दोलखा । नेकपा एमाले बिगु गाउँपालिका कमिटीको दोस्रो अधिवेशनले समसामयिक र सार्वजनिक महत्वको १२ बुँदे प्रस्ताव पारित गरेको छ ।
नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् प्रतिनिधि सभा सदस्य ईश्वर बहादुर रिजाल (ईश्वरी) को प्रमुख आतिथ्यतामा बिगु–५ चिलंखामा शनिबार सम्पन्न अधिवेशनले चिलंखाका प्रवीण खड्काको नेतृत्वमा पाँच जना पदाधिकारीसहित ४५ सदस्यीय नयाँ कमिटी सर्वसम्मत निर्वाचित गर्दै सार्वजनिक महत्वको प्रस्ताव समेत पारित गरेको हो ।
‘कृषि, पशुपालन, जलविद्युत् र पर्यटन हाम्रो पहिचान : समृद्ध बिगु निर्माण एमालेको अभियान’ नाराका साथ पालिका अधिवेशनमा प्रस्तुत भएको प्रस्ताव पारित गरिएको पालिका अधिवेशन अध्यक्ष मण्डलका सदस्य तथा नेपाल उत्पीडित जातीय मुक्ति समाज बागमती प्रदेश कमिटी सदस्य एवम् नेकपा एमाले दोलखा जिल्ला कमिटी सदस्य रमेश लामिछानेले जानकारी दिए ।
अधिवेशनबाट पारित प्रस्तावको पहिलो बुँदामा दोलखा जिल्लाको नौ वटा स्थानीय तहहरूमध्ये बिगु गाउँपालिका प्राकृतिक स्रोतसाधन र धार्मिक तथा सांस्कृतिक सम्पदामा सबैभन्दा धनी पालिका भएकाले ती स्रोत र साधनको भरपुर सदुपयोग र प्रवर्द्धनबाट बिगुबासी जनताको जीवनस्तरमा सुधार ल्याउने र राज्यको अर्थतन्त्रमा समेत टेवा पुग्ने भएकाले प्रवर्द्धनात्मक कार्यक्रमहरू ल्याउन पालिका कमिटीले तीन वटै सरकारसँग माग गरिएको छ ।
पढ्नुहोस् प्रस्तावको पूर्ण विवरण–
‘कृषि, पशुपालन, जलविद्युत् र पर्यटन हाम्रो पहिचान : समृद्ध बिगु निर्माण एमालेको अभियान’
नेकपा एमाले बिगु गाउँपालिका कमिटी दोलखाको दोस्रो पालिका अधिवेशनमा प्रस्तुत गरिएको समसामयिक र सार्वजनिक महत्वको प्रस्ताव–२०८१/०१/२२१. दोलखा जिल्लाको ९ वटा स्थानीय तहहरूमध्ये बिगु गाउँपालिका प्राकृतिक स्रोत साधन र धार्मिक तथा सांस्कृतिक सम्पदामा सबैभन्दा धनी पालिका भएकाले यसको भरपुर सदुपयोग र प्रवर्द्धनबाट बिगुबासी जनताको जीवनस्तरमा सुधार ल्याउने र राज्यको अर्थतन्त्रमा टेवा पुग्ने कार्यक्रमहरू ल्याउन नेकपा एमाले बिगु गाउँपालिका कमिटी तीन वटै तहको सरकारसँग माग गर्दछ ।
२. बिगु गाउँपालिकाको सात वटा वडाहरूको केन्द्र भएर चल्ने ठिङसाङ–लामाबगर सडक खण्डअन्तर्गत वडा नम्बर २ ओराङस्थित ओराङ डाँडा र देउलाङ जोड्ने देउतासिङ खोलाको ट्रयाक जोडी यथासक्य चाँडोे ठिङसाङ–लामाबगर सडक निर्माण गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछ ।
३. बिगु गाउँपालिकाभित्र सञ्चालित जलविद्युत् आयोजनाहरूले वातावरणीय प्रभाव मुल्याङ्कन अनुसारको काम, सामाजिक दायित्व निर्वाह, प्रचलित ऐन कानुन अनुसार रोयल्टी उपलब्ध गराए वा नगराएको लगायतको अनुगमन गर्ने सरोकार समिति गठन गर्न बिगु गाउँपालिका कार्यालयसँग माग गर्दछ ।
४. बिगु गाउँपालिका कार्यालयको लेखा, योजना लगायतको कतिपय मत्वपूूर्ण शाखामा दरबन्दी अनुसारको आवश्यक कर्मचारी नभएकाले जनसरोकारको कामहरूमा ढिलासुस्ती र भुक्तानीको कामहरू ठप्प भएकाले अविलम्ब कर्मचारी व्यवस्था गर्न नेकमा एमाले बिगु गाउँपालिका कमिटी जोडदार माग गर्दछ ।
