्षेत्रमा राम्रो मनिटरिङ हुनुपर्छ, रुल एण्ड रेगुलेशन टाइट हुनुपर्छ । अझै पुगेको छैन । जस्तो मधेश प्रदेशको जनसंख्या सन् २०२१ मा भएको जनगणनाअनुसार ६१ लाख २६ हजार २ सय ८८ रहेको छ । कति भिड छ त त्यो क्षेत्रमा ? कतिवटा वेडको हस्पिटल छ ? जम्मा वीरगञ्जदेखि सप्तरीसम्म, एकचोटी हेर्नुस् त । के त्यहाँका जनतालाई पुग्छ त त्यतिले ? अन्तर्राष्ट्रिय मापदण्डमा कहाँ छौं ? नेपालको अवस्थामा हामी कहाँ पुग्छौं ? यी कुराहरूलाई चाहिँ हामीले समेट्नुपर्छ । सरकारको बजेट पनि त्यही हिसाबले जनतालाई दिने हो, माटोलाई दिने होइन नि । जनतालाई दिने हो नि सेवा भनेको । यति जनसंख्यामा यति स्कूल, यति जनसंख्यामा यति मेडिकल कलेज, यति जनसंख्यामा यति प्राथमिक उपचार केन्द्र, यति जनसंख्यामा यतिवटा चाहिँ हेल्थपोष्ट, यति जनसंख्या भएपछि यतिवटा वेडको हस्पिटल, ५० बेडको हस्पिटल, रेफरल हस्पिटल, मेन हस्पिटलको रूपमा सरकारले त्यो तरिकाले ‘डेभलप’ गर्दै जानुपर्छ ।
FACEBOOK COMMENTS