एकदिन बिहान भगवान् बुद्धलाई आफ्ना अनुयायीहरूले सुनाए कि अङ्गुलिमालले आफ्नी आमालाई मार्न गइरहेको छ । यस जघन्य अपराध हुनबाट रोक्नु श्रेयस्कर हुन्छ भन्ने उहाँलाई लाग्यो । त्यतिखेर अङ्गुलिमालको नाम सुनेरै मानिसहरू तर्सिन्थे । उनको क्रूरतालाई सदाका लागि बन्द गर्न कोशल देशको भारदारीसभाले अङ्गुलिमाललाई मृत्युदण्ड दिने निर्णय सुनाएको थियो । यसबाट व्यग्र बनेकी माता छोरोलाई अन्तिम चोटि आफ्नै आँखा सामुन्ने हेर्न चाहन्थिन् । तिनले भेट्न नपाउँदै बुद्ध अङ्गुलिमालको अगाडि देखा पर्नुभयो । श्रावस्तीमा भिक्षाटन पछि अङ्गुलिमाल भएकै जङ्गलको बाटोबाट फर्कन खोज्दा त्यहाँ खेतमा काम गरिरहेका किसानहरूले बुद्धलाई उक्त बाटो भई नजान सल्लाह दिएका थिए तर, उहाँले मान्नुभएन ।
अङ्गुलिमाल एक व्यक्तिको मात्रै प्रतीक्षामा थियो । जो कसैलाई मारेर एक औँठा मात्रै जुटाउन पाए हुन्थ्यो भन्ने ध्याउन्नामा थिए र एक हजार औँठा जम्मा पार्ने उसको वर्षौंसम्मको अभियान सफल हुँदै थियो । बुद्धलाई देखेपछि आफ्नो उद्देश्य अब पूरा हुने भयो भन्ने ठानेर ऊ बुद्धलाई भेटाउन पछि–पछि कुद्न थाल्यो । जति कुदे पनि भेटाउन नसकेपछि त्यो पुरुष को होला भन्ने कूतुहल उसमा जाग्यो र सोध्यो, ‘तिमी को हौ ? अडिनू ।’
उनले अगाडि भने, ‘मलाई देखेर अलिकति पनि डराएनौँ । म कुदेको कुद्यै छु र थाकिसकेँ पनि । तिमी थाकेका छैनाैँ । आत्तिएका पनि छैनाैँ । यसअघि मेरो सामुन्ने कसैले उभिनसम्म हिम्मत गर्न सक्दैनथे ।’
प्रत्युत्तरमा बुद्धले भन्नुभयो, ‘म कुदेको छैन । तिमी पो यो संसारमा लगातार कुदिरहेका छौँ । भागदौड गरिरहेका छौँ । क्षणिक सुखका लागि आफैँलाई दुःखको भूमरीमा धकेलिरहेका छौँ । सोच त, तिमी त वास्तवमै अहिंस्रक हौ नि !’
