काठमाडौँ । सार्वजनिक यातायातका समितिहरूका नाममा रहेको चल अचल सम्पत्ति तत्कालीन समितिका पदाधिकारीले कम्पनी खडा गरी सीमित व्यक्तिको अधीनमा ल्याएका छन्। पाँच वर्षअघिको त्यस्तो काम अहिले थाहा पाएर यातायात व्यवसायीले खोजी गर्न थालेका छन्।
सार्वजनिक यातायातका सिन्डिकेट पाँच वर्षअघि हटाउँदा सरकारले समितिहरूलाई कम्पनीमा रूपान्तरण गर्ने विकल्प दिएको थियो। त्यसैको सुविधा उपयोग गर्दै समितिका पदाधिकारीले सदस्यहरूलाई थाहै नदिई सम्पूर्ण चल अचल सम्पत्ति पदाधिकारीका नाममा दर्ता गराएको गुनासो व्यवसायी सदस्यहरूको छ।
तत्कालीन यातायात सेवा समितिमा एक गाडी एक मताधिकार हुन्थ्यो। अनि समितिको चल अचल सम्पत्तिमा पनि सबै व्यवसायीको समान हक लाग्थ्यो। सयौँ व्यवसायीले दुःख-कष्ट सहेर जोडेको सम्पत्तिमाथि केही व्यक्तिको मात्रै भोगाधिकार रहेकोबारे व्यवसायीले पाँच वर्षपछि मात्रै जानकारी पाएको बताएका छन्।
सेवा समितिलाई यातायात कम्पनीमा रूपान्तरण गर्दा तत्कालीन पदाधिकारीकै नाममा साबिकको सम्पत्ति स्थानान्तरण गरेर कम्पनी दर्ता भएका छन्। कोटेश्वर पूर्व जाने करिब एक दर्जन यातायात सेवा समिति कम्पनीमा रूपान्तरण हुँदा १० जनाभन्दा कम सदस्य राखिएको छ। काठमाडौँको कोटेश्वर पूर्व चल्ने तत्कालीन काभ्रे मिनिबस सेवा समितिका १८० वटा गाडी अहिले पनि नियमित सञ्चालनमा छन्।
काभ्रे पुण्यमति सेवा प्रालिका नाममा रूपान्तरित काभ्रे मिनिबस सेवा समितिका नाममा रहेको चल अचल सम्पत्ति तत्कालीन पदाधिकारी तथा अन्य सदस्य नौ जनाको नाममा सरेको छ । त्यस्तै तत्कालीन काभ्रे बस सेवा समितिले कम्पनीमा रूपान्तरण गर्दा पाँच जनाको नाममा मात्रै कम्पनी दर्ता गरेको छ। सो कम्पनीका १८० भन्दा धेरै बस सञ्चालनमा छन्।
काठमाडौँदेखि सिन्धुपाल्चोकसम्म यातायात सेवा दिने हेलम्बु यातायात सेवा समितिले १० जना सञ्चालक राखेर कम्पनी दर्ता गरेको छ। सो कम्पनीमा ७० वटा बस र अरनिको राजमार्गको बनेपाखण्डमा आफ्नै भवन छ।
हिमाल तराई यातायात समितिले पनि नौ जनाको नाममा मात्रै कम्पनी दर्ता गरेको छ। नेपाल यातायात व्यवसायी महासङ्घमा आबद्ध भएका २९१ समितिमध्ये १२५ वटा कम्पनीमा गएर आफ्नो बैङ्क रोक्का फुकुवा गराएको कार्यालय सचिव रमेश महराले जानकारी दिए । कम्पनी दर्ता भएको लामो समयपछि मात्रै व्यवसायीले वास्तविकता थाहा पाएर विरोध गर्न थालेपछि समितिका पदाधिकारीले कम्पनीको सेयरबारे दसैँसम्म केही कुरा बाहिर नल्याउनू भन्ने आश्वासन दिन थालेको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS