काठमाडौं । विश्व डिजिटाइजेसनको युगमा अघि बढ्दै गर्दा नेपाल भने उही पुरानै ढुंगे युगमै रमाउन चाहिरहेको जस्तो भान हुन्छ ।
निजी क्षेत्रको पहल र नागरिकमा आएको प्रविधिप्रतिको चेतनाका कारण केही क्षेत्रमा प्रविधिको प्रयोग भए पनि राज्य स्तरबाट प्रविधिमार्फत लिन सकिने जति लाभ लिन सकेको पाइँदैन ।
धेरै क्षेत्रमा प्रविधिको विकास भएको देखिए पनि बसपार्कमा गएर घन्टौँ लाइन बसेर टिकट काट्नुपर्ने बाध्यता अझै हटेको छैन । हवाई टिकटमा डिजिटाइजेसन भइसक्यो, धेरै सरकारी कामहरू घरबाटै मोबाइल वा कम्प्युटरको सहायताले गर्न सकिन्छ । बैंकमा खाता खोल्नसमेत बैंक धाउनुपर्ने बाध्यता छैन । रकमको कारोबारका लागि छिनभरमै हातको मोबाइलले काम फत्ते गरिदिन्छ ।
तर, सार्वजनिक बसमा यात्रा गर्नुपूर्व भने तातो घाम, झरी वा कठ्यांग्रिँदो चिसोमा लाइन बसेर टिकट काट्नुपर्ने बाध्यता कायमै छ । यो बाध्यता अन्त्य गर्न सरकारले कदम नै नचालेको भने होइन । २०७७
सालमै सार्वजनिक सवारीसाधनलाई व्यवस्थित गर्ने भन्दै तत्कालीन भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वसन्तकुमार नेम्वाङले अनलाइन टिकेटिङ सिस्टमको उद्घाटन गर्दै अनलाइन टिकेटिङ मोनिटरिङ सिस्टम (ओटिएमएस) लागू भएको घोषणा गरेका थिए ।
उनले यातायात सुविधामा नागरिकको सरल, सहज र समान पहुँच सुनिश्चित गर्दै यातायात क्षेत्रमा लगानी अभिवृद्धि गर्ने र यातायात क्षेत्रलाई सुरक्षित, व्यवस्थित र अपांगता भएका व्यक्ति अनुकूल बनाउने नीतिअनुसार यातायात सेवाको नियमनका लागि ओटिएमएस लागू गरिएको बताएका थिए ।
तर, उनले सेवा सुरु गरेको ४ वर्ष बितिसक्दा पनि ओटिएमएस लागू हुन सकेको छैन । भिड व्यवस्थापन गर्न र सार्वजनिक यातायातको टिकट खरिदलाई पारदर्शी बनाउन पनि प्रविधिको प्रयोग अनिवार्य भएको गोगंबुस्थित बसपार्कमा टिकट काट्न पालो पर्खिरहेका रमेश भट्ट बताउँछन् ।
सबै सार्वजनिक गाडीको टिकट अनलाइनबाटै काट्ने सिस्टम लागू भए व्यवसायीले तोकेभन्दा बढी भाडा लिएर यात्रु ठग्ने प्रवृत्तिको पनि अन्त्य हुने उनको भनाइ छ ।
त्यतिमात्र नभई, सबै यातायात व्यवसायी अनलाइन सिस्टममा आबद्ध भएको खण्डमा काठमाडौँ उपत्यकाबाट कति यात्रु बाहिरिए र कति भित्रिए, आर्थिक कारोबार कति भयो, स्पष्ट तथ्यांक आउने भएकाले पनि अनलाइन सिस्टम महत्वपूर्ण रहेको उनको भनाइ छ ।
यता, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले केही वर्ष अघिबाटै लामो दूरीका सार्वजनिक सवारीका टिकट अनलाइनबाट काट्ने भने पनि यसको कार्यान्यवन हुन सकेको छैन । अहिले भने यसको तयारीको जिम्मा सबै प्रदेश तहहरूलाई नै दिइएको मन्त्रालयकी सूचना अधिकारी शुभा श्रेष्ठले बताइन् ।
डिजिटल सेवामा बससेवाको फट्को
२०६९ सालबाट औपचारिक रूपमा सञ्चालनमा आएको बससेवाले यातायात क्षेत्रलाई डिजिटाइज्ड गर्न नेतृत्वदायी भूमिका खेलिरहेको छ ।
राज्यले ४–५ वर्ष अघिदेखि नै कार्यान्वयनमा ल्याउने भने पनि कार्यान्वयन गर्न नसकेको अनलाइन टिकेटिङ सिस्टम बससेवाले भने नियमित रुपमा सञ्चालन गरिरहेको छ ।
टिकट काट्नकै लागि लाइन बस्नुपर्ने अवस्था कायम नरहोस् भन्ने उद्देश्यका साथ सेवा दिँदै आएको बससेवाले एक क्लिकमै मोबाइलमा टिकट उपलब्ध गराउँदै आएको छ । यसबाट टिकट काट्नकै लागि काउन्टरसम्म पुग्नुनपर्ने अवस्थाको अन्त्य हुँदै गएको बससेवाले जनाएको छ ।