तीक्ष्ण बुद्धिको अङ्गुलिमाललाई तत्क्षण नै होस जाग्यो कि उसले मूर्खतावश यी सब नकाम गरिरहेका छ । उसलाई बुबाआमाले राखिदिएको नाम अहिंस्रक थियो । आफ्नो कुकर्मप्रति उसलाई भयङ्कर पश्चाताप र ग्लानि भयो । बिनाविलम्ब उसले बुद्धसामु भिक्षु बन्न अनुनय गर्यो र ऊ भिक्षु भयो । उसकी आमा मारिनबाट बचिन् । जन्म दिने आमाको हत्या गर्नबाट अङ्गुलिमाल बच्यो । त्यसभन्दा ठूलो कुरा अङ्गुलिमालले हिंसालाई त्याग्यो र मुक्तिको मार्ग भेट्टायो ।
बुद्धले बुद्धत्व लाभ गर्नुभएपछि बहुजन हित बहुजन सुखका लागि ४५ वर्षसम्म गाउँ–गाउँ, सहर–सहर घुम्नुभयो । विश्राम लिनुभएन । क्षणिक सुखका पछाडि नदौडेर स्थायी सुखको खोजीमा लाग्न दुःखीजनलाई उत्प्रेरणा दिँदै हिँड्नुभयो । बाटो देखाउँदै अघि बढिरहनुभयो । मेरो शरणमा आऊ, म मुक्ति दिलाइदिन्छु भनेर बुद्धले आफूकहाँ आउने कसैलाई पनि कुनै आश्वासन दिनुभएन । सांसारिक सुख, वैभव, पद वा प्रतिष्ठाका लागि दिनरात नभनी भागदौड गरिरहेका अज्ञानीजनलाई सांसारिक वस्तु सबै क्षणभङ्गुर छन्, नाशवान् छन्, परिवर्तनशील छन्, त्यसैले ती अनित्य हुन् भन्ने ज्ञान बाँड्नुभयो । जुन अनित्य हुन्, ती सुखकर हुँदैनन्, दुःखदायी हुन्छन् । अनित्य र दुःखदायी वस्तु ‘म’ र ‘मेरा’ हुन सक्दैनन्, त्यसकारण अनात्म हुन् । त्यसमाथि कसैको पनि वश चल्दैन । ती शाश्वत र अजरअमर भएर रहन सक्दैनन् । अनित्य, अनात्म र दुःखदायी कुराहरू त्यसकारण त्याज्य छन् भन्ने जीवन दर्शनलाई उहाँले जीवनको अन्तिम क्षणसम्म पनि जनसाधारणलाई सम्झाउँदै बुझाउँदै हिँड्नुभयो ।
बुढ्यौलीले जर्जर भइसकेको आफ्नो शरीरलाई थोत्रो गाडाजस्तो ठान्नुहुने उहाँले आफ्नो शरीरलाई त्यागेर महाप्रस्थान गर्न लाग्दाको अन्तिम घडीसम्म पनि विश्राम लिनुभएन । यो दौड उहाँको बुद्धचर्या थियो, जुन मैत्री र करुणाले ओतप्रोत थियो । अशक्तावस्थामै सुभद्र नामका एक जिज्ञासु बुद्धलाई भेट्न पाऊँ भनेर जिद्दी गर्दै थिए । उनले संसारमा बुद्धको दर्शन अत्यन्त दुर्लभ हुन्छ भनेर आफ्नै गुरुको मुखबाट सुनेका रहेछन् । भिक्षुहरूले देह त्याग्ने अन्तिम घडीमा कष्ट हुन्छ भनेर बुद्धसामु जानबाट रोकिरहेका थिए । तर, आफूकहाँ आएर प्रश्न राख्ने उत्कट चाहना बोकेर आएका सुभद्रलाई बुद्धले नरोक्न भन्नुभयो ।
