काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) ले विदेशी मुद्राको सटही रोकिदिँदा नेपालमा अन्तर्राष्ट्रिय ब्यान्डविथ भित्र्याएबापत भारतीय अपस्ट्रिम प्रदायकलाई करिब १० महिनायता इन्टरनेट सेवाप्रदायकले भुक्तानी गर्न नपाएको जनाएको छ ।
भुक्तानीका लागि अपस्ट्रिम प्रदायकबाट बारम्बार ताकेता भएपनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी मुद्रा सटहीमा सिफारिस नगरिदिँदा इन्टरनेट सेवा सम्बध व्यवसायी मारमा परेको क्यानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसको प्रत्यक्ष असर आमउपभोक्तामा र देशको समग्र अर्थतन्त्रमै पर्ने क्यानको दाबी छ । मन्त्रालय र इन्टरनेट सेवाप्रदायकबीच अहिले चलिरहेको मर्मत सम्भारको शुल्कमा रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) दस्तुर विवाद आपसी छलफलबाटै टुङ्ग्याउनु उचित हुने क्यानको सुझाव छ ।
जसका कारण नेपालको इन्टरनेट सेवा उद्योग जटिल मोडमा पुगेको क्यानले जनाएको छ । नेपालको इन्टरनेट सेवा उद्योगमा उचित व्यवसायिक वातावरण सिर्जना गर्ने र हाल देखिएका जटिलताको अन्त्य गर्ने दायित्व सरकारकै भएको क्यानको तर्क छ ।
सरकारलाई लचिलो भएर समस्या समाधानका लागि पहल गर्न विशेष अनुरोध गरेको छ । साथै यसका लागि आवश्यक सहजीकरण गर्न क्यान महासंघ तयार रहेको जानकारी गराएको ।
FACEBOOK COMMENTS