काठमाडाैं । बुद्ध एयरले ७२ सिटे एटिआर–७२ जहाजकाे बिहीबार बिहान काठमाडौं–भरतपुर परीक्षण उडान सफल भएकाे छ ।
भरतपुर विमानस्थलको १,२०० मिटर लामो धावनमार्गमा यो जहाज पहिलोपटक अवतरण गरेको हो ।
यसअघि श्री एयरलाइन्सले ८० सिटे जहाजबाट उडान गरे पनि हाल त्यसको सेवा रोकिएको छ ।
बुद्ध एयर भरतपुरका स्टेशन म्यानेजर भक्तबहादुर बस्नेतका अनुसार परीक्षण सफल भएको र अब प्राविधिक मूल्यांकनपछि नियमित उडानको अनुमति पाइनेछ ।
क्याप्टेन प्रमोद थापाले परीक्षण उडानमा खासै समस्या नभएको बताएका छन् । २७ वर्षदेखि बुद्ध एयरमा काम गर्दै आएका थापाले भरतपुर विमानस्थलमा उडान तथा अवतरणमा असहज र जोखिम नभएको बताए ।
वरिपरिका घर र रूखले अवतरणमा समस्या हुन सक्ने भन्दै पहिले ठूला जहाज उडाइएका थिएनन् । तर अब धावनमार्ग विस्तारको तयारीसहित परीक्षण गरिएको हो ।
हाल ४२ सिटे जहाजमार्फत सेवा दिइरहेको बुद्ध एयरले ७२ सिटे जहाज सञ्चालन गर्दा टिकट दर घट्ने अपेक्षा गरिएको छ। परीक्षण उडानमा ५०–६२ यात्रु बोक्न सकिने देखिएको छ ।
बुद्ध एयर २० वर्षदेखि काठमाडौं–भरतपुर नियमित उडान गर्दै आएको छ । अहिले दैनिक सात उडान काठमाडौं र एक उडान पोखरा–भरतपुरमा सञ्चालनमा छन् ।
FACEBOOK COMMENTS