म्याग्दी । भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका–५ को मलम्पारमा आइतबार पहिलो पटक बस पुगेको छ ।
धवलागिरि–६ को मराङ–राम्चे, बुल हुँदै मलम्पारसम्म जोडिएको सडकमा बस सञ्चालन हुन थालेको हो । यात्रु लिएर पहिलो पटक गाउँमा पुगेको ध१ख ११७ नंको बस र चालक श्रीप्रसाद पुनलाई मलम्पारवासीले फूलमाला लगाएर स्वागत गरेका छन् ।
गाउँमा पहिलो पटक बस आएपछि मलम्पारवासीले खुसियाली मनाएका छन् । धवलागिरि गाउँपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा बुल, मलम्पार हुँदै वडा नं ५ को केन्द्र मल्कवाङ सडक सञ्जालमा जोडिएको छ ।
गत वर्ष मराङ हुँदै बुल र मल्कवाङदेखि दैडाडामा पुगेको सडकलाई यसपालि जोडेर वडा नं ५ र ६ को चक्रपथ बनाइएको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले बताए ।
“मलम्पारबाट सडकलाई वडा नं ६ को बुल जोडेर चक्रपथ बनाइएको छ”, उनले भने, “मल्कवाङ–मलम्पार सडक निर्माणका लागि चालु आर्थिक वर्षमा गाउँपालिकाले २५ लाख र प्रदेश सरकारबाट १० लाख बजेट विनियोजन भएको थियो ।” यसपालिको बजेटबाट पाँच किलोमिटर नयाँ मार्ग निर्माण भएको छ ।
सडक सञ्जालले जोडिएपछि दुर्गम बस्ती मलम्पारदेखि वडा कार्यालय रहेको मल्कबाङसम्मको करिब एक घण्टा ३० मिनेटको बाटो २० मिनेटमै छोटिएको छ । मलम्पारका एक सय ५० घरधुरी यो सडकबाट लाभान्वित भएको वडाध्यक्ष अमर छन्त्यालले बताए ।
मलम्पारका बासिन्दालाई दैनिक उपभोग्य वस्तुको ढुवानी गर्न, सदरमुकाम, वडा कार्यालय र गाउँपालिका कार्यालय पुग्न सहज भएको छ । मलम्पारमा उत्पादन हुने आलु, सिमी, जडीबुटी र भेडाबाख्रा निकासी गर्न सहज भएको छ ।
FACEBOOK COMMENTS