काठमाडौं । आर्थिक वर्ष २०७९/०८० को बजेटमा उल्लेखित आर्थिक क्षेत्रसँग सम्बन्धित एक तिहाइ कार्यक्रममा शून्य प्रगति देखिएको छ।
बजेटले यस क्षेत्रसँग सम्बन्धित कुल ६२ बुँदा उल्लेख गरेकामा २२ वटा कार्यान्वयनको चरणमै नगएका हुन्। तीमध्ये २९ बुँदा आंशिक रूपमा कार्यान्वयन भएका छन् भने मात्र ११ वटा व्यवस्था कार्यान्वयनमा आएका छन्।
आर्थिक भित्र पूर्वाधार क्षेत्रका ६, पर्यटनसँग सम्बन्धित ५, उद्योग र भूमिसँग सम्बन्धित ३र३, सार्वजनिक निजी साझेदार विषयका २ तथा वैदेशिक लगानी, स्टार्टअप र सूचना प्रविधिसँग सम्बन्धित १/१ बुँदा कार्यान्वयनको चरणमै गएनन्। नेपाल उद्योग परिसंघले गत आर्थिक वर्षको बजेटको कार्यान्वयन समीक्षा गर्दै यस्तो निष्कर्ष निकालेको हो।
गत आर्थिक वर्ष २०७९/०८० मा सरकारको बजेटमा उल्लेख आर्थिक क्षेत्रसम्बन्धी घोषणा कार्यान्वयन फितलो रहेको परिसंघको ठहर छ। गत वर्ष सरकारले १७ खर्ब ९३ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्यसहितको बजेट प्रस्तुत गरेकोमा १४ खर्ब ३० अर्ब (लक्ष्यको ७.९७ प्रतिशत) मात्रै खर्च भएको थियो।
यसमध्ये पनि, विकास लक्षित पुँजीगत खर्चको स्थिति कमजोर रहेको थियो। कम्तीमा एक तिहाइ पुँजीगत रकम खर्च नै हुन सकेन। परिसंघले आम्दानी र खर्च दुवैको शिथिलताले बजेट कार्यान्वयनको कमजोरी उदांगो पार्ने बताएको छ।
अधिकांश विकाससँग सम्बन्धित मन्त्रालयकै बजेट कार्यान्वयन निराशाजनक देखिन्छ। गत वर्ष बजेटमा उल्लेखित आर्थिक क्षेत्रसँग सम्बन्धित कुल ६२ बुँदाको कार्यान्वयनलाई समीक्षा गर्दा अधिकांशको कार्यान्वयनमा शिथिलता देखिएको छ। खासगरी, आर्थिक ऐनसँग सम्बन्धित करका दरमा परिवर्तन, छुट सुविधाजस्ता विषय स्वाभाविक रूपमा तत्कालै कार्यान्वयनमा गए तर, नीतिगत परिवर्तन, कानुनी सुधार तथा संरचनागत परिवर्तनसँग सम्बन्धित बजेटमा उल्लेखित बुँदाहरूको कार्यान्वयनको प्रगति निराशाजनक रहेको परिसंघको ठहर छ। ‘यसले रूपान्तरणकारी सुधारका लागि आवश्यक पहलकदमी नपुगेको देखाउँछ,’ परिसंघले भनेको छ।
आर्थिकमध्ये पनि सबैभन्दा धेरै पूर्वाधार, पर्यटन, उद्योग तथा भूमिसँग सम्बन्धित विषयका नीति र कार्यक्रमको कार्यान्वयन नभएको देखिन्छ। बहुप्रचारित स्टार्टअप प्रवद्र्धनात्मक कार्यक्रम, रोजगारी वृद्धिका कार्यक्रम, डिजिटल सार्वजनिक सेवा प्रवाह, पूर्वाधार निर्माण, निर्यात प्रवद्र्धन, उद्यमशीलता विकास, निजी क्षेत्र प्रवद्र्धनका विभिन्न कार्यक्रमको कार्यान्वयनको प्रगति अपेक्षाअनुसार भएन। वैदेशिक लगानीसँग सम्बन्धित बुँदाहरू भने अधिकांश कार्यान्वयनमा गएको देखिएको आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।
FACEBOOK COMMENTS