धादिङ । माघे सङ्क्रान्तिको अवसर पारेर धादिङको नीलकण्ठ नगरपालिका–१४ धुवाँकोटस्थित भङ्गेरीमा गोरु जुधाई र कृषि तथा हस्तकला प्रदर्शनीको आयोजना गरिएको छ ।
नीलकण्ठ नगरपालिकाको सहयोगमा संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धन केन्द्र धुवाँकोटले मेलाको आयोजना गरेको हो । परम्परादेखिनै गोरु जुधाउँदै आएको धुवाँकोटको भङ्गेरीमा यस वर्ष १७ हल गोरु जुधाइने केन्द्रका अध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए ।
“धुवाँकोटमा पहिलादेखिनै गोरु जुधाइने गरिएको थियो, केही वर्ष रोकिएको गोरु जुधाईलाई २०७१ सालदेखि व्यवस्थितरुपमा आयोजना गर्दै आएका छौँ”, उनले भने । धुवाँकोट ऐतिहासिक महत्वका नौमध्ये एउटा महत्वपूर्ण कोट हो । विशेष गरी धुवाँकोटमा पर्यटन प्रवद्र्धन तथा स्थानीय उत्पादनको प्रवद्र्धनमा मद्दत पुग्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको केन्द्रका सदस्य सुमन अधिकारीले बताए ।
गोरु जुधाउन उमेर, आकार र क्षमता हेरेर चार समूहमा विभाजन गरिएको अधिकारीले बताए । पहिलो समूहमा तीन हल गोरु, दोस्रो समूहमा छ हल तथा तेस्रो र चौथो समूहमा चार÷चार हल गोरु रहेका छन् । पहिलो समूहको विजेता गोरुको धनीले १२ हजार, उपविजेता गोरुको धनीले १० हजार, दोस्रो समूह विजेता र उपविजेताले क्रमशः १० हजार र आठ हजार तथा तेस्रो समूहले आठ हजार र रु छ हजार पाउने छन् । त्यस्तै चौथो समूहको विजेता गोरुको धनीले चार हजार र उपविजेता गोरुको धनीले दुई हजार पुरस्कार प्राप्त गर्ने छन् ।
गोरु जुधाइने स्थान नीलकण्ठ नगरपालिका–१४ धुवाँकोट भङ्गेरी धादिङबेँसीबाट १२ किलोमिटरको दूरीमा पर्छ । गोरुलाई माघे सङ्क्रान्तिमा जुधाएर मनोरञ्जन लिने चलन धादिङ, नुवाकोट र रसुवामा पाइन्छ । बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंहको मावली गाउँ तारुका आउँदा भान्जालाई देखाउनको लागि सुरु गरिएको गोरु जुधाउने परम्परा पछिल्ला वर्षमा धादिङमा पनि सुरु भएको छ ।
FACEBOOK COMMENTS