सुभद्रको प्रश्न थियो, ‘संसारमा सबैले आ–आफ्नै धर्म–सम्प्रदाय सर्वश्रेष्ठ छ भन्ने गर्छन् । सर्वश्रेष्ठ धर्म–सम्प्रदाय छुट्याउने कसी के होला ?’ बुद्धको जवाफ थियो, ‘जुन धर्म विनयमा आर्य अष्टाङ्गिक मार्ग हुुँदैन, त्यस धर्म विनयमा श्रमण (भिक्षु) हरू हुँदैनन् । जुन धर्म विनयमा आर्य अष्टाङ्गिक मार्ग हुन्छ, त्यहाँ श्रमणहरू हुन्छन् । अरू धर्म विनयमा श्रमणहरू छैनन् । श्रमणहरूले राम्रो धर्माचरण गरी बसे भने यस लोकमा अर्हत (मुक्तपुरुष) हरू बिलाउने छैनन् ।’
बुद्धले वैराग जगाउने धर्म–सम्प्रदाय श्रेष्ठ हुन्छ भनी आफ्नो अभिमत जाहेर गर्नुभएको हो । धर्मको नाममा गरिने नानाथरीका व्रत, यज्ञ, उपवास, मूर्ति पूजा वा ईश्वरको शरणले मुक्ति नदिने बरु मुक्तिका लागि कसैको भर नपरी आफ्नो ज्योति आफैँ बन्ने, होसपूर्वक जिउने दर्शन अँगाल्न त्यतिखेरको समाजलाई बुद्धले उत्प्रेरणा दिनुभएको हो । यही धर्माचरणले मुक्ति दिलाउने हो । त्यो दर्शनमार्ग आर्य अष्टाङ्गिक मार्ग हो, जसमा शील, समाधि र प्रज्ञा समाहित छ । बुद्धका अनुसार सुख र स्वर्गको कामना नगर्ने वितरागी नै सच्चा श्रमण हुन् ।
बुद्धको यस उपदेशबाट सुभद्र मुक्तपुरुष भए । उनी बुद्धसँग अन्तिम संवाद गरी अर्हत लाभ गर्ने सौभाग्यशाली अनुयायी बने । ‘म निर्वाण भएपछि अब हामीलाई सिकाउनुहुने गुरु रहेनन् भन्ने तिमीहरूलाई लाग्न सक्छ । अलमल नहुनू, आजसम्म मैले धर्म र विनयका बारे जे जति प्रज्ञप्ति गरेको छु, ती सबै नै तिमीहरूका शास्ता हुन् भनेर सम्झिनू’ उहाँले भिक्षु सङ्घलाई यसरी मार्गनिर्देश गर्नुभयो । यसअघि पनि उहाँले आफ्ना सेवक भिक्षु आनन्दसँगको संवादमा ‘अब मैले बताउन बाँकी कुनै विषय रहेन, मसँग आचार्यमुष्ठि छैन,’ भनेर भन्नुभएको थियो । आफूले तीन महिनापछि देहत्याग गर्नेछु भनेर घोषणा गरेको दिन उहाँले यो भेद खोल्नुभएको थियो । बुद्धको यस कथनबाट आफ्ना अनुयायी भिक्षुहरूलाई कस्तो प्रकारबाट ज्ञान बाँड्ने वा मार्गनिर्देशन दिने गर्नुहुन्थ्यो भन्ने थाहा लाग्छ ।
निर्वाणमा जान अब धेरै समय बाँकी नरहेको भाव प्रकट गर्दै उहाँले धर्म र विनयबारे कुनै दुविधा वा शङ्का भए सोध्न एकत्रित भिक्षु सङ्घलाई भन्नुभयो । कसैबाट प्रश्न आएन । दोस्रो र तेस्रो चोटि पनि उहाँले यही कुरा दोहोर्याउनुभयो । तर, सबै भिक्षु मौन बसे, कसैले प्रश्न सोधेन । तत्पश्चात् उहाँले भिक्षुहरूलाई सम्बोधन गर्दै अन्तिम उपदेश दिनुभयो, ‘सबै संस्कार अनित्य भएको बुझेर अप्रमाद भई कुशल धर्म सम्पादन गर्नू ।’
