काठमाडौं । चालु आर्थिक वर्षको १० महिनासम्ममा सरकारले धितोपत्र बजारको दोस्रो कारोबारबाट ४ अर्ब १५ करोड रुपैयाँ पुँजीगत लाभकर प्राप्त गरेको छ । यो अघिल्लो वर्षको भन्दा बढी हो । अघिल्लो आव २०७९–८० मा शेयर बजारबाट सरकारले ३ अर्ब ३८ करोड रुपैयाँ राजस्व प्राप्त गरेको थियो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आव २०८०–८१ को वैशाख मसान्तसम्मको तथ्यांक हेर्दा गत आवको तुलनामा अधिकांश सूचकांकमा सुधार देखिएको छ । धितोपत्र कारोबार रकम गत आवको सोही अवधिको तुलनामा ५६.११ प्रतिशतले बढेर ५ खर्ब २७ अर्ब रुपैयाँको कारोबार भएको छ ।
यस्तै दैनिक औषत कारोबार रकम सोही अवधिमा करिब ६२ प्रतिशतले बढेर २ अर्ब ८२ करोडबराबरको दैनिक कारोबार भएको देखिन्छ । त्यसैगरी चालु आवको वैशाखसम्ममा बजार पुँजीकरण ३१ खर्ब ६० अर्ब पुगेको छ, जुन गत आवको सोही अवधिको तुलनामा करिब १० प्रतिशतको वृद्धि हो ।
यसरी कारोबार रकम बढ्दै जाँदा त्यसले पुँजीगत लाभकर बढ्नमा सहयोग पु¥याएको हो । शेयर लगानीकर्ताका लागि सरकारले दुई दर कायम गरेर पुँजीगत लाभकर उठाउँदै आएको छ । एक वर्ष वा सोभन्दा कम अवधि शेयर होल्ड गरेर बेच्ने लगानीकर्ताले नाफामा साढे सात प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ । यस्तै एक वर्ष वा सोभन्दा बढी अवधि होल्ड गरेर बिक्री भएको शेयरमा आएको नाफामा ५ प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था छ ।
शेयर बजारमार्फत राज्यले अर्बौं रकम सङ्कलन गर्न सक्ने अवस्था भए पनि नीतिगत जटिलताका कारण बजार अनुसार रकम सङ्कलन हुन सकेको छैन । यस्तो हुनुमा नीतिगत समस्या सिर्जना हुनुलाई शेयर बजारका जानकारहरूले लिएका छन् । शेयर बजारमा आइरहने उतारचढावले पुँजीगत लाभकरमा असर पर्छ । बजार घट्दा पुँजीगत लाभकर कम उठ्छ भने बढ्दा बढी उठ्ने अवस्था हुन्छ ।
नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्सालका अनुसार विगतमा शेयर बजारमैत्री नीतिका कारण धेरै कारोबार हुँदा धितोपत्र बजारबाट सरकारले पुँजीगत लाभकर बढेको थियो । तर, पछि नीतिमा निकै कडाइ गरिएपछि त्यसको असर बजार र लगानीकर्ता दुवैमा पर्दा संकुचन आएको हो । पछिल्लो समय बैंकको ब्याजदर कम हुँदै गएको तथा नीतिहरू पनि लचिलो बनाइँदै लगिएको छ । जसकारण धितोपत्र बजार विस्तारै गति लिने प्रयासमा रहेको कारोबारले देखाएको छ ।
नेप्से ३४.५१ अङ्कले बढ्यो
यो साता नेप्से परिसूचक ३४.५१ अङ्कले बढेको छ । सातामा तीन दिन लगातार वृद्धि भएर शेयर बजार २१ सय विन्दुको पेरिफेरिमा रहन प्रयास गरेको थियो । तर, साताको अन्तिम दिन बिहीबार सामान्य ‘करेक्सन’ भएको बजार केही घट्न पुगेको थियो ।
पछिल्लो समय धितोपत्र बजारमा कारोबार रकम पनि केही बढ्दो क्रममा रहेको छ । जसअनुसार बिहीबार मात्रै ६ अर्ब ४४ करोडको शेयर किनबेच भएको नेप्सेको तथ्यांकले देखाएको छ । बिहीबारसम्ममा कुल शेयर बजार पुँजीकरण ३३ खर्ब ४९ अर्ब ४७ करोड ५४ लाख ६१ हजार २५६ रुपैयाँ पुगेको छ ।
साताको नेप्से परिसुचकलाई हेर्दा गत बिहीबार २०७७.७८ विन्दुमा रहेको नेप्से त्यसयता घटबढ हुँदै बिहीबार २११२.२९ विन्दुमा पुगेको हो । साताको पहिलो दिन आइतबार २०७३.१९ विन्दुमा झरेको नेप्से परिसूचक सोमबार २०८२.०९ विन्दुमा पुगेको थियो । सोमबारको वृद्धिले निरन्तरता पाउँदा मंगलबार परिसूचक २११५.२५ विन्दुमा पुगेको थियो ।
बुधबार पनि परिसूचक बढेर २१२१.६३ विन्दुमा पुग्यो । जुन साताभरकै सर्वाधिक बढी विन्दु रह्यो । बुधबारको उचाइमा साताको अन्तिम कारोबार दिन बिहीबार भने परिसूचक ९.३२ अङ्कले घट्दै २११२.२९ विन्दुमा खुम्चिएको थियो ।
FACEBOOK COMMENTS