काठमाडौं । क्यापिटल मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले १३ वर्षको साधारणसभा सम्पन्न गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०६७÷०६८ देखि आब.२०७९÷०८० सम्मका दशौं, एघारौं, बाह्रौं, तेह्रौं, चौधौं, पन्ध्रौं, सोह्रौं, सत्रौं, अठारौं, उन्नाईसौं, बीसौं, एक्काईसौं र बाईसौंसहित १३ आर्थिक बर्षको वार्षिक साधारण सभा सम्पन्न गरेको हो । अध्यक्ष श्री तिलक बहादुर रानाभाटको अध्यक्षतामा सम्पन्न गरेको छ ।
संस्थालाई नेपाल राष्ट्र बैंकले २०६९ सालमा समस्याग्रस्त संस्था घोषणा गरी सामान्य बैकिङ्ग कारोवारमा रोक लगाए पश्चात साधारण सभा हुन सकेको थिएन । संस्थाले आफ्नो वित्तीय अवस्थामा सुधार ल्याई बाँकी रहेका लेखापरीक्षण कार्य सम्पन्न गरी नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आज १३ आर्थिक बर्षको साधारण सभा सम्पन्न गरेको हो ।
सभाले बिगत १३ आर्थिक बर्षको वित्तीय विवरण पारित, लेखा परीक्षकको नियुक्तिको अनुमोदन, संचालक समितिमा भएको परिवर्तन र कामकारवाहीको अनुमोदन, ऋण असुलीका कार्यहरुको अनुमोदन, संस्थाको नाम परिवर्तन गर्ने साथै गाभिने वा प्राप्ति सम्बन्धि बिषयहरुलाई सर्वसम्मत रुपमा पारित गरेको छ ।
संस्थाको विनियमावलीको व्यवस्था बमोजिम सम्पन्न निर्वाचनमा संस्थापक शेयरधनीबाट तिलक बहादुर रानाभाट, जगत राज खनाल र रञ्जन रायमाझी तथा सर्वसाधारण शेयरधनीबाट निर्मल दाहाल र मोहन खड्का निर्विरोध निर्वाचित भएका छन् । संस्थाको स्वतन्त्र संचालक राजेश्वर श्रेष्ठ रहेका छन् ।
सभामा हालसम्म भएका कामकारवाही र संस्थाको वित्तीय अवस्थाको सम्बन्धमा प्रमुख कार्यकारी अधिकृत श्री प्रदीप भट्टराईले विस्तृत रुपमा प्रकाश पारे । उनले वित्तीय अवस्थामा थप सुधार गरी संस्थालाई अघि बढाउन संस्थागत सुशासन, जोखिम व्यवस्थापन लगायतका कार्ययोजना सहित नेपाल राष्ट्र बैंकमा समस्याग्रस्त संस्थाबाट फुकुवाका लागि पेश गर्ने र संस्थालाई सामान्य बैकिङ्ग कारोवार गर्दै अघि बढाउने लक्ष्यका साथ क्रियाशील रहेको जानकारी गराए
FACEBOOK COMMENTS