देशका जुनसुकै स्थानबाट कुनै पनि गन्तव्यसम्म छुट्ने गाडीको टिकट काट्न सकिने हुँदा यसको प्रयोगबाट यात्रुहरु लाभान्वित भइरहेको बससेवाले जनाएको छ । टिकट खरिदबिक्री प्रक्रियामा बिचौलियालाई प्रवेश नदिन र यात्रुलाई सहजता प्रदान गर्न अनलाइन टिकेटिङ प्रणाली लागू गरिएको बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले बताए ।
कोरोना महामारीपछि बससेवाको अनलाइन प्लेटफर्मबाट टिकट लिनेहरूको संख्या बढ्दै गएको उनले बताए । यात्रुहरु काउन्टरसम्म जाँदा लाग्ने समय र पैसा दुवैको बचत हुने भएकाले अहिलेको युगमा अनलाइन टिकेटिङ निकै महत्वपूर्ण हुने उनको भनाइ छ ।
देश आधुनिकतातर्फ गइरहेको र मानिसहरूले प्रविधिको प्रयोग बढाइरहेको अवस्थामा घन्टौँ लाइन बसेर टिकट काट्नुपर्ने बाध्यता अन्त्य गर्न आफूहरूले यस्तो प्रविधि भित्र्याएको उनको भनाइ छ ।
बससेवा नेपालको पहिलो अनलाइन बस टिकट बिक्री गर्ने निजी क्षेत्रको कम्पनी हो । बससेवा टुर्स एन्ड ट्राभल्स् अन्तर्गत रहेर बससेवा डटकमले नेपालभरका अधिकांश रूटमा सेवा प्रदान गर्दै आएको छ ।
साथै, बससेवाले भारतका नयाँ दिल्ली, बोधगया, मुजफ्फरपुरलगायत सहरमा समेत अनलाइन टिकट बुकिङ सेवा प्रदान गर्दै आएको छ ।
कसरी काट्ने बससेवाबाट टिकट ?
बससेवाको मोबाइल एप
मोबाइल एप ‘बससेवा’मार्फत टिकट काट्न एन्ड्रोइड मोबाइलमा गुगल प्ले र आइफोन प्रयोगकर्ताले एपस्टोरमा गई बससेवाको एप डाउनलोड गर्नुपर्ने हुन्छ । डाउनलोड भएको एप खोलेर प्रयोगकर्ताको नाम र पासवर्डमार्फत लगइन गर्नुपर्ने हुन्छ । पहिले बससेवाको खाता नभएकाले नयाँ खाता खोली लगइन गर्नुपर्ने हुन्छ ।
त्यसपछि, यात्रुले आफ्नो गन्तव्य, यात्रा मिति र समय छनोट गरी आफूलाई मन परेको बस र सिटको टिकट बुकिङ गर्न सक्छन् । एप्लिकेसनले यात्रुलाई आफ्नो यात्राको विवरण, टिकट मूल्य र अन्य जानकारीसमेत देखाउँछ ।
एकपटक टिकट चयन गरेपछि यात्रुले डिजिटल भुक्तानी गरेर टिकट काट्न सक्छन् । मोबाइलबाट प्राप्त भएको टिकट नै बसमा देखाएर यात्रा गर्न सकिन्छ । टिकट काटेको सुनिश्चित भएको एसएमएस पनि देखाउन सकिन्छ ।
बेव पोर्टल
कुनै पनि ब्राउजरमा बससेवा डटकममा जानुपर्ने हुन्छ । सहजताका लागि बससेवा मात्र सर्च गरी उपलब्ध नतिजाहरूमा बससेवाको आधिकारिक वेबसाइटमा क्लिक गरेर पनि बससेवाको पोर्टलमा पुग्न सकिन्छ ।
बससेवाको होमपेजमा नै गन्तव्यहरूको विवरण भर्ने विकल्प देखिन्छ । कहिलेका लागि कुन ठाउँबाट गाडी चढ्ने र कहाँ पुग्ने भनेर माग गरिएका विवरण भरेपछि सर्च बटनमा क्लिक गरेपछि कुन–कुन बस उपलब्ध छन्, भाडा कति लाग्छ ? बस कस्तो हो ? कुन कम्पनी वा सेवाप्रदायक हो भनेर सूची देख्न सकिन्छ ।
बसको सुविधा र भाडा दर हेरेर गाडी छनोट गरेपछि सिट छान्न सोही बसको नाममा क्लिक गरेपछि बसको सिट प्लान देखिन्छ । जसमा खैरो रङको सिटले बुक भइसकेको र हरियो रङले खाली सिट रहेको संकेत गरेको हुन्छ ।
हरियो रङ लागेकोमध्येबाट आफूलाई पायक पर्ने सिट छानेर फेसबुक वा इमेल लगइन गरेपछि ओटिपी कोड आउँछ । उक्त ओटिपी कोडलाई बससेवाको पोर्टलमा राखेपछि टिकटको रकम भुक्तानी गर्ने विकल्प देखिन्छ । त्यहाँ आफ्नो नाम, फोन नम्बर, इमेललगायत मागिएका विवरण भरिसकेपछि रकम भुक्तानीका लागि विभिन्न विकल्पमा जान सकिन्छ ।
कुनै एक विकल्पबाट टिकटको शुल्क भुक्तानी गरेपछि टिकट बुक हुन्छ । बससेवाले एसएमएसबाट पनि टिकट सुनिश्चित भएको जानकारी गराउँछ
FACEBOOK COMMENTS