५. बिगु गाउँपालिकाको वडा नम्वर ६ र वडा नम्वर ८ मा निर्माणाधीन साँघु जलविद्युत् परियोजना तथा वडा नम्बर ८ खोपाचागुमा निर्माणाधीन कालिञ्चोक जलविद्युत् परियोजनाको काम अव्यवस्थित ढङ्गले सञ्चालन भइरहेकाले अत्यधिक धुलोको कणले त्यस क्षेत्रको मानव स्वाथ्यमा प्रतिकुल असर परिरहेको र वर्षा याममा समेत पहिरोको उच्च जोखिम हुने भएकाले त्यसको उचित व्यवस्थापन गर्न हाम्रो पार्टी सम्बन्धित पक्षको ध्यानाकर्षण गर्दछ ।
६. यस बिगु गाउँपालिकामा पर्ने नेपाल तिब्बत जोड्ने लामाबगरको फलाक नाका व्यवस्थित ढङ्गले अविलम्ब सञ्चालन गर्न नेपाल सरकारसँग माग गर्दछ ।
७. बिगु गाउँपालिकामा प्रधान कार्यालय रहेको गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको ऐन, नियमावली र कार्यविधि संघीय ढाँचाअनुरूप शंसोधन गरी सो अनुरूपको व्यवस्थापन समिति पुनर्गठन लगायतको काम अगाडि बढाउन नेकपा एमाले बिगु सम्बन्धित पक्षसँग माग गर्दछ ।
८. यस पालिकाको वडा नं. ६ मा पर्ने आलाम्पु र वडा नं. ५ को स्याँखु र दुम्सीलिङ ढुङ्गा खानीहरूलाई उद्योगअन्तर्गत दर्ता गरी सञ्चालन गर्ने कानुनको व्यवस्था गर्न र यस क्षेत्रको नागरिकहरूको अर्थोपार्जनमा वृद्धि गर्ने कार्य अगाडि बढाउन नेपाल सरकारसँग माग गर्दछ ।
९. यस बिगु गाउँपालिकामा पर्ने टासीछिमे गाछल (बिगु) गुम्बा, लप्ची गुम्बा, च्याङछ्युक मेन्दोक गुम्बालगायतका दर्जनौँ गुम्बाहरू, देवलिङ्गेश्वर महादेव, खोलाखर्क, चक्रेश्वरी जस्ता मन्दिरहरू, देउढुङ्गा, बौलाहा पोखरी, लुइँकेप पोखरी, छोकर पोखरी, साल्दुङपोखरी लगायतको लेकाली पोखरीहरू, हिमाल चढ्ने शोख हुनेहरूका लागि ६ हजार मिटर हाराहारीका छोपो बामरे, आमो बामरेलगायतको हिम चुचुराहरू, ऐतिहासिक युद्ध गढी थोवो डाँडा (१२ सय पल्टन समेत भनिने) भोर्ले झरना, लामाबगर उपत्यका आदि सम्पदाहरू रहेका छन् । माथिका सबै क्षेत्रलाइ समेटिने गरी तिर्थाटन र पर्यटन करीडोर निर्माणको लागि वृहत गरुयोजना निर्माण गर्न र काम अगाडि बढाउन यस क्षेत्रका सङ्घीय सांसद, प्रदेश सभा सांसद र स्थानीय जनप्रतिनिधिहरूमार्फत नेपाल सरकारसँग नेकपा एमाले बिगु जोडदार माग गर्दछ ।
१०. बिगु गापा वडा नम्बर ४ मा सञ्चालित ‘१० मिनेट श्रमदान हाम्रो अभियान–राष्ट्र निर्माणमा नागरिकको योगदान’ भन्ने श्रम संस्कृतिको अभियानलाइ यस पालिकाको सबै वडाहरूमा सञ्चालन गर्न आम बिगुबासी नागरिकहरूमा नेकपा एमाले आह्वान गर्दछ ।
११. यस बिगु गाउँपालिकाको वन क्षेत्र चौँरी, भेडा, बाख्रा लगायतको पशुपालनको लागि उपयुक्त भएकाले पकेट क्षेत्रको रूपमा विकास गर्न तीन वटै तहको सरकारसँग माग गर्दछ ।
१२. माध्यमिक तहका विद्यार्थीहरूका लागि बागमती प्रदेश सरकारले ल्याएको पढ्दै कमाउँदै कार्यक्रमलाई व्यवहारतः कार्यान्वयनका लागि आवश्यक योजना बनाउन बिगु गाउँपालिका कार्यालयसँग माग गर्दछ ।
FACEBOOK COMMENTS