काठमाडौं । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न विधेयकलाई संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को बैठकका निर्णयबारे सञ्चारकर्मीलाई जानकारी दिँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयकलाई स्वीकृति दिएको बताए।
त्यस्तै, संक्रामक रोग तथा पशु ऐनसम्बन्धी विधेयक, राहदानी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण पहिलो संशोधन विधेयकलाई पनि संसद्मा पेश गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ।
यससँगै बालश्रम निषेध तथा नियन्त्रण सम्बन्धी विधेयक,आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मेलमिलाप सम्बन्धी ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयक र कर्मचारी सञ्चय कोष ऐनसम्बन्धी विधेयकलाई पनि संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता पोखरेलले जानकारी दिए।
सुनसरी घटनाबारे मन्त्रिपरिषद्ले केही निर्णय गरेको छ कि भनेर सञ्चारकर्मीले सोधेको प्रश्नमा सरकारका प्रवक्ता पोखरेलले कुनै उत्तर दिएन। प्रवक्ता पोखरेलले निर्णय सुनाएपछि थप प्रश्न लिएनन्।