काठमाडौँ । दक्षिण कोरियाको सियोल सहर शनिबार बैजनी रंगले ढाकिएको देखियो । सहरका मुख्य स्थान, ठूला पर्दा, पोस्टर, कपडा र नदीमाथिको ड्रोन बत्तीसमेत एउटै रंगमा झल्किएका थिए ।
यो उत्साह विश्व चर्चित के पप समूह बिटीएसको पुनरागमनका कारण थियो । अनिवार्य सैनिक सेवाका कारण तीन वर्षभन्दा बढी समय विश्राममा रहेको समूह फेरि मञ्चमा फर्किएको हो ।
कार्यक्रम सुरु हुनु अघि नै हजारौँ दर्शक सियोलको ग्वाङह्वामुन क्षेत्रमा जम्मा भइसकेका थिए । समूहका सदस्यहरू मञ्चमा नआउँदै पनि वातावरण गीत, नाराबाजी र उज्याला बत्तीले भरिएको थियो । कन्सर्टमा २२ हजार भाग्यमानी दर्शकलाई नि: शुल्क प्रवेश दिइएको थियो ।
साँझ पर्दै जाँदा भीडले सातै सदस्यको नाम गुन्जायो । त्यसपछि परम्परागत घण्टीको ध्वनिसँगै नयाँ एल्बमको प्रस्तुति सुरु भयो र केहीबेरमै सदस्यहरू मञ्चमा देखा परे। समूहका नेताले दर्शकलाई अभिवादन गर्दै ’हामी फर्कियौँ’ भन्ने सन्देश दिएका थिए ।
कार्यक्रममा नयाँ गीतसँगै पुराना चर्चित गीतहरू पनि प्रस्तुत गरिए, जसले दर्शकलाई अझ उत्साहित बनायो । हजारौँ दर्शकले एकसाथ गीत गाएर माहोल झनै रोमाञ्चक बनेको थियो ।

यस ऐतिहासिक स्थानमा यस्तो कार्यक्रम आयोजना गरिएकोमा केहीले आलोचना पनि गरेका छन् । ठूलो संख्यामा सुरक्षा बल परिचालन र सार्वजनिक स्थान प्रयोगबारे प्रश्न उठाइए पनि सरकारले भने यसलाई देशको प्रतिष्ठासँग जोडिएको महत्त्वपूर्ण अवसर बताएको छ ।

बिटीएस सन् २०१३ देखि विश्वभर चर्चित बन्दै आएको समूह हो । उनीहरूले संगीतसँगै आफ्नो देशको पहिचान विश्वमाझ फैलाउन ठूलो भूमिका खेलेका छन् । कार्यक्रम हेर्नका लागि हजारौँ विदेशी दर्शक पनि सियोल पुगेका थिए। धेरैले वर्षौँको प्रतीक्षा पछि यो क्षण पाएको भन्दै खुशी व्यक्त गरेका छन् ।

अन्त्यमा उज्याला बत्तीले भरिएको भीडबीच कार्यक्रम समापन भयो । अब समूहले विश्व भ्रमणको तयारी गरिरहेको छ, जसअन्तर्गत दर्जनौँ सहरमा कार्यक्रम गर्ने योजना रहेको छ ।
FACEBOOK COMMENTS