बुद्धले सदैव होसपूर्वक जीवन जिउन सम्झाउनुभयो । काय, वाक् र चित्तको विशुद्धिमा जोड दिनुभयो । मानसिक विकार र क्लेश क्षय गर्न घच्घच्याइरहनुभयो । कुशल कार्य गरी पुण्य सञ्चय गर्न र मानसिक सन्ताप एवम् दौर्मनस्य उत्पन्न गर्ने अकुशल कर्मबाट बचेर रहन सचेत गरिरहनुभयो । त्रिविष (लोभ, द्वेष र मोह) मा लिप्त नभई अलोभ, अद्वेष र अमोह (प्रज्ञा चक्षु) को आश्रय लिन उपदेश दिइरहनुभयो । सांसारिक भोगविलाशमा लिप्त रहने मानिसलाई फलामलाई उसैबाट उब्जेको खियाले खाएजस्तै दुर्गतितिर धकेल्ने बुद्धोपदेश सबैका लागि मननीय छ । उहाँको अर्को उपदेश थियो– शरीरलाई कष्ट दिएर हठचर्या नगर्नू ।
लोभले लालायित, द्वेषले दग्ध र वासनाले वसिभूत अनार्य पृथग्जनलाई बुद्धले आफ्नो जीवनकालमा मूलतः दुई कुरा सिकाउनुभयो– दुःख र दुःखबाट मुक्ति । जन्मनु, बूढो हुनु, रोगी हुनु, मर्नु, अप्रियसँगको सहबास, प्रियसँगको विछोड, इच्छित वस्तुको अप्राप्ति सबै दुःख हुन् । यो चतुर्महाभूतले बनेको हाडछालाको शरीर रहेसम्म यी दुःखकष्टले सताइरहन्छन् । यो शरीर रूप, वेदना, संज्ञा, संस्कार र विज्ञानको पुञ्ज हो । यो पुञ्ज नश्वर छ र व्याधि तथा दुःखको खानी हो । शरीर (रूप) मा उत्पन्न हुने दुःखद् वा सुखद् वेदनाहरू अनित्य प्रकृतिका छन्, दुःखदायी छन् । चित्त (विज्ञान) चञ्चल र अनित्य प्रकृतिको छ र यसले हरपल सताइरहन्छ । अविद्याले मूढ र तृष्णाले अन्धो बनेका मानिस क्षणिक सुखका लागि रातदिन भौँतारिरहेका हुन्छन् । दुःखैदुःखले भरिएको यो संसार देखेर ऊ वाक्कदिक्क छ तर अनित्यतालाई बुझ्न चाहँदैन, चाहे पनि उसलाई फुर्सद छैन ।
शारीरिक कष्ट, मानसिक तनाव, वेदना–विरह, अहङ्कार, जलन, ईर्ष्याले उकुसमुकुस यो संसारको दुःख स्वभाव र अनित्य स्वभावलाई बुझेर यसबाट मुक्ति पाउने उपाय खोजी हिँड्ने मानिसलाई तृष्णाले सताउँदैन, वासनाले अँठ्याउँदैन, सोही प्रज्ञानका कारण उ शान्त र धैर्यवान् हुन्छ । मानिस सुखद् अनुभूतिको चाह राख्छ, अप्रिय अनुभूतिको तिरस्कार गर्छ । जतिसुकै सुन्दर रूप होस्, जतिसुकै कर्णप्रिय आवाज होस्, जतिसुकै सुगन्धित बास्ना होस् वा स्वादिलो भोजन होस् ती सबै उत्पत्ति भई निरोध भएर जाने धातु स्वभाव मात्रै हुन्, सधैंभरि रहिरहने होइनन् । त्यसकारण अनित्य स्वभावका त्यस्ता वस्तुसँग टाँस्सिएर बस्नु व्यर्थ छ । मानव देह, वेदना र चित्तलाई यसरी नै फारिफारिकन हेर्न र बुझ्न सकियो भने ‘म’ र ‘मेरो’ भन्ने दृष्टि विलुप्त भएर जान्छ । परमार्थ सत्य साक्षात्कार हुन्छ । यस्तो सत्य अन्यत्र खोज्नु आवश्यक छैन, आफ्नो शरीरमै नियाल्ने हो भनेर भन्नुहुने बुद्धलाई त्यसकारण ‘विभज्जवादी’ भनेर पनि सम्बोधन गर्ने गरिन्छ ।
