उदयपुर । उदयपुरको कटारी नगरपालिका–१० चिप्टार र खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ बाइटार जोड्ने सुनकोसीको झोलुङ्गे पुल निर्माण सम्पन्न नहुँदै फेरि भत्किएको छ ।
कटारी–१० का वडाध्यक्ष क्षेत्रबहादुर खड्काका अनुसार पुलको कटारीतर्पmका पुलको खम्बा भत्किएको हो । शुक्रबार बिहान एक्कासि पुल भत्किएको वडाध्यक्ष खड्काले बताए । ‘आज बिहान कटारीतर्फका खम्बा नै सबै भत्किएको खबर र फोटो प्राप्त भएको छ’, वडाध्यक्ष खड्काले भने, ‘निर्माणमा ढिलाइ भएकाले ताकेता गरेका थियौँ बल्ल काम अघि बढेको थियो फेरि भत्किएछ ।’
यसअघि निर्माण नहुँदै दुई वर्षअघि पुलको स्ल्याब भत्किएको थियो । गुणस्तरहीन सामाग्री प्रयोग गरेकाले पुल भत्किएको आरोप लगाउँदै आएको स्थानीयवासी धर्म खनालले बताए । वडाध्यक्ष खड्काका अनुसार विसं २०७६ मै निर्माण सुरु भए पनि पुल निर्माण हुन सकेको छैन । विसं २०७६ मा पूर्वाधार विकास कार्यालय गाईघाटबाट तीन करोड ५० लाखमा ठेक्का लिएका वसन्त बुढाथोकीले झोलुङ्गेमा गुणस्तरहीन सामग्री प्रयोग गरेपछि स्ल्याब भत्किएको स्थानीयवासीको दाबी छ ।
पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग र ढिलासुस्ती भएकोबारे सम्बन्धित सरोकारवाला निकायलाई जानकारी गराउँदा बेवास्ता गरेको स्थानीयवासीले बताएका छन् । पुल नहुँदा दुवै जिल्लाका स्थानीयवासीले काठको डुङ्गाबाट जोखिम मोलेरै सुनकोसी आउजाउ गर्नुपर्ने बाध्यता छ ।
FACEBOOK COMMENTS