काठमाडौं । अस्ट्रेलिया जारी टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ‘ए’ ले पहिलो जित हासिल गरेको छ । नेपाल ए ले सोमबार सम्पन्न खेलमा होबर्ट हुरिक्यान्स एकेडेमीलाई ३९ रनले पराजित गरेको हो ।
नेपालले दिएको १५५ रनको लक्ष्य पछाएको होबर्ट हुरिक्यान्स एकेडेमीले १८.३ ओभरमा अलआउट हुदै ११५ रन मात्र बनाएको थियो ।
होबर्ट हुरिक्यान्स एकेडेमीका लागि नितेश सामुएलले सर्बाधिक ३७ रन बनाए भने टिम वार्डले २३ र कप्तान निभेथान राधाकृष्णनले २० रन बनाएका थिए । त्यसैगरी, नेपाली बलर नारायण जोशीले ३ विकेट लिए भने शाहाब आलम र पवन सराफले २-२ विकेट तथा विपिन खत्रीले एक लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ए ले २० ओभरमा ८ विकेट गुमाउदै १५४ रन बनाएको थियो । नेपाल ए का लागि कुशल भुर्तेलले सर्बाधिक ३९ रन बनाए भने मयन यादवले ३१, कप्तान अनिल शाहले २८ र लोकेश बमले २० रन बनाएका थिए ।
त्यस्तै होबर्ट हुरिक्यान्स एकेडेमीका राफ म्याकमिलनले ३ र मार्कस बीनले २ विकेट लिएका थिए ।

यसअघि लगातार दुई खेल हारेको नेपाल ए को यो पहिलो जित हो । नेपाल ए ले अर्को खेल अगस्ट २६ मा एसीटी कमेट्स, अगस्ट २७ मा किङ्सम्यान र अगस्ट २९ मा भिक्टोरियासँग खेल्ने तालिका रहेको छ ।