काठमाडौं । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक.प्रा.लि.ले विद्यमान ग्राहकलाई लक्षित गर्दै देशव्यापी ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु गरेको छ।
ग्राहकलाई बिक्रीपछिको सेवा, स्मार्ट कनेक्टिभिटी तथा स्वामित्व सुरक्षालाई एकीकृत रूपमा उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको अभियान देशभरका १३ वटा बीवाईडी सर्भिस सेन्टरमा एकसाथ लागू भएको कम्पनीले जनाएको छ।
साइमेक्स केयर (बीवाईडी सर्भिस सेन्टर, गुहेश्वरी) मा आयोजित कार्यक्रममा अभियानको औपचारिक शुभारम्भ गरिएको हो। कम्पनीका अनुसार अभियानअन्तर्गत ‘केयर प्लस’, ‘कनेक्ट प्लस’ र ‘प्रोटेक्ट प्लस’ गरी तीनवटा मुख्य पक्षलाई समेटिएको छ।
‘केयर प्लस’अन्तर्गत ग्राहकले आधिकारिक बीवाईडी सर्भिस नेटवर्कमार्फत सवारीको विस्तृत निरीक्षण, जेन्युइन स्पेयर पार्ट्स, प्रोफेसनल डायग्नोस्टिक सेवा तथा प्रमाणित प्राविधिकबाट मर्मतसम्भार सेवा प्राप्त गर्नेछन्।
त्यस्तै, ‘कनेक्ट प्लस’मार्फत सिम एक्टिभेसन, बीवाईडी एप एक्टिभेसन, कनेक्टेड भेइकल फिचर तथा इन्फोटेनमेन्ट कनेक्टिभिटी सुविधा उपलब्ध गराइनेछ। यी सेवाका लागि बीवाईडी नेपालको आईओटी साझेदार एनसेलले सहकार्य गर्नेछ। ‘प्रोटेक्ट प्लस’अन्तर्गत बीमा परामर्श, बीमा नवीकरणमा सहजीकरण, योग्य सवारीका लागि विस्तारित वारेन्टी तथा दुर्घटना भएमा नगदरहित सेवा र बीमा दाबी प्रक्रियामा समन्वय गरिने कम्पनीले जनाएको छ। यसका लागि शिखर इन्स्योरेन्स र हिमालयन एभरेस्ट इन्स्योरेन्सले सहकार्य गर्नेछन्।
अभियानको महत्वपूर्ण पक्षका रूपमा सेप्टेम्बर २०२४ अघि डेलिभरी भएका र बीवाईडी एप कनेक्टिभिटी तथा इन्फोटेनमेन्ट एक्टिभेसन सुविधा नपाएका योग्य सवारीसाधनमा यी सुविधा निःशुल्क उपलब्ध गराइने भएको छ। त्यस्ता ग्राहकले ६ महिनासम्म निःशुल्क बीवाईडी एप कनेक्टिभिटी डाटा समेत प्राप्त गर्नेछन्। अभियानअन्तर्गत योग्य ग्राहकले ब्याट्री कभर, स्पेयर टायर तथा डेन्ट एन्ड पेन्ट सेवामा १० प्रतिशत छुट पाउनेछन्। साथै, एकपटक निःशुल्क होम चार्जर चेक–अप सुविधा पनि उपलब्ध हुनेछ।
साइमेक्स इंक.का प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले ग्राहकको वास्तविक स्वामित्व यात्रा सवारी हस्तान्तरणपछि सुरु हुने बताए। उनले व्यावसायिक सर्भिस, स्मार्ट कनेक्टिभिटी र स्वामित्व सुरक्षालाई एउटै पहलमा समेटेर देशभरका १३ वटै सर्भिस सेन्टरबाट सेवा उपलब्ध गराउन लागिएको बताए।हाल बीवाईडीको आधिकारिक सर्भिस नेटवर्क धनगढी, नेपालगञ्ज, दाङ, बुटवल, पोखरा, चितवन, ललितपुर, काठमाडौं, वीरगञ्ज, जनकपुर, इटहरी, विराटनगर र बिर्तामोडमा सञ्चालनमा रहेको छ।
ग्राहकलाई थप सहज र पहुँचयोग्य सेवा उपलब्ध गराउने उद्देश्यले सन् २०२६ भित्र भक्तपुर, डल्लु र लहानमा थप तीनवटा सर्भिस सेन्टर सञ्चालनमा ल्याउने योजना रहेको साइमेक्सले जनाएको छ।नाइमा मोबिलिटी एक्स्पोको पूर्वसन्ध्यामा सुरु गरिएको यो अभियानले बीवाईडीको बिक्रीपछिको सेवा, डिजिटल कनेक्टिभिटी र ग्राहक स्वामित्व अनुभवलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ। आगामी अगस्ट ११ देखि काठमाडौंमा आयोजना हुने नाइमा मोबिलिटी एक्स्पोमा बीवाईडीले आफ्ना नवीनतम उत्पादन तथा सेवासमेत प्रस्तुत गर्नेछ।