काठमाडौं । इजरायलमा काम गर्ने सहायक श्रमिक (केयरगिभर)को छनोट प्रक्रियालाई पुनरवलोकन गरिने भएको छ ।
यसअघिको प्रक्रिया असाध्यै ढिलो भएकाले यसलाई छिटोछरितो बनाउन पुनरवलोकन गर्ने विषयमा नेपाल सरकार र इजरायल सरकारबीच छलफल भएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग र नेपालका लागि इजरायली राजदूतसँग भएको पटकपटकको छलफलमा सबै प्रक्रिया पुनरवलोकनको विषय उठेको हो ।
विभागअन्तर्गतको इजरायलरजापान शाखाका निर्देशक डम्बरबहादुर सुनुवारले इजरायलमा नेपाली केयरगिभर लैजाने कार्य ढिलो भएकाले यसलाई सुधार गरेपछि मात्रै नयाँ मागसम्बन्धी काम गर्न प्रस्ताव इजायली पक्षसँग गरिएको जानकारी दिए । हालको प्रक्रियाले श्रमिकलाई आर्थिक रूपमा मर्का परेकाले अब नयाँ आउने मागमा यस्तो नहोस् भनेर अहिलेदेखि नै पुनरवलोकनको प्रस्ताव गरिएको उनको भनाइ छ ।
२०७८ साउन १२ गते आएको मागका लागि छनोट भएका व्यक्ति अझै इजरायल जान बाँकी छन् । इजरायल जानका लागि यसअघि नै छनोट भएमध्ये ६४ जना बाँकी रहेको उनले बताए ।
विभागका अनुसार छनोट भएकामध्ये ५० जनाको ‘लेबर कन्ट्रयाक्ट’ आउन बाँकी छ भने १४ जनाको भिसा आउन बाँकी छ । यसअघि छनोटमा परेका एक हजार १७५ जनामध्ये एक हजार २१ जना इजरायल गइसकेका छन् । थप १८ जाने प्रक्रिया गरिरहेका छन् भने ८० जनाले भिसा रद्द गरेका थिए ।
अहिले इजरायलका तर्फबाट भएको ढिलाइ र त्यसको क्षति नेपाली श्रमिकले बेहोर्नु परेकाले छिटोछरितो छनोट गर्ने प्रक्रियामा जानुपर्छ भनेर श्रम मन्त्रालय र विभागले इजरायल पक्षलाई यसअघि नै दबाब दिँदै आएको थियो ।
माग ढिला आउँदा छनोट भएका श्रमिकलाई स्वास्थ्य परीक्षणमा असाध्यै झमेला भएको भन्दै निर्देशक सुनुवारले भने, “एक पटक स्वास्थ्य परीक्षण गरेको तीन महिनाभित्र प्रस्थान गर्नुपर्छ अन्यथा ‘एक्सपायर’ हुन्छ । छनोट भएकाहरू तीन पटक स्वास्थ्य परीक्षण गरेर बसेका छन् ।”
उनले केयरगिभरका रूपमा गएका नेपाली श्रमिकको कामप्रतिको निष्ठा र व्यवहार अत्यन्तै रुचाइएका कारण कृषि र निर्माणको क्षेत्रमा नेपालबाटै श्रमिक लिन इजरायल आतुर देखिएको जानकारी दिएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS