काठमाडौँ । विभिन्न प्रलोभनमा परेर कम्बोडिया पुगेका ७ जना नेपाली नागरिकको उद्धार गरी स्वदेश फर्काइएको छ ।
अवैध रूपमा सञ्चालन भएका अनलाइन ठगी केन्द्र र क्यासिनोमा काम गर्न बाध्य बनाइएका उनीहरूलाई दूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा सुरक्षित रूपमा नेपाल ल्याइएको हो ।
उद्धार गरिएका नेपालीहरू सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । उनीहरूलाई गैर आवासीय नेपाली संघ कम्बोडियाले सहजीकरण गरेको थियो । दूतावासका अनुसार कठिन अवस्थामा रहेका अन्य नेपालीहरूलाई पनि क्रमश: स्वदेश फर्काउने प्रयास जारी छ ।
दूतावासले कम्बोडियामा नेपाली नागरिकहरूलाई अनलाइन ठगी लगायतका गैरकानुनी काममा लगाइएको र भिसा बिना वा म्याद सकिएपछि पनि बसिरहेको जानकारी प्राप्त भएको जनाएको छ। यस्तो अवस्थामा रहेका नेपालीलाई तुरुन्त सम्पर्क गरी स्वदेश फर्कन आग्रह गरिएको छ।
उद्धार प्रक्रियामा संलग्न निकायका अनुसार ठगी केन्द्रहरूमा काम गर्ने धेरै नेपालीको राहदानी कम्पनीहरूले जफत गर्ने गरेका छन्। कतिपयले स्थानान्तरणका क्रममा राहदानी हराएको गुनासो समेत गरेका छन्। यस्तो अवस्थामा दूतावासले नि:शुल्क एकतर्फी यात्रा अनुमति पत्र जारी गरेर स्वदेश फर्काउन सहयोग गर्दै आएको छ।

पछिल्लो तथ्यांकले कम्बोडिया जाने नेपालीको संख्या तीव्र रूपमा बढेको देखाएको छ। सन् २०२१ मा १०१ जना मात्रै पुगेका नेपाली २०२२ मा १ हजार ९७७, २०२३ मा २ हजार ९४०, २०२४ मा ६ हजार ४०४ र २०२५ मा ९ हजार ६७६ पुगेका छन्।

दूतावासले वैदेशिक रोजगारीमा जानुअघि अनिवार्य रूपमा श्रम स्वीकृति लिन र छिटो धेरै पैसा कमाउने लोभमा कम्बोडिया, लाओस, म्यानमार तथा थाइल्याण्डजस्ता मुलुकमा भ्रमणको बहानामा नजान पुन: आग्रह गरेको छ ।