काठमाडौं । नेपाल सरकारले विभिन्न निकायसँग मौज्दात रहेका तथा निजी क्षेत्रबाट सहयोगस्वरुप प्राप्त मेडिकल उपकरणसहित औषधिलगायत राहत सामग्री म्यानमार सरकारलाई प्रदान गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले यही चैत १५ गते म्यानमारमा गएको शक्तिशाली भूकम्पबाट जनधनको क्षति भएको सन्दर्भमा नेपाल सरकारको तर्फबाट ती सहयोग सामग्री सहयोगस्वरुप उपलब्ध गराउने निर्णय गरेको हो ।
उक्त सामग्री नेपालबाट हवाइजहाजमार्फत म्यानमारमा ढुवानी गर्दा लाग्ने रकम अर्थ मन्त्रालयबाट नेपाल वायुसेवा निगमका नाममा निकासा गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
उनका अनुसार बैठकले नेपाल सरकारका विभिन्न निकायबाट पठाइने ती सामग्रीको अर्थ मन्त्रालयबाट तत् निकायमा शाेधभर्नाका लागि रकम उपलब्ध गराउने निर्णय पनि गरेको छ । उक्त भूकम्पमा परी घाइते भएकालाई तत्काल उपचार गर्न नेपाल सरकारका तर्फबाट नेपाली सेनाको चिकित्सक टोली नेपाली सेनाकै जहाज प्रयोग गरी पठाउने निर्णय भएको पनि उनले जानकारी दिए ।
FACEBOOK COMMENTS