काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिना सरकारी बजेट खर्चभन्दा राजस्व सङ्कलन दोब्बर देखिएको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार गत साउन महिनामा ४० अर्ब २० करोड ७६ लाख रूपैयाँ बराबर बजेट खर्च हुँदा ९६ अर्ब ९५ करोड ७१ लाख रूपैयाँ बराबर राजस्व उठेको हो । चालु आवको पहिलो महिनाको सरकारी खर्च वार्षिक लक्ष्यको दुई दशमलव १६ प्रतिशत र आम्दानी छ दशमलव ५९ प्रतिशत बराबर हो ।
एक महिनामा चालुतर्फ १२ अर्ब ३८ करोड २२ लाख रूपैयाँ अर्थात् वार्षिक लक्ष्यको एक दशमलव ०९ प्रतिशत र पुँजीगततर्फ आठ अर्ब ५५ करोड ४८ लाख रूपैयाँ अर्थात् वार्षिक लक्ष्यको दुई दशमलव ४३ प्रतिशत बराबर छ ।
त्यस्तै पुँजीगततर्फ वार्षिक लक्ष्यको पाँच दशमलव २५ प्रतिशत अर्थात् १९ अर्ब २७ करोड छ लाख रूपैयाँ बराबर खर्च भएको छ ।
चालु आर्थिक वर्षका लागि सरकारले चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख रूपैयाँ, पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रूपैयाँ र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख रूपैयाँ बराबर विनियोजन गरेको छ ।
सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रूपैयाँ बराबर राजस्व उठाउने लक्ष्य लिएको छ । कर राजस्व १२ खर्ब ८४ अर्ब २० करोड रूपैयाँ, गैरकर राजस्व एक खर्ब ३५ अर्ब रूपैयाँ र वैदेशिक अनुदान ५२ अर्ब ३२ करोड ६५ लाख रूपैयाँ बराबर उठाउने लक्ष्य छ ।
चालु आर्थिक वर्षको पहिलो महिना सरकारले वैदेशिक अनुदान लिएको छैन । साउन महिनाको कुल सङ्कलित राजस्वमध्ये कर राजस्व ७७ अर्ब ४१ करोड २७ लाख रूपैयाँ र गैरकर राजस्व १७ अर्ब ३३ करोड रूपैयाँ छ ।
FACEBOOK COMMENTS