हरेक दिन २ पटक यातायात व्यवस्था कार्यालय अगाडिकै बाटो हिँड्ने म लाइसेन्स रिन्यू गर्ने बेला भएको छ भन्ने थाहा हुँदाहुँदै भैरब अर्यालको ‘जय भोली’ जस्तो ‘भोली भोली’ भन्दै हिँडिरहेको थिए । समस्या परेपछि मात्र चेत खुल्ने मेरो बानी ! सायद ट्राफिक प्रहरीको फन्दामा नपरेर होला ! भोली जान्छु भन्दाभन्दै ४ महिना कटेको पत्तै भएन ।
मंगलबार भने कार्यालय निस्कने वित्तिकै सबैभन्दा पहिले यातायात व्यवस्था कार्यालय गौरीघाट गएँ । लाइसेन्स रिन्यू गर्ने स्थानमा अन्य समयको भन्दा भिड थिएन । भर्खर १० बजेकोले होला ।
कोठा नं. ३ मा गएर सोधेँ– ‘लाइसेन्स रिन्यू गर्नुपर्ने थियो ।’
कार्यालयका कर्मचारीले पहिले २ नम्बर कोठामा लाइसेन्स र नागरिकताको सक्कलसहित जानु भने । दुई जनापछि पालो आइहाल्यो । कर्मचारीले लाइसेन्स नम्बर कम्प्युटरमा इन्ट्री गर्दै एउटा प्रिन्ट निकालेर मलाई दिँदै फेरि ३ नम्बर कोठामा जानु भन्यो । पहिले नै ३ नम्बर कोठामा गएको फेरि गए । हाकिम साब हिटर ताप्दै बस्नु भएको रहेछ । मैले लाइसेन्स र प्रिन्ट गरेको पेपर दिँदै भने, ‘सर, २ नं. बाट पठाइदिनु भएको ।’
उहाँले लाइसेन्स हेरेर त्यसको नम्बर कम्प्युटरमा इन्ट्री गर्दै आठ नम्बर कोठामा जान भन्नु भो ।
८ नम्बर कोठा मेडिकल जाँच गर्ने ठाउँ रहेछ । ५० रूपैयाँको रसिद काटेर लाइन बसेँ । ४/५ जनापछि पालो आइहाल्यो । बाहिरबाटै एउटा आँखा छोपेर ७ देखि १० फिटको दूरीबाट अंग्रेजी सिम्बोलहरू हेर्न लगाइयो । सबै मिलाएँ । त्यसपछि कोठाभित्र गएर केही अंकहरू पढेँ । सबै मिलेपछि कम्प्युटरमा इन्ट्री गर्नुपर्दो रहेछ । तर, मेरो रेकर्ड त्यहाँको कम्प्युटरले देखाएर । ‘तपाईंको रेकर्ड देखाएन, ३ नम्बरमा जानुस्’ त्यहाँ कार्यरत पुरुष कर्मचारीले भने ।
‘सर, भर्खर त्यहीँबाट आएको’ मैले भनेँ ।
मेरो रेकर्ड नदेखिएकाले पुन: ३ नम्बरमा चेक गरेर इन्ट्री गराएर आउनु भन्नु भो ।
मनमा चिसो पस्यो मेरो, केही दिनअगाडि मात्रै यातायात व्यवस्था कार्यालयबाट मिलेमतोमा एक लाख नक्कली लाइसेन्स निकालिएको समाचार प्रकाशित भएको थियो । कतै मेरो लाइसेन्स पनि नक्कली भनेर छानविनमा त परेन ! तर, मैले त बक्काइदा लाइसेन्स परीक्षा पास गरेको थिएँ । त्यसको भिडिओ पनि हेर्न पाइन्छ भन्ने थियो । त्यसकारण मनको चिसो मेटाउँदै फेरि ३ नं. कोठाकै हाकिमकोमा गएँ ।
‘सर, ८ नम्बरबाट फेरि यहीँ पठाउनु भयो ।’ हाकिमका अगाडि पर्दै मैले भनेँ । उहाँले नागरिकता देखाउनुस् भन्नुभयो । तर, मैले नागरिकता बोकेको थिइनँ । ‘सर, अफिस हिँडेको नागरिकता बोकेकै छैन के गर्ने होला !’ मैले आफ्नो समस्या भनेँ ।
‘नागरिकता त चाहिन्छ ।’ उहाँले जोड दिएर भन्नुभयो ।
‘अरु कार्ड मतदाता परिचयपत्र, प्यान कार्ड छ ?’ हाकिमसावले भन्नुभयो ।
हतारहतार पर्स खोतल्दै मतदाता परिचयपत्र देखाएँ । उहाँले सायद, नागरिकता नम्बर होला इन्ट्री गर्नुभयो होला । ‘ल ८ नम्बरमै जानुस्’ साइन गर्दै भन्नुभयो ।
‘हस् धन्यवाद सर’ भन्दै हतारहतार ८ नं. कोठातिर कुदेँ ।
