भोजपुर । उत्तरी क्षेत्रबाट भोजपुर र सङ्खुवासभालाई जोड्ने अरूण नदीको लम्सुवाघाटमा निर्माण भइरहेको पक्की पुल १४ वर्षदेखि अलपत्र छ । करिब चार करोड रूपैयाँ खर्च भएपछि यो पुल निर्माण अलपत्र बनेको हो ।
लम्सुवाघाटमा वि.स. २०६७ सालबाट पुल निर्माण थालिएको थियो । ६ पिलरको बेस राखेपछि यहाँको पुल निर्माण अलपत्र बनेको षडानन्द-६ का वडाध्यक्ष सुमन विसुन्केले बताए ।
‘पुल निर्माणको काम १४ वर्षदेखि अलपत्र छ,’ वडाध्यक्ष विसुन्केले भने, ‘राज्यको करिब चार करोड रूपैयाँ खर्चपछि काम अलपत्र पारिएको अवस्था छ । यो पुल बनिदिए स्थानीयवासीलाई राहत हुने थियो ।’
यहाँ एक सय ७२ मिटर लामो पक्की पुल निर्माणका लागि काम थालिएको थियो । निर्माणको क्रममा नै अलपत्र बनेको पुल सम्पन्न गराउन राज्यले ध्यान दिनुपर्ने षडानन्द-६ का स्थानीयवासी सीताराम लम्सालले बताए । पुक्की पुल नहुँदा आवतजावतमा समस्या रहेको उनको भनाइ छ ।
‘निर्माणको क्रममा लम्सुवाघाट पक्की पुल अलपत्र बनेको अवस्था,’ उनले भने, ‘पुल बन्ने आशामा बसेका हामी निराश बनेका छौँ । राज्यले यो पुल निर्माणमा ध्यान दिन आवश्यक छ ।’
निर्माण कम्पनीले २०६७ सालदेखि पुल निर्माण सुरू गरेको थियो । सम्झौताअनुसार पुल २०७० सालमा सक्नुपर्ने थियो । तर निर्माण कम्पनीले काममा ढिलाइ गरेपछि राज्यको तर्फबाट ठेक्का रद्द गरिएको सडक डिभिजन कार्यालय तुम्लिङटार प्रमुख शुभाञ्जन दाहालले जानकारी दिए ।
२०७८ सालमा ठेक्का रद्द प्रक्रियामा गएपछि निर्माण कम्पनीले हालेको मुद्दा कार्यालयको पक्षमा फैसला भएको उनको भनाइ छ । फैसलापछि पनि निर्माण कम्पनीले क्षति पूर्तीको माग गर्दै पुनः अदालतमा रिट दायर गरेको र अदालतले उक्त रिट सदर गरेकाले तीन सदस्यीय मध्यस्तकर्तामार्फत समस्या समाधन प्रक्रियामा रहेको उनले जानकारी दिए ।
‘काम नभएपछि राज्यको तर्फबाट ठेक्का रद्द गरिएको अवस्था हो,’ प्रमुख दाहालले भने, ‘उक्त विषयमा निर्माण कम्पनीले मुद्दा हालेको अवस्था थियो । दुवै मुद्दा कार्यालयको पक्ष फैसला भएको छ । पुनःनिर्माण कम्पनीले क्षतिपूर्तिको माग गर्दै रिट हाल्यो । उक्त रिट अदालतले सदर गरेको छ । त्यसको नतिजा आएपछि मात्र थप प्रक्रिया अघि बढ्छ ।’
अहिले कम्पनीको धरौटीबापतको ७७ लाख रूपैयाँ रकम रोक्का रहेको उनले जानकारी दिए ।
FACEBOOK COMMENTS