काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बेरोजगारी समस्याको दिगो समाधानका लागि श्रम बजारको मागअनुरूप युवा जनशक्तिको सीप र दक्षताको विकास गरिने बताएका छन् ।
सङ्घीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उनले रोजगारीको खोजीमा रहेका सीपयुक्त व्यक्तिको विवरण अद्यावधिक गरी श्रम बजारमा जोड्न रोजगार पोर्टल सञ्चालन गरिने जानकारी दिए ।
साथै, सरकारले निजी क्षेत्रका छाता सङ्गठनहरूसँगको सहकार्यमा सबै प्रदेशमा रोजगार मेला सञ्चालन गर्ने भएको छ ।
राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम सञ्चालनका लागि १ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरिएको पनि अर्थमन्त्री पौडेलले जनाए ।
‘बेरोजगारी समस्या दिगो रूपमा समाधान गर्न श्रम बजारको मागअनुरूप युवा जनशक्तिको सीप र दक्षताको विकास गरिनेछ । राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम सञ्चालनका लागि रु. १ अर्ब ९९ करोड विनियोजन गरिएको छ,’ उनले भने, ‘रोजगारीको खोजीमा रहेका सीपयुक्त व्यक्तिको विवरण अद्यावधिक गरी श्रम बजारमा जोड्न रोजगार पोर्टल सञ्चालन गरिनेछ । निजी क्षेत्रका छाता सङ्गठनहरूसँगको सहकार्यमा सबै प्रदेशमा रोजगार मेला सञ्चालन गरिनेछ ।’
FACEBOOK COMMENTS