यो शरीर म हुँ, यी मेरा हातखुट्टा हुन्, यी मेरा सन्तान हुन्, यी मेरा जमिन जायदात हुन्, यी मेरा दुश्मन हुन् भन्ने आत्मभाव (सत्काय दृष्टि) लाई हामी जहिलेसम्म बोकिरहन्छौँ, दुःखका शृङ्खला टुट्दैन । यस्तो मिथ्या दृष्टि रहेसम्म भवमा प्राणीको आवागमन निरन्तर चलिरहन्छ । बुद्धका सच्चा अनुयायीहरू प्रथमतः सत्काय दृष्टिलाई जरैदेखि उखेलेर फ्याँक्न प्रयत्नशील रहन्छन् । जो छँदै छैन, प्रज्ञप्ति मात्रै हुन्, पञ्चस्कन्ध (नाम र रूप) को पुञ्ज मात्रै हुन्, लाई अज्ञानता र तृष्णाको जालोमा फँसेका मानिस ‘म’ र ‘मेरो’ भन्दै बलियोसँग पक्डेर बसेका छन् । सम्यक दृष्टि वा ज्ञानचक्षु नभएर मानिस त्यसरी दिग्भ्रमित भएका हुन् । ज्ञानचक्षु उदय भएमा मात्रै मानिस बुँख्याचालाई मानव हैन बुख्याँचा मात्रै हो भनेर ठम्याउन समर्थवान् हुन्छ ।
बुख्याँचालाई मानव सम्झेर गर्ने यही महाभूलले मानिसलाई भव चक्रमा धकेल्छ । यस्तो बुझाइ नै मिथ्या दृष्टि हो भनेर बुद्ध दर्शनले हामीलाई सिकाउँछ । मानिसलाई भव चक्रमा बाँधिराख्ने दश भव संयोजनमध्ये सत्काय दृष्टि पहिलो र सबैभन्दा बलशाली बन्धन हो । ‘अर्हत’ भनेका यिनै दश संयोजन वा बन्धनलाई चुँडालिसकेका मुक्त पुरुष हुन् । विचिकित्सा (अनावश्यक शङ्का), शीलव्रतपरामर्श (अन्धविश्वास), कामराग (वासना), पटिघ (अरूप्रतिको दुर्भावना), रूपराग (रुप भुवनको चाहना), अरूपराग (अरूप भुवनको चाहना), मान (घमण्ड), औद्धत्य (चित्तको चञ्चलता), अविद्या (अज्ञानता) बाँकी नौ बन्धन हुन् ।
ममकार र अङ्ककारले सिर्जना गर्ने यो लोभी संसारलाई यही साढे तीन हातको शरीरभित्र राम्ररी नियालेर बुझ्ने प्रयास गर्न महामानव बुद्धले सिकाएर जानुभएको छ । कसैको लहलहैमा नलागी आफ्नै विवेकको कसीमा घोटेर हेर्दा सही जँचे मात्रै कुनै वाद वा सिद्धान्तलाई स्विकार्नु भन्ने उहाँको उपदेशमा त्रास, धम्की र प्रलोभन फेला पर्दैन, बरु चिन्तन–मन्थनमा त्यो हदसम्मको स्वतन्त्रता प्राप्त छ । बेहोसीमा हजारौँ हजार वर्ष जिउनुभन्दा होसपूर्वक एकदिन जिउनु उत्तम हो भनेर सिकाउनुहुने उहाँ महामानव बुद्धको परिनिर्वाण मात्र हैन, लुम्बिनी उपवनमा राजकुमार सिद्धार्थको जन्म र अरूबेला बुद्धगयामा उहाँलाई बोधिज्ञान लाभ पनि वैशाख पूर्णिमा (बुद्ध पूर्णिमा) कै दिन भएकाले विश्वभरका बौद्धहरूको लागि यो दिनको अत्यन्तै ठूलो महत्त्व छ ।
(लेखक राससका नायब महाप्रबन्धक हुन्)
FACEBOOK COMMENTS