काठमाडौँ । ताप्लेजुङको हिमाली क्षेत्रमा रहेका मतदान केन्द्रका मतपेटिका छिटोमा मङ्गलवार अबेर मात्र ल्याइने भएको छ । सदरमुकाम फुङ्लिङदेखि लामो दूरी र यातायातको पहुँच नपुग्ने र हेलिकप्टर पनि नआएकाले तीन दिन पैदल यात्राबाट मतपेटिका ल्याइने जानकारी दिइएको छ ।
फक्ताङलुङ गाउँपालिका–७ को ओलाङचुङगोला र याङ्मा फक्ताङलुङ गाउँपालिका—६ ग्याब्ला र घुन्साको मतपेटिका मङ्गलवार अबेर मात्र आइपुग्ने मुख्य निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ । हेलिकप्टरमार्फत ल्याउने भनिए पनि पैदल मार्ग मार्फत नै ल्याउनुपर्ने भएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए । पोखरेलले भने, “इलाडाँडामा चार वटै मतदान केन्द्रको मतपेटिका सङ्कलन हुन्छ । त्यहाँबाट गाडीमा मङ्गलवार बेलुकी आइपुग्छ ।” एक सय १९ वटा मतदान केन्द्रको मतपेटिका आज मुख्य निर्वाचन कार्यालय फुङ्लिङमा ल्याइपुर्याएको छ ।
जिल्लामा ४८ हजार तीन सय ५५ मत खसेको निर्वाचन अधिकारी दिनेश खनालले बताए । यहाँ ८८ हजार दुई सय ८५ वटा मतदाता छन् । सबै मतदान केन्द्रको मतपेटिका जम्मा भएपछि मात्र मतगणना गर्ने तयारी भइरहेको निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ ।
FACEBOOK COMMENTS