काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले टी– २० विश्वकपको लागि सोमबार जर्सी सार्वजनिक गर्यो । नेपालले दुई महिनापछि आईसीसी टी–२० विश्वकप खेल खेल्दैछ । खेल जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुँदैछ ।
उक्त खेल खेल्नको लागि क्यानले नयाँ जर्सी सार्वजनिक गर्यो तर जर्सी सार्वजनिक गरेको केहि घण्टामै आलोचनाको सिकार हुन पुग्यो ।
सामाजिक सञ्जालमा उक्त जर्सीमा अङ्कित नेपालको राष्ट्रिय झण्डाको विषयदेखि पुरै जर्सीलाई नै लिएर धेरै जनाले चासो व्यक्त गरे । अहिले उक्त तस्विर सामाजिक सञ्जालमा पोष्ट गर्नेका साथै विभिन्न टिक्का टिप्पणी गर्न थालेका छन् ।
क्यानले हिजो सार्वजनिक गरेको जर्सीमा दुइवटा झण्डा कुम्म राखिएको छ । तर उक्त झण्डालाई ‘झुकाएर राखिएको’ भन्दै कतिपय समर्थकहरूले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरिरहेका छन् ।
‘नेपालको झण्डा झुकेको छ। झुकेको झण्डाले राम्रो सङ्केत कसरी दिन्छ?’ उनीहरूको प्रश्न छ। जर्सीको खुद्रा मूल्य ३,६०० रुपैयाँ तोकिएको छ ।
सार्वजनिक जर्सी कस्तो छ ?
जर्सीको सबैभन्दा तल्लो भागमा गैँडा र सगरमाथा छन् । सगरमाथा वास्तविक स्वरूपमा देखिँदैन । उक्त भागको रङ्ग रातो र हल्का मधुरो छ । बीचको भाग नीलो छ । त्यसमा पहेँलो रङ्गमा नेपाल लेखिएको छ । छातीको दायाँ भागमा प्रायोजक केल्मीको लोगो तथा बायाँ भागमा क्यानको लोगो छन् । त्यस्तै बाहुलाको बायाँतर्फ टी–२० विश्वकपको लोगो र दायाँतर्फ क्यानको लोगो छापिएको छ । कठालोको भाग रातो छ । दुवै बाहुलाको माथिल्लो भागमा दुइटा झण्डा छन् । पछाडिको अधिकांश भाग नीलो छ । पछाडि सेतो रङ्गमा लेखिएको जर्सी नम्बरमाथि खेलाडीको नाम छ । राष्ट्रिय झण्डा झुकेको विषयबाहेक आलोचनाहरूले अरू कुरा पनि औँल्याएका छन् । उनीहरूका अनुसार यो जर्सीले ‘लुक एन्ड फील’ को अनुभूति दिन सकेको छैन र आकर्षणहीन छ ।
कसले बनायो यो जर्सी
नेपाल क्रिकेट सङ्घ क्यानले जर्सीको डिजाइन गर्छ । अनि केल्मी कम्पनीको नेपालस्थित आधिकारिक विक्रेता कामारु ट्रेडिङ प्रालिले त्यसको उत्पादन गर्छ । कामारु ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले डिजाइन पूर्णतः क्यानको रहेको र क्यानले दिएको डिजाइनअनुसार जर्सी बनाएको बताए । यद्यपि जर्सी सार्वजनिक समारोहमा सोधिएको प्रश्नमा त्यसको डिजाइनबारे उनले भने, ‘पहेँलो रङ्गको प्रयोग किनभने अहिले विश्वक्रिकेटमा नेपाललाई ‘वारिअर’ भनेर चिनिएको छ । साहसी टीमको झल्को दिन पहेँलो वा सुनौलो रङ्गको प्रयोग गरिएको हो ।’
क्यानको जर्सी बारे जवाफ
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जर्सीमा त्यस्तो गुनासो गर्ने कुनै विषय नभएको बताए । काँधमा नेपालको झण्डा झुकेको भन्ने विषयमा उनले भने, ‘ खेलाडीहरूले काँधमा राष्ट्रको जिम्मेवारी बोकेर खेल्ने हो भन्ने त्यसले सन्देश दिन खोजेको हो। यसलाई अन्यथा नलिनुहोला।’ स्मरणीय के छ भने १० वर्षअघि नेपालले टी–२० विश्वकप खेल्दा पनि काँधमा नेपालको झण्डा त्यसरी नै राखिएको थियो । त्यस बेला भने कतैबाट विरोध भएको थिएन ।
( बीबीसीबाट)
FACEBOOK COMMENTS