काठमाडौं । आगामी आर्थिक वर्षको लागि सार्वजनिक गरिएको बजेटले सेयर बजारमा निराशा देखाएको छ ।
बजेटले पुँजी बजारलाई सम्बोधन गर्न नसक्दा बजेटपछिको दुई दिनमै नेप्सेमा ४३ अंकको गिरावट आएको हो ।
यो भन्दा अघि मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले सेयर बजारमा केही सुधार ल्याएको थियो । तर, बजेटले पुँजी बजारलाई सम्बोधननै नगरेपछि सेयर बजारमा निराशा छाएको हो ।
बजेट सार्वजनिक हुनु अगाडि नेप्से २११३.२५ विन्दुमा थियो । तर, बजेट पछिको दुई दिनमा नेप्से ४३.७२ अंकले घटेर २०७९.५३ अंकमा झरेको हो । बजार घट्नुमा कतिपयले आगामी आवको बजेटमा सेयर बजारबारे नीति नआउनुलाई मुख्य कारक तत्व मानेका छन् भने केही लगानीकर्ताले बजार करेक्सन भनेका छन् ।
बजेट सार्वजनिक हुनुअघि साताको पहिलो दिन आइतबार नेप्से २१०९.३५ अंक रहेको थियो । बजेटले पुँजी बजारलाई प्राथमिकता दिने अपेक्षाको कारण सोमबार नेप्से बढेर २११३.२५ अंकमा पुगेको थियो । यो भन्दा अघिको साता सेयर बजारको अन्तिम कारोबार हुँदा नेप्से २१३१.४९ अंकमा थियो । पुँजी बजार घट्नुमा छोटो अवधिमै नाफा कमाउने लगानीकर्ताको मनस्थिति मुख्य कारण रहेको अपेक्षा गरिएको छ ।
विगतका केही महिनादेखि नै सेयर बजार २२ सयको विन्दुमा पुग्न सकेको छैन । कहिलेकाहीँ बजार माथि जाला जस्तो देखिए पनि फेरि घट्न थाल्ने गरेको कारण कतिपयले अर्थतन्त्रको सुस्ततालाई कारण देखाएका छन् भने कतिपयले सरकारको नीतिगत समस्याका कारण बजार बढ्न नसकेको बताउँदै आएका छन् । यस्तो अवस्थामा मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले कर्जाको जोखिमभारमा सहजीकरण गरेपछि बजेटले पुँजी बजारलाई सम्बोधन गर्ने अधिकांश सेयर लगानीकर्ताको अनुमान थियो ।
बजेटले थप नराम्रो असर नगर्नु, ब्याजदर घटेर एकल अंकमा झर्नु, बैंक/वित्तीय संस्थाले कोर क्यापिटलको २० प्रतिशत सेयर बेच्न पाउने व्यवस्था लगायतका कारण सेयर बजारमा सहज परिस्थिति सृजना हुँदै गएको थियो । यीनै कुराहरूलाई हेरेर लगानीकर्ताले बजार बढ्ने अपेक्षा गरेकोमा बजेटमा सेयर बजार सम्बन्धी कुनै पनि नीति नआउँदा बजारमा निराशाा देखिएको हो । तर, बजेटले पुजी बजारलाई भन्दा पनि धितोपत्र बोर्ड, नेप्सेलगायत संस्थाहरूको सुदृढीकरण, प्रविधिमैत्री सेयर बजार जस्ता विषयलाई मात्रै सम्बोधन गरेको छ ।
पुँजी बजारको नियामकको रूपमा रहेको धितोपत्र बोर्डमा अहिलेसम्म अध्यक्ष नियुक्ति नहुँदा सेयर बजार सम्बन्धी नीतिगत कार्य प्रभावित भएको छ । यसले पनि सेयर बजारमा निराशाको अवस्था सिर्जना गर्न सहयोग पु¥याएको छ । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले सेयर बजारका लागि बजेट नराम्रो पनि नआएको र राम्रो पनि नआएको टिप्पणी गरेका छन् । अल्पकालीन लगानीकर्ताले ३६५ दिनभित्रको कारोबार गर्दाको ७.५ प्रतिशत लिएकोमा ५ प्रतिशत, दीर्घकालीन लगानीकर्ताले ३६५ दिनभन्दा बढी दिनको कर ५ प्रतिशत अग्रिम कर लिइएकोमा ३ प्रतिशत कायम गर्नुपर्ने माग लगानीकर्ताहरूले राखेका थिए । यसरी सङ्कलन गरिने अग्रिम करलाई संशोधन गरी अन्तिम कर कट्टी बनाइनुपर्ने लगानीकर्ताको माग थियो ।
यसले व्यक्तिगत तवरबाट हुने धितोपत्र कारोबारलाई प्रोत्साहित गर्न तथा कर कट्टी र अभिलेखीकरण कार्यलाई सरल बनाउन सहयोग गर्ने तथा लगानीकर्ताको मनोबल उच्च हुने भएकाले कारोबार रकम बढेर लाभकर समेत बढ्दा सरकारको राजस्व लक्ष्यमा सहयोग पुग्ने लगानीकर्ताको दाबी थियो । तर, आगामी आवको बजेटमा लगानीकर्ताले राखेको मागबारे कुनै सम्बोधन नहुँदा सेयर बजारतर्फ लगनीकर्तामा अन्योल देखिएको हो । छोटो अवधिका लगानीकर्ताले कुनै न कुनै बहनामा नाफा कमाउने बहानामा सेयर बिक्री गर्दा बजार करेक्सन भएको केही लगानीकर्ताको भनाइ छ ।
वैशाखमा पुँजीगत लाभकर घट्यो
धितोपत्र बजारबाट वैशाख महिनामा ३६ करोड रूपैयाँ पुँजीगत लाभकर सङ्कलन भएको छ । सीडीएस एण्ड क्लियरिङको तथ्यांकअनुसार वैशाखमा संकलित पुँजीगत लाभकर चैतको तुलनामा २४.९ प्रतिशत घटेको थियो । चैतमा ४८ करोड ३४ लाख सङ्कलन भएको थियो ।
वैशाखमा कुल ५४ अर्ब ९१ करोड रूपैयाँ बराबरको धितोपत्र दोस्रो बजारबाट कारोबार भएको छ । सो कारोबारका क्रममा लगानीकर्ताले नाफा लिएर बेचेको सेयरबाट ३६ करोड २७ लाख रूपैयाँ कर सङ्कलन भएको हो ।
बजारमा हुने सेयर करोबारबाट दीर्घकालीन लगानीकर्ताले ५ र अल्पकालीन कारोबारीले ७.५ प्रतिशत लाभकर तथा १ वर्षमा बढी अवधि सेयर होल्ड गरेर बेच्दा नाफा रकमबाट ५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था छ । वैशाखमा अल्पकालीन कारोबारीबाट १८ करोड ४३ लाख पुँजीगत लाभकर सङ्कलन भएको छ । यस्तै, दीर्घकालीन लगानीकर्ताबाट ११ करोड ४३ लाख सङ्कलन भएको छ । संस्थागत लगानीकर्ताबाट ६ करोड ४० लाख रूपैयाँ सङ्कलन भएको थियो ।
FACEBOOK COMMENTS