काठमाडौं । आइतबार पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएका पाइलट कमल केसीको पुख्र्यौली गाउँ शोकमा डुबेको छ ।
इमान्दार र सहयोगी गाउँले गुमाउनुपर्दा गाउँका सबैका आँखा रसाएका छन् । कास्कीको रुपा गाउँपालिका–३ पोल्याङमा रहेको पुख्र्यौली घरमा रहेकी कान्छी आमा ७९ वर्षीया देवीलाई सान्त्वना दिन गाउँलेहरु भेला हुने गरेका छन् । गत दसैँको अष्टमीको दिन पोल्याङमा परिवारका सबै भेला भई रमाइलो गरिएको नै अन्तिम भएको कान्छी आमा देवीले बताए । “दसैँमा सबै जना जमघट भएर निकै रमाइलो गरिएको थियो । कमलले गाउँलेहरुसँग पनि भेटघाट गरेका थिएँ”, उनले भने , “अब सम्झिनुबाहेक केही रहेन । यो जन्ममा यत्तिकै हुने भो ।”
घरधन्दामा व्यस्त रहेको आफूलाई नाताले बुहारी पर्ने स्थानीय अप्सरा केसीले कमलले चलाएको जहाज दुर्घटनामा परेको भनेपछि रोएरै दिनरात बिताएको देवीले जानकारी दिए । दुर्घटनामा देवर गुमाउनुको पीडाले आफूहरुलाई काम गर्ने उत्साह पनि नआएको अप्सराले बताए । “यसरी अकालमा कोही पनि मर्न नपरोस्”, उनले भने, “हामी जस्तै धेरैको परिवार शोकमा परेका छन् । सबैको आत्माले शान्ति पाओस् ।” सानैदेखि पढ्नमा चलाख र मिजासिला स्वभावका कमलले स्थानीय जनता मावि ९तत्कालीन महेन्द्रज्योति प्रावि०मा कक्षा ४ देखि ५ सम्म पढ्ेृका थिए । त्यसअघि कमल कास्कीकै फल्याङकोटमा पढ्थे । जनता माविबाट कक्षा ५ पूरा गरेपछि थप शिक्षाका लागि कमल काठमाडौँ आएका थिए ।
“कमलदाइ यहाँको विद्यालयमा पढ्दा निकै चलाख र मिलनसार थिए”, जनता प्रावि व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका स्थानीय बलभद्र कुमालले भने , “हामी सानालाई निकै माया गर्नुहुन्थ्यो र ठूलालाई आदर गर्ने स्वभाव थियो ।”काठमाडौँबाट हरेक पटक गाउँ आउँदा आफूलगायत गाउँका बासिन्दालाई कमलले सन्चोबिसन्चो सोध्ने गर्ने कुमालले बताए । “म यस्तो उस्तो भनेर कमलदाइले कहिल्यै घमण्ड गर्दैन्थे,” कुमालले भने, “आँखामा राखे पनि नबिझाउने मान्छेलाई गुमाउँदा हामी गाउँले ठूलो शोकमा परेका छौँ ।”
माघे सङ्क्रान्तिको पर्व मनाउने तयारीमा आफूहरु रहेपनि दुर्घटनामा कमल परेको खबरले आफूहरुको भोक प्यास हराएको स्थानीय छिमेकी ६१ वर्षीया कृष्णा रानाभाटले बताए । “हामी गाउँलेलाई अभिभावक नै गुमाएको जस्तो भएको छ,” रानाभाटले भने ।
आफूहरुले क्याप्टेन कमलकी कान्छी आमा देवीलाई सम्झाउने र सान्त्वना दिने गर्दै आएको उनले बताए । गाउँमा ‘काजिबा’ भनेर कहलिएका वीरेन्द्र केसी र मीनाका जेठा छोरा क्याप्टेन कमल हुन् भने विनोद माइला र विदुर कान्छा छोरा हुन् । कमलका कल्पना, विन्दु, सरीता र सुनीता गरी चार बहिनी छन् । देवीको कोखबाट सुनीता जन्मिएकी हुन् । वीरेन्द्र र मीना पोखरा तेर्सापट्टिमा बस्छन् । क्याप्टेन कमल बूढानीलकण्ठमा श्रीमती शिलु र कान्छा छोरा आर्यनसँगै बस्थे ।। जेठा छोरा सागर बैङ्ककमा थिए । क्याप्टेन कमलको मृत्युको शोकमा बुबाआमा लगायत श्रीमती शिलु र छोराहरु पनि अर्धचेत अवस्थामा छन् ।
क्याप्टेन कमल अनुभवी पाइटलमा गनिन्थे । उनी ७२ सिट हुने एटिआर विमानको प्रशिक्षक पाइल टसमेत छन् । नेपाल वायु सेवा निगममा लामो समय विमान चलाएका कमल निगम छाडेर यती एयरलाइन्समा आबद्ध भएका थिए । माघ १ गते ६८ यात्रु सहित चार चालका दलका सदस्य रहेको यतीको यही दुर्घटनाग्रस्त विमानले पुस ७ गते पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा परीक्षण उडान भरेको थियो । परीक्षण उडानको नेतृत्वसमेत क्याप्टेन कमलले गरेका थिए ।
FACEBOOK COMMENTS