काठमाडौं । हाल आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघि नेपाल भित्रिएका तथा भन्सार जाँचपास भएका विद्युतीय सवारी साधन सम्बन्धमा विभिन्न सञ्चार माध्यम तथा सार्वजनिक वृत्तमा भएका चासोप्रति साइमेक्स इंकको ध्यानाकर्षण भएको छ ।
नेपालमा बीवाईडीका सवारीसाधनको आधिकारिक वितरकका रूपमा साइमेक्स इंक यस विषयमा विभिन्न तथ्यहरु स्पष्ट पार्दै कानुनको पालना, पारदर्शिता तथा नैतिक व्यावसायिक अभ्यासप्रतिको आफ्नो अटल प्रतिबद्धता पुन: व्यक्त गरेको हो ।
यसका अतिरिक्त, २२६ वटा सवारीसाधन चीनतर्फको भन्सार क्षेत्रमा आइपुगेका भए पनि हालसम्म भन्सार जाँचपास प्रक्रिया सम्पन्न भएको छैन।
हाल विभिन्न सञ्चारमाध्यममा उल्लेख गरिएका सवारीसाधनहरू नेपाल सरकारका प्रचलित कानुन, भन्सारसम्बन्धी नियमावली तथा प्रक्रियाअनुसार पूर्ण रूपमा आयात तथा जाँचपास गरिएका हुन्।
साइमेक्स इंकले कुनै पनि चरणमा विशेष सुविधा, प्राथमिकता प्राप्त प्रक्रिया वा अनधिकृत भन्सार व्यवस्थाबाट लाभ लिएको छैन, न त त्यस्तो कुनै व्यवस्थाका लागि अनुरोध गरेको वा प्राप्त गरेको जनाएको छ।

ग्राहकबाट पहिले नै बुकिङ सुनिश्चित भइसकेका कारण ती बुकिङ पुरा गर्न तथा नेपालमा विद्युतीय सवारीसाधनको बढ्दो माग सम्बोधन गर्न यी सवारी साधन आयात गरिएका हुन्।

यी सम्पूर्ण आयात कार्यहरू बीवाईडीको उत्पादन तालिका, ढुवानी उपलब्धता, नियमित व्यावसायिक योजना, तथा यातायात र ढुवानी व्यवस्थापनसम्बन्धी चुनौतीहरूलाई ध्यानमा राखेर सम्पन्न गरिएका हुन्। सम्पूर्ण आयात तथा भन्सार प्रक्रिया नेपालका प्रचलित कानुन तथा नियामकीय व्यवस्थाअनुसार नै सम्पन्न गरिएको हो।

साइमेक्स इंकले सरकारी निकायसँग समन्वय गरी कर परिवर्तनबाट बच्न खोजेको वा कुनै अनुचित लाभ लिएको भन्ने आरोप पूर्णत: निराधार, असत्य तथा कम्पनीको प्रतिष्ठामा आघात पुर्याउने खालका हुन् ।
साइमेक्स इंकको आयातसम्बन्धी सम्पूर्ण गतिविधिहरू नियमित व्यावसायिक आवश्यकता, मौज्दात व्यवस्थापन, ढुवानी तालिका तथा प्रचलित कानुनका आधारमा योजना बनाई सञ्चालन गरिन्छन्।
साइमेक्स इंक कुनै पनि वैधानिक अनुसन्धान वा छानबिनलाई स्वागत गर्दछ र सत्यतथ्य स्थापित गर्न आवश्यक सम्पूर्ण कागजातहरू— आयात सम्बन्धी रेकर्ड, भन्सार घोषणा विवरण, ढुवानी अभिलेख, सीमा प्रवेशसम्बन्धी कागजात, भुक्तानी विवरण तथा जाँचपास स्वीकृतिसम्बन्धी दस्तावेजहरू—सम्बन्धित निकायलाई उपलब्ध गराउन पूर्ण रूपमा तयार रहेको जानकारी गराएको छ।
जिम्मेवारीपूर्ण समाचार सम्प्रेषणका लागि अनुरोध
सञ्चारमाध्यम तथा सरोकारवाला सबै पक्षलाई आधिकारिक अभिलेख तथा सम्बन्धित निकायबाट तथ्य पुष्टि नगरी निष्कर्षमा नपुग्न तथा सार्वजनिक भ्रम सिर्जना गर्ने वा वैधानिक रूपमा सञ्चालन भइरहेका व्यवसायहरूको प्रतिष्ठामा अनुचित क्षति पुर्याउने खालका आरोप वा सामग्री प्रकाशन नगर्न साइमेक्स इंकले अनुरोध गरेको छ।
नेपालको वातावरणीय लक्ष्य प्राप्ति, इन्धन आयातमा कमी तथा दिगो यातायातको पहुँच विस्तार गर्न इलेक्ट्रिक मोबिलिटी सेक्टरले महत्वपूर्ण योगदान पु(याउँदै आएको छ। यस क्षेत्रमा सार्वजनिक विश्वास कायम राख्न तथ्यमा आधारित समाचार सम्प्रेषण तथा जिम्मेवारीपूर्ण सार्वजनिक बहस आवश्यक छ।
नेपालप्रतिको प्रतिबद्धता
साइमेक्स इंकले विगत धेरै वर्षदेखि नेपालको अटोमोटिभ तथा क्लिन इनर्जी रूपान्तरणको यात्रामा विश्वासिलो साझेदारका रूपमा योगदान दिँदै आएको छ। इमान्दारिता, कानुनको पालना, पारदर्शिता तथा जवाफदेहिताका साथ नेपाली उपभोक्ताको सेवा गर्न निरन्तर प्रतिबद्ध रहेको जनाएको छ ।
सम्बन्धित निकायहरूद्वारा भइरहेको अध्ययन तथा समीक्षा प्रक्रियाले यस विषयमा स्पष्टता ल्याउने र हाल सार्वजनिक रूपमा फैलाइएका भ्रम तथा गलत सूचनाहरूको अन्त्य गर्नेमा साइमेक्स इंकले विश्वास व्यक्त गरेको छ ।