पर्सा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले नगरसभामा विवादकै बीच आर्थिक वर्ष २०८१-८२ का लागि दुई अर्ब १० करोड ५० लाखको बजेट ल्याएको छ ।
सोमबार भएको नगरसभाको १०औँ बैठकमा उपप्रमुख भोलाप्रसाद अधिकारीसहित सदस्यहरु विरोधमा उत्रिएपछि कार्यपालिका सदस्य रामप्रसाद लामिछानेले बजेट पेस गरे । चालु आवको बजेटभन्दा ५७ करोड तीन लाख घटाएर बजेट ल्याइएको हो ।
उपप्रमुख भोलाप्रसाद अधिकारीले नगरसभाबाट कानुनी प्रक्रियाअनुसार नीति तथा कार्यक्रम र बजेट पारित नभएको दाबी गरे । ‘‘कार्यपालिकाको बोर्ड बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुनुपर्ने थियो । वडागत बजेटको सिलिङ पारित हुनुपर्ने, बजेटको आकार र प्रकारमा छलफल हुनुपर्ने थियो”, उनले भने ।
नगरप्रमुख राजन पौडलले भने नीति तथा कार्यक्रम र बजेट पास भइसकेको दाबी गरे । “केही पनि विवाद भएको छैन । पहिलादेखि नै प्रक्रियामा थियो । उहाँहरु सहभागी भइरहनुभएको थिएन । आज नगरसभा सम्पन्न भएको छ । उहाँहरुले आज तोडफोड गर्नुभयो । नगरसभाबाट नीति तथा कार्यक्रम र बजेट पास भइसक्यो ।”
कार्यपालिका सदस्य तथा वडा नम्बर १५ का अध्यक्ष रामप्रसाद लामिछानेले आगामी आवको बजेटमा ससर्त अनुदान सङ्घ र प्रदेश सरकारबाट ६३ करोड ४८ लाख आय हुने अनुमान गरिएको बताए ।
त्यस्तै सङ्घीय प्रदेश स्थानीय सरकारबाट प्राप्त अनुदानतर्फ एक अर्ब चार करोड आठ लाख चार हजार आय हुने अनुमान छ । मालपोत रजिष्टेशन, विज्ञापन कर, ढुङ्गा गिट्टी बालुवासहित राजस्व बाँडफाँट सङ्घ र प्रदेशबाटसहित ३७ करोड ९३ लाख ३५ हजार आय अनुमान गरिएको छ भने आन्तरिक राजस्व बैंक मौज्दातसहित ६७ करोड ९८ लाख ५० हजार आय हुने बजेट वक्तयमा उल्लेख गरिएको छ ।
चालु आवमा दुई अर्ब ६७ करोड ५३ लाख बजेट विनियोजन गरिएको थियो । सोमध्ये चालुतर्फ रु एक अर्ब २४ करोड ५५ हजार को ६२ दशमलव ५३ प्रतिशत खर्च भएको छ । त्यस्तै पुँजीगत खर्चतर्फ रु एक अर्ब ४३ करोड ५२ लाख ४४ हजार विनियोजन भएकोमा २७ दशमलव २२ प्रतिशत अर्थात ३९ करोड ६ लाख ७२ हजार खर्च बजेट वक्तब्यमा उल्लेख छ ।
FACEBOOK COMMENTS