एक जना सेवाग्राहीको इन्ट्री हुँदै गर्दा मेरो पालो आइहाल्यो । तर, अकस्मात कार्यालय पोशाकमै बूढानीलकण्ठ नगरपालिकामा काम गर्ने दुई जना (महिला पुरुष) कर्मचारी आइपुगे । पुरुष कर्मचारीले मलाई ठेल्दै मेडिकलका कर्मचारीसँग कुरा गर्दै ‘म्याडमको भयो ल सर, यो गर्दिनुस् त’ भन्दै भने– ‘उहाँ पक्काको मान्छे हो, पछि बच्चाबच्चीलाई भ्याक्सिन लगाई माग्न सजिलो हुन्छ । मैले भनेको थिएन नि सर, उहाँको हुन्छ भनेर ।’ यस्तै कुरा गरे । ती कर्मचारीले मेरो काम गर्नुको सट्टा ती महिला कर्मचारीसँग मुस्काउँदै उनको काम अगाडि गरे ।
उसको पछि मेरै पालो आउने हो भन्दै खासै प्रतिवाद गरिनँ । तर, काम भइसकेपछि पनि गफमा अल्झिइरहेको देख्दाचाहिँ रिस उठेको थियो । ‘रिस खाइ आफू बुद्धि खाइ अरु’ भन्थे, मौन नै बसेँ । ४ मिनेट पछितिर मेरो कागजात समाएर इन्ट्री गरिदिँदै अब ७ कि ४ नम्बर भने अहिले बिर्सिएँ, त्यहाँ जानु भन्नुभयो ।
राजस्व तिर्ने ठाउँ रहेछ । एकजना महिला कर्मचारी रहिछिन्, झ्यालबाटै लाइसेन्स र कागज दिएँ ।
कम्प्युटरमा इन्ट्री गर्दै भनिन् ‘चार हजार’
‘हँ, चार हजार कसरी ?’ मैले सोधेँ ।
‘तपाईंको रिन्यू फेल छ, डबल जरिवाना पर्यो ।’ म लाचार भएँ ।
समस्या यहाँनिर आइपर्यो । मसँग करिब २ हजार ५०० रूपैयाँजति मात्रै क्यास थियो । ‘क्यास पुग्दैन, क्यूआर दिनुन’ मैले भनेँ । म प्राय: पैसाको कारोबार मोबाइल बैंकिङ, अनलाइन, एटीएम वा क्यूआरबाट गर्छु । क्यास कमै बोक्छु । जान्ने भएर होकी के यसले कहिलेकाँही यस्तै समस्यामा पर्छु ।
‘क्यूआरबाट लिन मिल्दैन । क्यासै चाहिन्छ । क्यास नबोकी किन आएको ?’ कर्मचारीले भनिन् । ‘ला.. मसँग क्यासै पुगेन यता एटीएम होला ?’ मैले सोधेँ ।
‘एटीएम छैन तपाई तल जानुस् त्यहाँ पसल (बिचौलिया) हरूमा ट्रान्सफर गरिदिनु उनीहरूले क्यास दिन्छन् ।’ उनले सुझाइन् ।
हतार–हतार यातायात कार्यालय भवनकै भित्रपट्टी लाइनै रहेका काउन्टर जस्ता (बिचौलियाका अखडा) कहाँ गए । ‘कति चाहिने ? एउटा काउन्टरमा पैसा ट्रान्सफर हुन्छ भनेर सोध्दै गर्दा युवतीबाट जवाफ पाँए– ‘दुई हजारको चार्ज २०० लाग्छ ।’
‘वाफ रे २ हजार ट्रान्सफर गर्दा २०० यो त अत्ति भएन ! ८ रूपैयाँको काम हो’ त्यो पनि मेरै एकाउन्टबाट काट्छ !’ आश्चर्य लाग्दै प्रश्न गरेँ ।
२०० रूपैयाँ दिएमात्र काम गरिदिने भन्दै ती युवतीले जवाफ फर्काइन् । नजिक एटीएम थिएन, मलाई हतार थियो । बाध्यतामा परेँ । आफ्नो एकाउन्टबाट उसको एकाउन्ट्समा २ हजार रूपैयाँ हालिदिएँ । २०० रूपैयाँ क्यास दिएँ । युवतीले दुई वटा हजारका नोट थमाइन् । पैसा लिँदै गर्दा ‘लुटतन्त्र नै रहेछ नि’ भन्न मन लाग्याथ्यो । तर, बोली फुस्किएन ।
दगुर्दै राजस्व तिर्ने झ्यालतिर गएँ । चार हजार रूपैयाँ दिएपछि पैसा बुझाएको रसिद पाइयो ।
तपाईँको काम सकियो, ‘अब कहाँ जाने ? भनेर प्रश्न गर्दा उत्तर पाएँ– ‘लाइसेन्स लिन कहिले आउनु ?’ सोधेँ ।
‘एक वर्षपछि’ मतिर नहेरी जवाफ दिइन् । सोधिहालेँ, ‘त्यतिञ्जेल के गर्ने ?’
