काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज काठमाडौँ जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाहको निरीक्षण गरेकीछन् ।
बबरमहलस्थित कार्यालय पुगेर उनले सेवामा प्रयोग भइरहेको सार्वजनिक सम्बोधन प्रणाली (पब्लिक अनाउन्समेन्ट सिस्टम) को जानकारी लिएको र सेवाग्राहीसँग प्रत्यक्ष अन्तक्र्रिया गरेकी थिईन ।
सो अवसरमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले कार्यालयमा सूचना प्रविधिमा आधारित प्रणाली लागू गरी सेवा छिटो र झन्झटरहित रुपमा प्रदान भइरहेको जानकारी दिए । उनका अनुसार, सेवाग्राहीले टोकन लिएर निश्चित समयमा सेवा लिन सक्ने हुँदा गुनासा शून्य भएको र बिचौलियाको भूमिका समाप्त भएको छ ।
दैनिक करिब एक हजार सेवाग्राही आउने यस कार्यालयमा प्रत्येक काउन्टर र शाखाको सीसीटीभीबाट अनुगमन गर्न सकिन्छ। साथै, सेवाग्राहीका लागि वाईफाई, तातो पानी र चिसो पानीको सुविधा उपलब्ध गराइएको छ ।
प्रजिअ पौडेलले जेनजी आन्दोलनका क्रममा युवाले उठाएको सुशासनको आवाजलाई सम्बोधन गर्दै यो प्रणाली लागू गरिएको र यसलाई जेनजी योद्धाहरुमै समर्पित गरिएको जानकारी दिए । उनले स्थानीय तहहरुसँग समन्वय गरी यस प्रणाली कार्यान्वयन गरिएको पनि उल्लेख गरे ।

प्रधानमन्त्री कार्कीले जनतालाई सहज र छिटो सेवा प्रवाह गर्न यो प्रणाली महत्वपूर्ण रहेको र देशभरका उच्च चाप भएका कार्यालयमा लागू गर्न आवश्यक रहेको बताइन् । उनले भनिन्– ’जेनजी युवाले सडकमा उठाएको सुशासनको आवाज सम्बोधन गर्न काठमाडौँ प्रशासनले सुरु गरेको यो नमुना कार्य प्रशंसनीय छ । अब यसलाई देशभर विस्तार गर्नुपर्छ ।’

पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री कार्कीले न्यायालयमा पनि यस्तै प्रणाली लागू गर्ने योजना भएको स्मरण गर्दै प्रशासन कार्यालयमा देखेको कार्यलाई उदाहरणीय भनेकी थिइन् । अनुगमनमा गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी थिए ।



FACEBOOK COMMENTS