काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय आपूर्ति तथा उपभोक्ता विभागले आर्थिक वर्ष २०८१-८२ को बजेटले उपभोक्ताको हितलाई बेवास्ता गरेको जनाएको छ ।
कांग्रेस केन्द्रीय सदस्य एवं आपूर्ति तथा उपभोक्ता विभाग प्रमुख गुरु बरालले आज विज्ञप्ति जारी गर्दै बजेटले उपभोक्ताको हितलाई सम्बोधन गर्न नसकेको उल्लेख गरे । “दैनिक उपभोग्य वस्तु चामल, चिनी, दाल, तेल, माछामासु, सागसब्जी तथा फलफूलमा अत्यधिक मूल्यवृद्धि भएको छ, यसका कारण आम उपभोक्ताको भान्छा अत्यन्त महङ्गो भएको छ”, प्रमुख बरालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
बजेटले भन्सार नीतिमा व्यापक परिवर्तन गर्दै आलु, प्याज तथा स्याउमा मूल्य अभिवृद्धि कर हटाएको देखाएर दाल, चामल, माछामासु, तेललगायतमा १० प्रतिशत भन्सार महसुल लिने र भन्सार विन्दुमा नै अग्रीम आयकर कट्टी गर्नेजस्ता नीति लागू गरेको प्रमुख बरालले आरोप लगाए ।
नेपालीहरूको भान्सा थप महङ्गिदै, मूल्यवृद्धिको दोष सरकारले लिने कि व्यवसायीले ? (भिडिओ)
“उपभोक्ताले दैनिक उपभोग गर्ने वस्तुमा विगतमा करिब शून्य भन्सार दर लागू भइरहेको वस्तुमा भन्सार महसुल लगाउने र अग्रीम आयकर दस्तुर लगाउने कामले उपभोग्य वस्तुको मूल्य अचाक्ली बढ्छ”, विज्ञप्तिमा उल्लेख छ ।
संविधानको मर्म र आमनागरिकको खाद्य वस्तु माथिको सहज पहुँचको हक अधिकार माथि नै कुण्ठित हुनेगरी दैनिक उपभोग्य वस्तुमा लगाइएको भन्सार महसुल दर र अग्रीम आयकर लिने व्यवस्था खारेज गर्न कांग्रेसले सरकारसँग माग गरेको छ ।
FACEBOOK COMMENTS