काठमाडौं । सरकारले महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न विशेष कार्यक्रमहरू अघि सारेको छ ।
मन्त्रिपरिषद्को हिजो शुक्रबार बसेको पहिलो बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमार्फत उक्त विशेष कार्यक्रमहरू अघि बढाइएको हो ।
कार्यसूचीअनुसार महिलाहरूका लागि सातै प्रदेशमा नि:शुल्क ‘ब्लू बस’ सेवा सञ्चालन गरिने भएको छ । पहिलो चरणमा १०० दिनभित्र कम्तीमा २५ वटा बस सञ्चालनमा ल्याउने लक्ष्य निर्धारण गरिएको छ । यस कार्यक्रमले सार्वजनिक यातायातमा महिलाको पहुँच र सुरक्षालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
त्यसैगरी, सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा नियन्त्रण गर्न सबै सवारी साधनमा सीसीटीभी तथा ड्यासक्याम जडान अनिवार्य गरिने भएको छ । साथै, राइड–शेयरिङ एपहरूमा ‘एसओएस बटन’ अनिवार्य गरी आकस्मिक वा जोखिमपूर्ण अवस्थाको सूचना तुरुन्तै प्रहरीसम्म पुग्ने व्यवस्था मिलाइने जनाइएको छ । यो कार्य ३० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
सरकारको यस पहलले सार्वजनिक यातायातलाई सुरक्षित, प्रविधिमैत्री र विश्वासयोग्य बनाउने विश्वास गरिएको छ ।

FACEBOOK COMMENTS