काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोली सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गर्दैछन् ।
गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा करिब दुई तिहाइ जनमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले पहिलो पटक बजेट ल्याउन लागेको हो ।
आगामी आवको बजेट निर्माण गरिरहेको सरकारले निर्वाचनको समयमा ल्याएको वाचापत्र, सरकार गठन भएपछि सार्वजनिक भएको शासकीय सुधारका १०० बुँदे कार्ययोजना र सदनमा प्रस्तुत विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तलाई आधार बनाएर बजेट निर्माण भइरहेको बताइएको छ ।
नयाँ संविधान जारी भएपछि हरेक वर्ष जेठ १५ गते नै बजेट प्रस्तुत हुँदै आएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अपराह्न ४ बजे सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।
यसपटकको बजेटलाई बढी व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने उद्देश्य राखिएको छ । राष्ट्रिय योजना आयोगले आगामी आवका लागि १८ खर्ब ९० अर्ब बराबरको बजेट सिलिङ तय गरेको थियो । सरोकारवाला निकायको सुझावलाई बजेटमा यथेष्ट स्थान दिइएको बताइएको छ ।
