काठमाडौं । नेपालको हिमालय इन्टरनेशनल फुड र चीनको सांघाई फुडबीच भैंसीको मासु निर्यात गर्ने सम्झौता भएको छ ।
सोमबार साँझ राजधानीमा भएको एक कार्यक्रमका बीच दुई कम्पनीबीच सम्झौता भएको हो ।
भैंसीको संख्या बढाउन दुई वर्षदेखि नै हामिले तयारी गरिरहेको पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालले बताए ।
उनले भने, ‘अहिले हाम्रो चुनौती भनेको खोरेत रोगको हो । त्यसलाई निवारण गर्नका लागि विभाग लागिरहेको छ । आगामी केही वर्षभित्रै खोरेतमुक्त देशको घोषणा गर्छौं ।’
३० वटा पालिकामा भैंसी पाल्ने अभियान चलाइएको उनले बताए ।
आजको दिन नेपाल र चीनका लागि ऐतिहासिक दिन भएको नेपालका लागि चिनियाँ राजदूत चेन सोङले बताए । उनले भने, ‘भैंसीको मासु निर्यात गर्न पहिलेदेखि नै तयारी गरेको हो, अहिले आएर पूरा भयो, यो निकै उत्साहको दिन हो ।’
सम्झौतापत्रमा नवीन कुमार शर्मा र चोङ्खोइजुङले हस्ताक्षर गरेका हुन् ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मासुजन्य निर्यातका लागि आजको यो सम्झौता गेम चेन्चर भएको बताए। उनले भने, ‘दूध र मासुमा देश आत्मनिर्भरउन्मुख भइरहेको अवस्थामा चीनमा निर्यात हुने मासु निर्यातले ठूलो भूमिका खेल्छ, विदेश पलायन कम गराउँछ ।’
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले अहिलेको सम्झौताले रोजगार सिर्जना गर्ने बताए । उनले भने, ‘बधशालाको निर्माण, ढुवानीको योजना बनाएर अघि बढ्नुपर्छ, मासु पनि गुणस्तरीय दिनुपर्छ ।’
हालै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दुई सरकारबीच भैंसीको मासु चीन निर्यातसम्बन्धी प्रोटोकलमा समझदारी भएको थियो । वार्षिक दुई सय अमेरिकी डलर बराबरको व्यापार गरिने बताइएको छ ।
FACEBOOK COMMENTS