काठमाडौं । सत्तारूढ नेकपा एमालेका युवा नेता रमेश पौडेलले सरकारले ल्याएको अहिलेको बजेटको विरोध गरेका छन् । उनले बजेटले देशको समस्या सम्बोधन गर्न नसक्ने टिप्पणी गरे । पौडेलले अहिले देशमा युवा नरहेको बताए ।
उनले भने,‘यही तरिकाले अबको २५-३० वर्षपछि गाउँबस्ती रित्तो हुनेछ । गाउँमा युवाहरु नै छैनन् । गाउँमात्रै नभएर अहिले शहरपनि युवाविहीन छ । हाम्रो गाउँ यही अवस्था रहने हो भने ३० वर्षपछि गाउँहरु बसाईसराईंको प्रमाणपत्र दिनेमात्रै ठाउँ बन्छन् ।’
राजधानीमा आयोजित साक्षात्कारमा उनले देश बनाउन सकिने विश्वास दिलाए । उनले भने,‘नेपाल बनाउन सकिन्छ । समृद्ध नेपाल हामीले नै बनाउने हो । तर तरिका बदल्न जरुरी छ । शैली बदल्न जरुरी छ । भाका बदल्न जरूरी छ । नेपालका युवाहरुलाई स्वदेशमै गरिखाने बनाउनुपर्छ । सरकारले त्यहीअनुसार नीति ल्याउनुपर्छ । यो बजेटले ती कुरा समेट्न सकेको छ त? यो समिक्षाको विषय हो । बजेटले त्यतातर्फ समेटन । अहिलेको बजेटले कति युवालाई रोजगारी दिन्छ ?’
नेपाली कांग्रेसका युवा नेता रञ्जित कर्णले देशको राष्ट्रियतामाथि आँच नआउनेगरि विदेशी सहयोग लिनुपर्नेमा जोड दिएका छन् । उनले भने,‘यो मुलुक अहिलेपनि आर्थिक रुपमा समृद्ध बनाउनुपर्छ । लामो समयपछि संविधान ल्याएका छौं । संविधान कार्यान्वयन भैरहेको छ । तर, देशमा समृद्धि हाँसिल गर्न सकिएन । देशलाई पुँजीको आवश्यकत्ता छ । विश्व बैंक र एडिबीले सहयोग गरेको देखिन्छ । कुनैपनि मुलुकले नेपाललाई आर्थिक सहयोग गर्न तयार छ भने हाम्रो देशको राष्ट्रियतामाथि आँच नआउनेगरि सहयोग लिनुपर्छ ।’
उनले चिनियाँ सहयोग परियोजना बीआरआईको सन्दर्भमा पनि देशको हित हुनेगरि अनुदानमा लिनुपर्ने सुझाव दिए । उनले भने,‘बीआरआईको बारेमा नेपाल र चीन दुई देशबीच पटक पटक वार्ता भएको छ । एडिबी र विश्व बैंकबाट ऋण लिँदा १.२ व्याजदर छ । चीनसँग प्रथम आग्रह के छ भने–एमसिसी हामीले अनुदानमा पाएका छौं । चीनले पनि अनुदान देओस । लोनको रुपमा दिन्छ भने ग्रान्ट लोन (एडिबी र विश्व बैंक) ले दिएजतिमा देओस । तर, चीनले भनेजस्तो उच्च दरको ब्याजको ऋण लिनुहुँदैन् । शर्तसहित अनुदान दिन तयार छ भने लिन तयार छौं ।’
भारतका लागि पूर्व नेपाली राजदूत डा. दुर्गेशमान सिंहले परराष्ट्र मामिलालाई देशको आन्तरिक राजनीतिको खेलको रुपमा लिन नहुने धारणा राखे । उनले सरकारले हालै विभिन्न देशका राजदूत फिर्ता बोलाउने काम गरेको र ती देशमा नयाँ राजदूतहरु नियुक्त गरेको प्रसंगमा यस्तो टिप्पणी गरेका हुन् ।
उनले भने,‘यसले अस्थिरता निम्तिन्छ । अस्थिरता भयो भने देश विकास हुँदैन् । नेपालको संविधानअनुसार स्थायी सरकार आउने परिकल्पना नै गर्न सकिँदैन् ।’ उनले पनि बीआरआई अनुदानमा लिँदा नै नेपालको हित हुने धारणा राखे ।
उनले भने,‘बीआरआई ऋणमा लिनहुँदैन् । तर, विश्व बैंकले दिएजस्तै कम व्याजदरमा भए लिनुपर्छ । चीन ठूलो देश भएकोले अनुदानमा दिँदा राम्रो हुन्छ । चीनले विकासको थालनी र अगुवाई गरेको छ । बीआरआईमा अनुदानको प्रतिशत बढि हुनुपर्छ ।’
राष्ट्रिय मुक्ति क्रान्तिका महासचिव केशव झाले नेपाल ईण्डो–प्यासिफिक एलाईनमेन्टमा बसेको भन्दै चीनको बीआरआई परियोजनाको ऋण लिन नहुने स्पष्ट पारेका छन् । उनले भने,‘नेपाल ईण्डो प्यासिफिक एलाईनमेन्टमा बसेको छ । बीआरआईको पनि ऋण बोकिराख्ने ? यो हुँदैन् । ऋण बोकाउनेगरि बिआरआई जसरी प्रयोग भएको छ, त्यो नेपालको लागि अत्यन्तै हानिकारक हो । अनुदानको रूपमा मात्रै बीआरआई अघि बढ्छ भने लिन सक्छौं । अनुदानमा पाए बीआरआई नेपालको लागि सर्वोत्तम हितको कुरा हुन्छ।’
FACEBOOK COMMENTS