काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रकाश ज्वालाले सरकारले ल्याएको बजेट मन्त्रीहरुको कब्जामा रहेको बताएका छन् । सोमबार बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिदै ज्वालाले बजेट झापा, रूपन्देही र काठमाडौंको निम्ति आएको र मन्त्रीहरूको एकलौटी कब्जामा परेको टिप्पणी गरेका छन् ।
बजेटले दुर्गमलाई नछोएको बताउँदै उपाध्यक्ष ज्वालाले मन्त्रीहरू र आफ्ना दलका कार्यकर्तालाई बाँडेको स्मरण गराएका छन् । उनले भने, ‘दुर्गमका अस्पतालमा लगानी छैन । यहाँ मन्त्रीहरूले आफ्ना कार्यकर्तालाई मनलाग्दी रकम बाढेको देखियो । अर्कातर्फ तीन करोडका योजना छनोट गर्ने योजना आयोगको निर्देशनलाई लत्याउने काम भएको छ । यो बजेटले समाजवाद दर्शन भुलेको छ । बाटो बिराएको छ ।’
साथै, सांसद ज्वालाले संसदमा प्रतिपक्षी दलद्वारा वेल घेराउ र नाराबाजीका विच संसद चलाउनु दुखद कुरा भएको बताउँदै नियमावलीअनुसार र हाम्रो संसदीय अभ्यासले पनि यस्तो अवस्थामा संसदको कारबाही चल्न नसक्ने बताए ।
उनले सहरी विकास मन्त्रालय लगायतको बजेट किताबको उदाहरण दिँदै बजेटलाई सरकारका मन्त्रीहरू र सत्तापक्षका नेताहरूले एकलौटी गरेको बताए ।
उनले भने, ‘बजेटमा ब्रह्मलुट मच्चाइएको छ । मन्त्री र नेताका बुवाआमाका नाममा, पार्टी र जनसङ्गठनका पार्टी कार्यालय बनाउन अरबौँ बजेट बाँडिएको छ । जबकि दुर्गम जिल्लाहरूमा स्वास्थ्य चौकी, खानेपानी, विद्यालय भवनजस्ता आधारभूत आवश्यकतामा बजेट नभएर जनता छट्पटाइरहेका छन् । कुनै प्रक्रिया पूरा नगरेका योजनाहरूमा मन्त्रीका आसेपासे, दलाल र बिचौलियाहरूले बजेटमा हालीमुहाली गरेका छन् । केन्द्रमा ३ करोडभन्दा माथिका योजना मात्र छनाेट गर्ने योजना आयोगको निर्देशिकालाई धज्जी उडाउँदै १ लाख, ५० हजार, १ हजारसम्मका योजनामा बजेट छरपस्ट गरिएको छ । बजेट बनाउँदा र वितरण गर्दा नै ठूलो भ्रष्टाचार र अनियमितता भएको छ । के देश भनेको झापा, रूपन्देही र काठमाडौं मात्र हो ? के यही हो बजेटमा सुशासन ? बजेट दुरुपयोगको योभन्दा नाङ्गो नमुना अरू के हुन सक्छ ? के यसरी नै आर्थिक अनुशासन कायम गर्न खोज्नुभएको छ अर्थमन्त्रीज्यू ? यस्तो जनविरोधी, मन्त्रीमुखी बजेटलाई कसरी समर्थन गर्न सकिन्छ ? यसमा हाम्रो घोर आपत्ति र विरोध छ ।’
FACEBOOK COMMENTS