काठमाडौँ । आमसञ्चारलाई व्यावसायिक, खोजमूलक र विश्लेषणत्मक बनाउने उद्देश्यले सार्वजनिक सञ्चारमाध्यममा क्रियाशील पत्रकारका लागि एक दिवसीय क्षमता विकास कार्यक्रम आयोजना गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजना र राष्ट्रिय समाचार समिति (रासस)को व्यवस्थापनमा आयोजित क्षमता विकास कार्यक्रममा सार्वजनिक सञ्चारमाध्यमका करिब ४० जना पत्रकारको सहभागिता रहेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव गजेन्द्रकुमार ठाकुरले पत्रकारको अभिमुखिकरण कार्यक्रमले व्यावसायिक पत्रकारितामा निखार ल्याउन र भइरहेका अभ्यासबारे विचार, अनुभव, ज्ञान र सीप आदन–प्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
“मन्त्रालयले नीति बनाउने र क्षमता विकासका कार्यक्रमलाई प्राथमिकता दिएर क्षमता विकासको प्याकेजलाई आगामी दिनमा कसरी लैजान सकिन्छ भनेर एक दिने अभिमुखीकरण आयोजना गरिएको हो”, उनले भने “यसबाट आगामी दिनमा क्षमता विकासको प्याकेज र नीतिगत रुपमा गर्नुपर्ने सम्बोधनलगायत विषयमा राय सुझाव लिन मद्दत पुग्नेछ ।”
निमित्त सचिव ठाकुरले अभिमुखीकरण कार्यक्रमलाई समन्वय र व्यवस्थापन गर्ने कार्यमा राससले खेलेको भूमिकाप्रति मन्त्रालयकोतर्फबाट आभार प्रकट गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई नतिजामूलक बनाउन समन्वय र सहकार्य गरेर मन्त्रालय अघि बढ्ने विश्वास व्यक्त गरे ।
राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पत्रकारिता जगतमा नयाँ–नयाँ प्रयोग भइरहेको सन्दर्भमा सार्वजनिक सञ्चारमाध्यममा क्रियाशील पत्रकारको क्षमता अभिवृद्धिका लागि कार्यक्रमले सहयोग पुग्ने बताए ।
पछिल्ला दिनमा नेपाली मिडियामा खोजमुलक र व्यावसायिक पत्रकारिताको अभाव खड्किएको र औपचारिकतालाई बढी प्राथमिकता दिइरहेको सन्दर्भमा व्यावसायिक पत्रकारिताको उच्चतम अभ्यासलाई ध्यान दिएर अभिमुखीकरण गरिएको बताए । “तालिम, अभिमुखीकरणजस्ता विषयवस्तुले जहिले पनि नयाँ र केही न केही फरक विषयवस्तुबारे जानकारी दिन मद्दत गरिरहेको हुन्छ”, उनले भने “पत्रकारितामा हरेक क्षण र समयमा नयाँ–नयाँ कुरा आइरहने हुनाले पत्रकारले नयाँ प्रयोग र सम्भावनालाई कसरी आफूलाई तम्तयार भएर प्रस्तुत गर्नेभन्नेबारे यस्ता कार्यक्रम उपयोगी हुनेछ ।
स्रोतमार्फत पनि पत्रकारिता प्रभावित भइरहेको छ भन्दै उनले नेपालको सन्दर्भमा खोजी पत्रकारिता र स्रोतसँगको सम्बन्धलाई बलियो बनाउन पनि यस्ता किसिमका कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको बताए ।
FACEBOOK COMMENTS