काठमाडौं । रोजगारीको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्रहरू र क्यासिनोहरूमा अनलाइन ठगिमा परेका ५१ नेपालीको उद्धार गरिएको छ।
अनलाइन ठगिका साथै विभिन्न गैरकानुनी काममा लगाइएका साथै कम्बोडियामा बिना राहदानी बसिरहेका उनीहरुलाई आज (मंगलबार) थाइल्याण्डस्थित नेपाली दूतावासको पहलमा उद्धार गरिएको हो। उद्धारमा कम्बोडिया सरकारले सहयोग गरेको थियो भने गैरआवासीय नेपाली सङ्घ, कम्बोडियाको सहजीकरण गरेको थियो।
यसैगरी अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीलाई नेपाल फर्काउने पहल भइरहेको थाइल्याण्डस्थित नेपाली दूतावासले जनाएको छ। कम्बोडियामा नेपालीलाई नागरिक अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएको र बिना राहदानी वा राहदानी–अवधिभन्दा बढी समय बसिरहेको जानकारी प्राप्त भएको दूतावासले जनाएको छ।
कम्बोडियामा अवैध रुपमा बसिरहेका नेपाली नागरिकलाई नेपाल फर्कन सहजीकरणका लागि नेपाली राजदूतावास बैंकक वा गैर–आवासीय नेपाली सङ्घ कम्बोडियाका प्रतिनिधिलाई सम्पर्क गर्न अनुरोध गरिएको छ।
स्क्यामिङ केन्द्रहरूमा काम लगाइएकाको राहदानी कम्पनीले जफत गर्ने गरेको वा स्क्यामिङ केन्द्रहरूबाट ट्रान्सफर हुँदा राहदानी हराएको भनि जनाको गुनासो आएको छ। त्यस्तो अवस्थामा नेपाल फर्किनलाई नेपाली राजदूतावास बैंककले उद्धार गर्न बिना शुल्क एकतर्फी यात्रा अनुमतिपत्र जारी गरिदिने गरेको जनाएको छ।

FACEBOOK COMMENTS