काठमाडौं । १६ वर्षदेखि नियमित उडान गरिरहेको बुद्ध एअरको एटीआर–४२ विमानले अबदेखि कुनै पनि उडान नगर्ने भएको छ ।
‘नाइन एन–एआइएन’ कलसाइनको सो जहाजले ७० हजार पटक उडान गरिसकेकाले बुद्ध एअरले आजदेखि उडान रोकेर पूर्णरूपमा थन्क्याएको हो । यो सँगै सो जहाज व्यावसायिक उडानबाट सधैंका लागि विदा भएको छ ।
नेपाली आकाशमा हवाइ इतिहास सुरू भएको ७५ वर्षपछि एउटा जहाजले आफ्नो ‘लाइफ साइकल’ पूरा गरेर बिदाइ भएको पहिलो घटना भएको बुद्ध एअरले जनाएको छ । ‘आफ्नो ७०,००० चक्रको व्यावसायिक जीवन सफलतापूर्वक पूरा गरेपछि, हामीले एउटा विमान ‘नाइन एन एआईएन’लाई बिदाइ गरेका छौँ । विश्वभरका सबै एटीआर एअरक्राफ्टहरूले लिएको यो पहिलो माइलस्टोन हो,’ बुद्ध एअरले भनेको छ ।
यो जहाज आन्तरिक उडानका लागि बुद्ध एयरले सन् २००८ मा भित्र्याएको उसको पहिलो एटीआर विमान थियो । नेपाल ल्याउनुअघि ३० हजार हाराहारी साइकल विदेशमा उडिसकेको थियो । १६ वर्षको अवधिमा यो जहाजले ४४ हजार ४७७ पटकको उडानबाट १८ लाख यात्रुलाइ सेवा दिएको बताइएको छ ।
बुद्ध एअरको सो जहाजको ‘फेयरवेल’लाई केही तस्बिरहरूमा हेरौँ–
FACEBOOK COMMENTS