बाजुरा । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीबाट पूर्वोत्तर क्षेत्रका चारवटा स्थानीय तह हुम्ला र मुगुको मुख्य कोल्टी–मार्तडी सडकखण्ड १७ दिनदेखि रोकिँदा त्यस क्षेत्रमा दैनिक उपभोग्य सामग्री पाउनै मुस्किल भएको छ । सदरमुकाम आउने मुख्य बाटो रोकिँदा बिरामी र सदरमुकाम आउने सेवाग्राहीसमेत प्रभावित भएका छन् ।
सो सडकखण्डको अनाई खोलामा पुलको जग खन्ने क्रममा सडक भत्किएपछि यातायात आवागमन प्रभावित बनेको हो । निर्माण कम्पनी आईएस पावर अफ ज्वाइन्ट भेन्चर दीपायलले पुल निर्माणको जिम्मा लिएको भए पनि सडक भत्किएपछि उसले नयाँ डाइभर्सन नबनाउँदा समस्या भएको हो ।
पुलको जग खन्दा भत्केको बाटो बनाउन कतैबाट पहल भएको छैन । बाटो बिग्रेको केही घण्टामा प्रमुख जिल्ला अधिकारी र जिल्लाका केही सरकारी प्रतिनिधि त्यस ठाउँमा गएका थिए । तर, उनीहरूलाई ठेकेदारले गलत ब्रिफिङ गरेर झुक्याएको पाइएको छ ।
पूर्वाधार विकास कार्यालय साँफेबगरका प्रमुख रुद्र बोगटीले डाइभर्सन निकाल्न त्यहाँका स्थानीयले जग्गा नदिएकाले समस्या भएको बताए । निर्माण कम्पनी आईएस पावर अफ ज्वाइन्ट भेन्चर दीपायलका इन्जिनियर भुवन मल्लले पूर्वाधारले आफूहरूलाई साइड देखाइदिए तत्काल खोल्ने बताए । ‘स्थानीयले आफ्नो जग्गाको क्षतिपूर्ति मागिरहेका छन्, त्यो दिन कोही तयार छैनन्, हामीले जबर्जस्ती खोल्न मिल्दैन,’ उनले भने ।
प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले आफूहरूले आंशिक रूपमा भए पनि बाटो सुचारु गर्न ठेकेदारलाई भनेको बताए । स्थानीयले नयाँ डाइभर्सन खोल्ने जग्गाको क्षतिपूर्ति मागेको र कहीँ कतैबाट दिन सकिने व्यवस्था नहुँदा समस्या भएको उनले बताए ।
खाद्य अधिकार सञ्जाल कोल्टीका अध्यक्ष महेश कार्कीले सडक भत्किएपछि निर्माण कम्पनीले डाइभर्सन नबनाउँदा ठूलो समस्या भएको बताए । ‘हाम्रो क्षेत्रमा रहेको कोल्टी डिपोमा चामल सकिएको छ, १६ दिनदेखि कोल्टीमा कुनै पनि गाडी आउन सकेका छैनन्, बजारमा खाद्यान्न अभाव हुँदै गएको छ, सेवाग्राही पनि आउनसकेका छैनन्,’ कार्कीले भने, ‘एउटा ठेकेदारले बाटो बन्द गरेको अवस्था छ, राज्यले पनि आँखा नदेखेझैं गरेको छ ।’
कोल्टी उद्योग वाणिज्य संघका अध्यक्ष काशिराम थापाले यथाशक्य चाँडो बाटो सञ्चालनमा आउनुपर्ने बताए । ‘यहाँ आउने कुनै पनि सामान आउनसकेको छैन, बजारका पसलमा पनि कुनै सामान आउन पाएका छैनन्,’ बाटो सञ्चालनमा आउन नसक्दाको समस्या देखाउँदै उनले भने, ‘बिरामीलाई पनि सुविधा सम्पन्न ठाउँमा उपचारका लागि पठाउनसक्ने अवस्था छैन, फलस्वरूप बाटोकै कारण बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था आएको छ ।’
बाजुरामा कोल्टी विमानस्थल सञ्चालनमा छ । तर, भनेको बेला जहाज पाइँदैन । जहाज अभावमा बिरामीले ज्यान गुमाउनु सामान्य लाग्ने आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS