पोखरा मंसिर २,उद्योगी, व्यवसायीको छाता संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन् । उपाध्यक्ष अर्जुन पोखरेलले पनि सोही पदमा उम्मेदवारी घोषणा गरेका छन् । दुवै जनाले कास्की क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिन लागेका हुन् ।
संघका महासचिव सुरेन्द्र बिजुक्छे नेपाली कांग्रेस महानगर समिति सभापति छन् । असोज ९ गतेको अधिवेशनबाट उनी सभापति निर्वाचित भएका हुन् । त्यसअघि पनि उनी कांग्रेसको नगर उपसभापति थिए भने संघमा कोषाध्यक्ष थिए ।
संघका उपमहासचिव केशबहादुर खत्रीले कांग्रेसको प्रदेश अधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन् । कोषाध्यक्ष बलराम आचार्य क्षेत्रीय प्रतिनिधि निर्वाचित भइसकेका छन् । जिल्लासम्मका अधिवेशनका लागि उनी मतदाता हुन्छन्, महाधिवेशन प्रतिनिधि चुन्न पनि मतदाता हुन्छन् । संघकी सदस्य कुमारी मुना बास्तोलाले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा महिलातर्फ उम्मेदवारी घोषणा गरेकी छन् । त्यसो त पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पोखरा महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष रवीन्द्रबहादुर प्रजु उम्मेदवार बनेका थिए ।
FACEBOOK COMMENTS