पुरानो लाइसेन्स बोक्ने, ट्राफिकले माग्दा पुरानो लाइसेन्स र यो रसिद देखाउने ।’ उनको रेडिमेड जवाफ आयो । लाइसेन्स रिन्यू गर्न आउने हरेकलाई उनले दिने जवाफ त्यही रहेछ ।
सेटिङमा लाइसेन्स बाँडेको समाचारको एक–दुई दिनमा यातायात व्यवस्था कार्यालयमा लाखौं लाइसेन्स आएको समाचार पनि पढेको थिएँ । मैले आज मात्रै रिन्यू गरेकाले त्यसभित्र मेरो लाइसेन्स पर्ने कुरा त भएन ।
यातायात व्यवस्था कार्यालयको गेटबाट बाहिरिँदै गर्दा एउटाले भन्यो– ‘दाई लाइसेन्स अर्जेन्ट चाहिने हो भने काम गरिदिन्छु !’ मैले भनेँ, ‘भो भाइ पर्दैन, म कुरेरै लिउँला ।’
मेरो गल्ती या अपराध !
समयमै लाइसेन्स रिन्यू गर्नुपर्छ भन्ने चेत हुँदाहुँदै लाइसेन्स रिन्यू नगर्दा डबल फाइनमा पर्नु, केही सरकारी तथा अधिकांश निजी कार्यालय र व्यवसायमा क्यासलेस (कार्ड, अनलाइन) बाट कारोबार हुन्छ यातायातमा पनि होला भन्ठानेर क्यास पैसा नलिइकन जानु, यातायात व्यवस्था कार्यालयको गल्ती या कमजोरी क्यासलेस (क्यूआर, एटीएम, अनलाइन) सेवा सञ्चालन नगर्नु । कार्यालय परिसरमै बिचौलियालाई ठाउँ दिनु मेरो गल्ती हो र ?
सरकारले जनतालाई सर्वसुलभ सेवा प्रदान गर्ने हो भने, प्रविधिमैत्री हुनुपर्ने हो । तर, नेपालका अधिकांश सरकारी निकाय जानीजानी सेवाग्राही नबनाइएको हो । हरेक सरकारी निकायले लिने राजस्व अनलाइन बैंकिङ प्रणालीबाट डाइरेक्ट सरकारी खातामै जम्मा गर्ने व्यवस्था गर्न कुनै ठूलो कार्य होइन । तर, यसो गर्दा त्यहाँका हाकिम र कर्मचारीहरूले बिचौलियाबाट दैनिक पाउने खान्की गुम्दोचाहिँ रहेछ । नत्र, हरेक निजी कार्यालयहरू अनलाइन सिस्टममा गइसक्दा यातायात व्यवस्था कार्यालयलाई चाहिँ केले रोकिरहेको हो ?
पछिल्लो समय क्यासलेस सिस्टम हरेक क्षेत्रमा पुगिसक्यो । निजी कार्यालयहरूदेखि ठूल्ठूला सपिङ मलसम्म क्यासलेस छ । तरकारी किन्न जाँदा होस् वा लुगाकपडा किन्न जाँदा मोबाइल, एटीएमबाटै भुक्तानी गर्न सकिन्छ । यहाँसम्म कि सैलुनमा, सार्वजनिक शौचालयमा समेत क्यूआरबाट पैसा तिर्न सकिन्छ ।
क्यासलेसको अर्काे फाइदा तपाईँले कुनै पनि सेवा र वस्तुको जति मूल्य हुन्छ त्यत्ति नै दिन सक्नुहुन्छ । उदाहरणका लागि १२०.५० पैसाको सामान किन्नु भयो भने तपाईले मोवाइल बैकिङ वा कार्ड स्वाइपबाट त्यत्ति नै पैसा तिर्न सक्नुहुन्छ ।
तर, नगद कारोबार गर्दा १२०.५० पैसा दिन सकिन्न । आजभोलि ५० पैसा होइन ५ रूपैयाँ भन्दा तलको नोट नै पाइन्न । यस्तोमा तपाईँले कि १२० मा सामान वा सेवा पाउनुपर्यो या तपाईँले पाँच रूपैयाँ बढी तिर्नुपर्यो । अँ, किराना पसलमा चकलेट छ भने २/४ वटा पाउनुहुन्छ १२५ रूपैयाँ तिरेपछि । भन्नेले जाबो ५/१० रूपैयाँको कुरा भन्लान् तर, हरेक सेवाग्राहीबाट ५/१० रूपैयाँ बढी लिएकाहरूलाई भ्रष्टाचार गर्न हामीले नै पो प्रोत्साहन गरिरहेका छौँ कि !
जनतालाई सहज रूपमा डेलिभरी दिने क्षेत्रलाई प्रविधिमैत्री बनाउँदा सुशासन कायम हुन्छ । बिचौलिया हट्छन् । राज्यप्रति, सरकारप्रति नागरिकको विश्वास बढ्छ । यति कुरा पनि राज्य चलाउनेहरूका मस्तिष्कमा किन नघुसेको होला ! यो चेत यातायात व्यवस्था कार्यालयमा मात्र होइन राज्यका हरेक निकायमा कहिले पुग्ला !
FACEBOOK COMMENTS